तेश्रो अल्फा तेक्वान्दो प्रतियोगिताको च्याम्पियन ‘अल्फा डोजाङ’

घोराही, ८ फागुन । दाङको घोराहीमा भएको तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८० मा अल्फा तेक्वान्दो डोजाङ घोराही विजेता भएको छ ।
अल्फा तेक्वान्दो डोजाङको आयोजनामा दुई दिनसम्म घोराहीमा भएको जिल्ला स्तरीय खुल्ला तेक्वान्दोमा १२ डोजाङलाई पछि पार्दै आयोजक अल्फा डोजाङ प्रतियोगितामा ह्याट्रिक च्याम्पियन बनेको हो । यसअघि भएका दुई वटै प्रतियोगितामा पनि अल्फा विजेता बनेको थियो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित कवर्ड हलमा भएको प्रतियोगितामा अल्फाले ९ स्वर्ण, १० कास्य र ६ रजत पदकसहित २५ पदकका साथ प्रतियोगितामा प्रथम हुँदै नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । यसैगरी, मावि सेन्टर तुलसीपुरले ४ स्वर्ण, ४ रजत तथा १४ कास्य पदकसहित २२ पदकसहित दोश्रो भएको हुँदै नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा ३ स्वर्ण, २ रजत तथा ४ कास्य पदकसहित ९ पदकका साथ तेश्रो भएको नारायणपुर डोजाङले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा अनुशासित टीम डिफेन्स डोजाङ घोराही भएको छ । अनुशासित टीमले पनि नगद ५ हजारसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
यसैगरी, प्रतियोगितामा महिला खेलाडी तर्फ उत्कृष्ट खेलाडीका रुपमा नारायणपुर डोजाङकी अस्मिता केसी घोषित हुनुभयो । पुरुष खेलाडी तर्फ शान्तिसुधा डोजाङका महेश वली उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
दुवै जनालाई समान दुई हजार पाँच सय, शिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो । १८ फाईट र २ पुम्सेमा भएको प्रतिष्पर्धामा महिला र पुरुष खेलाडीहरुले २२ देखि ५८ केजीसम्म तौल समूहअन्तर्गत २२–२६ केजी, २६–३० केजी, ३०–३४ केजी, ३४–३८ केजी, ३८–४२ केजी, ४२–४६ केजी, ४६–५० केजी, ५०–५४ केजी र ५४–५८ केजी तौल समूहमा प्रतिष्पर्धा गरेका अल्फा तेक्वान्दो डोजाङ प्रमुख सुनिता विष्टले जानकारी दिनुभयो । पुम्से पुरुष र महिलातर्फ एकल १७ बर्ष मुनि खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए । १३ वटा डोजाङबाट ३ सय खेलाडीले प्रतियोगितामा भाग लिएका थिए ।
अल्फा तेक्वान्दो डोजाङका अध्यक्ष पदम केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भानसिंह बुढाको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता समापन समारोहमा वक्ताहरुले खेल स्वास्थ्यका लागि मात्रै नभई अनुशासन सिकाउने महत्वपूर्ण माध्यम पनि भएको बताउनुभयो । कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुन, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमकाे सहजीकरण तेक्वान्दाे प्रशिक्षक राकेश परियारले गर्नुभएकाे थियाे ।