Ad Area

दाङमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सुरु


घोराही, १३ फागुन । दाङमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान–२०८०÷०८१ सुरु भएको छ । जिल्ला खोप समन्वय समिति दाङले घोराही उपमहानगरपालिका–१४ बालमन्दिर आधारभूत विद्यालयमा कार्यक्रमको आयोजना गरेर बालबालिकालाई खोप लगाउन सुरु गरेको हो ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वयन समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्ष तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्यमन्त्री खनालले खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई खोप सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

खोप सामाग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि मन्त्री खनालले दादुरा–रुवेला रोग संक्रमणका दृष्टिले दाङसहित लुम्बिनी प्रदेशका तराईका जिल्लाहरु जोखिममा रहेकाले सवै बालबालिकालाई समेट्ने गरी अभियानलाई प्रभाकारी बनाउनुपर्ने बताउनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री खनालले भन्नुभयो,‘पटक–पटक अभियान सञ्चालन भएपनि दाङ, बाँके, बर्दियालगायतका जिल्लाहरुमा जोखिम कायमै रहेको छ । जोखिमलाई हटाउनका लागि खोप अभियानलाई प्रभावकारी बनाउनुपर्छ ।’

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले दादुरा–रुवेलाको जोखिमबाट आफ्ना बालबालिकालाई बचाउनका लागि अभिभावकहरु सचेत बनेर खोप लगाउन लाग्नुपर्ने बताउनुभयो । सानो लापरवाहीले पछि ठुलो क्षति समेत हुने जोखिम भएकाले त्यसतर्फ समयमै सोच्नुपर्ने बताउनुभएको थियो ।

जिल्लामा दादुरा–रुवेला रोग विरुद्धको खोप अभियानका क्रममा ९ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ७१ हजार ६ सय ३४ बालबालिकालाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन किशोर आचार्यले जानकारी दिनुभएको छ । खोप फोकल पर्सन आचार्यका अनुसार जसमा ९ महिनादेखि पाँच बर्षमुनिका ४९ हजार तीन सय ८ जना र पाँच बर्षदेखि १५ बर्ष उमेर समूहका १ लाख २२ हजार तीन सय ३६ जना रहेका छन् ।

बालबालिकालाई खोप लगाउनका लागि जिल्लामा ७ सय ५ वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप केन्द्रमा एक हजार चार सय १० जना स्वास्थ्यकर्मी र दुई हजार एक सय १५ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु परिचालन गरिएको छ । खोप फोकल पर्सन आचार्यका अनुसार पहिलो चरणमा फागुनको १३ गतेदेखि २१ गतेसम्म जिल्लाका घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बंगलाचुली गाउँपालिका राजपुर गाउँपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा खोप लगाउन सुरु गरिएको छ ।

Blog Post Ad

दोश्रो चरणमा फागुनको २३ गतेदेखि चैतको ३ गतेसम्म तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण गाउँपालिकामा दादुरा–रुबेला विरुद्ध रोग विरुद्धको खोप अभियान सञ्चालन हुनेछ । खोपको प्रभावकारिताका लागि ९५ प्रतिशत बालबालिकाले लगाउनुपर्ने भएकाले जिल्लामा दादुरा–रुवेला रोगको संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै दुई चरणमा खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभएको छ । कार्यालय प्रमुख शाहीका अनुसार २०७९ मंसिर ३ गतेदेखि २०८० पुस महिनासम्म जिल्लाका विभिन्न स्थानमा ३९ जनामा दादुराको संक्रमण देखिएकाले खोप अभियान सवै बालबालिकाहरुसम्म पुग्नेगरी सञ्चालन गरिएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad