Ad Area

दाङ क्रिकेट लिग–२ को ट्रफी सार्वजनिक, सबै तयारी पूरा


घाेराही, १३ फागुन । नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को ट्रफी सार्वजनिक भएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा भोलि सोमबारबाट घोराही १७ गुलरियास्थित क्रिकेट रंगशालामा हुन लागेको डिसिएल २ को ट्रफी सार्वजनिक गरिएको हो ।

आयोजकले प्रतियोगिताको पूर्व सन्ध्यामा आईतबार रंगशालामा पत्रकार सम्मेलन गरी लिग खेल्ने पाँच वटै टीमका कप्तानहरुको साथमा डिसिएल–२ को ट्रफी सार्वजनिक गरेको हो ।

प्रतियोगिता खेल्ने पाँच वटा फ्रेन्चाईज टोलीका कप्तानहरु घोराही टाईगर्सका सुशान्तसिंह थापा, देउखुरी वारियर्सका विशाल विक्रम केसी, पुरन्धारा च्यालेन्जर्सका मोहन खत्री, तुलसीपुर रोयल्सका दिवान पुन र दंगाली लायन्सका विपिन खत्री तथा आयोजकको उपस्थितीमा ट्रफी सार्वजनिक भएको हो ।

यसैबीच, दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले प्रदेशकै ठूलो लिगको रुपमा लिईएको प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिनुभएको छ । क्रिकेट मैदानको आवश्यक व्यवस्थापनसँगै खेलाडी बक्स, अफिसियल बक्स, मिडिया बक्स, मेडिकल बक्सलगायत सबै प्रकारको तयारी पूरा भएको अध्यक्ष मजगैयाले बताउनुभयो ।

खेलका लागि अक्सनमार्फत छनोटमा परेका खेलाडी दाङ आईपुगेको जानकारी गराउँदै उहाँले प्रतियोगिता उदघाटनको व्यवस्थापकीय काम पनि पूरा भएको जानकारी दिनुभयो । प्रतियोगिताको उदघाटन लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले संयुक्त रुपमा गर्ने तयारी भएको संघका अध्यक्ष मजगैयाले बताउनुभयो ।

प्रतियोगिताको हरेक अपडेट डिजिटल माध्यमबाट हुनुका साथै प्रत्यक्ष प्रशारणसमेत हुने भएकाले डिसिएल–२ लाई दर्शकले घरमै बसेर पनि हेर्न सक्ने भएका छन् । पहिलो संस्करणको लिगको उपाधि घोराही टाईगर्सले जितेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad