Ad Area

दाङ क्रिकेट लिगमा दंगाली लायन्स र पुरन्धारा च्यालेन्जर्सकाे विजयी शुरुवात


घोराही, १४ फागुन । नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को पहिलो दिन सोमबारको खेलमा दंगाली लायन्स र पुरन्धारा च्यालेन्जर्सले विजयी शुरुवात गरेका छन् ।

दाङ क्रिकेट संघको आयोजनामा सोमबारबाट घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा शुरुभएको प्रदेशकै ठूलो प्रतियोगिताको उदघाटन खेलमा डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई दंगाली लायन्सले ९ विकेट र दोश्रो खेलमा पुरन्धारा च्यालेन्जर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्दै समान २–२ अंक जोडेका छन् ।

टी–२० फरम्याटमा आयोजित खेलमा टस जितेर पहिले ब्याटिङ गर्न मैदानमा उत्रिएको साविक विजेता घोराहीको शुरुवात राम्रो हुन सकेन । घोराही टाइगर्सले पहिलो पावर प्लेलाई सही सदुपयोग गर्न नसक्दा अपेक्षित रन जोडन् सकेन ।

पहिलो ओभरको अन्तिम बलमा बोल्ड हुँदै व्यक्तिगत दुई रन बनाएर घोराहीमा कप्तान सुशान्तसिंह थापा पेभेलियन फकिँदा लगत्तै दोश्रो ओभरको पहिलो बलमा वृषभ सेन्चुरी गोल्डेन डकआउट भएपछि टीम दबावमा परेको थियो । अर्का ओपनर दीलिप नाथ र अर्जुन घर्तीले केही बेर साझेदारी गर्दै रन बनाए पनि सातौँ ओभरको अन्तिम बलमा १३ रनको व्यत्तिलगत स्कोरमा दीलिप नाथ क्रिकमा रहेका बेला शंकर रानाको बलमा विकेट किपर सन्तोष कार्कीले स्टम्पिङ आउट गराउनुभयो ।

घोराहीका लागि अर्जुन घर्तीले सर्वाधिक ३२ रनको योगदान दिनुभयो । रबिन थापा अविजित १४ रन बनाए पनि बाहेक अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर दिलसान अली २ रनमा बोल्ड आउट हुँदा दिपेश कँडेल ५ रन, मनोज पुन ६ रन, युनिश विक्रम शाही ५ रन बनाउनुभयो । १८ दशमलब २ ओभरमा दंगालीका कप्तान विपिन खत्रीको बलमा मिलन बुढाथोकी बोल्ड भएसँगै घोराहीको टीम अलआउट हुँदै १ सय ११ रनमा समेटियो ।

Blog Post Ad

दंगाली लायन्सका लागि शंकर रानाले ४ ओभरमा २१ रन खर्चिएर सर्वाधिक ३ विकेट लिनुभयो । वीर बहादुर घर्ती मगर र प्रकाश जैशीले समान २–२ तथा कप्तान बिपिन खत्रीले १ विकेट लिनुभयो ।

एक सय १२ रनको लक्ष्य पछ्याएको दंगाली लायन्सले १६ दशमलव १ ओभरमा १ विकेट गुमाउँदै सहज जीत निकाल्यो । दंगाली लायन्सका ओपनरद्वय सन्तोष कार्की र अंकित बुढा मगरले पहिलो विकेटका लागि ३३ रनको बलियो साझेदारी गर्नुभयो । व्यक्तिगत ११ रनका साथ क्रिजमा खेली रहेका बेला ५ दशमलव १ ओभरमा अर्जुन घर्तीे बलमा अंकित बुढा मगर एलबीडब्ल्युको सिकार हुनुभयो । त्यसपछि आउनुभएका अलराउण्डर बसिर अहमद र सन्तोष कार्कीको जोडीले टीमलाई १६ दशमलव १ ओभरमा ९ विकेटको सहज जीत दिलाउनुभयो । बसिरले ३९ बलको सामना गर्दै ३ छक्काको मद्दतमा ४५ रन र सन्तोष कार्की ४६ बल खेल्दै ३ चौकाको मद्दतमा ४५ रनमा अविजित रहनुभयो । बसिर खेलको प्लेयर अफ द म्याच घोषित हुनुभयो । घोराहीले ८ जना बलर प्रयोग गरेपनि सफल हुन सकेन । योसँगै दंगाली लायन्सले पहिलो खेलबाट २ अंक जोडेको छ ।

प्रतियोगिता अन्तरगत सोमबार नै भएको दोश्रो खेलमा पुरन्धारा च्यालेन्जर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गर्न मैदानमा आएको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा जम्मा ९४ रन बनायो । कृष्ण कार्कीको पहिलो बलमै दीपक बोहरा गोल्डने डकआउट भएपछि दबावमा परेको देउखुरीका अर्का खेलाडी दोश्रो ओभरको पाँचौँ बलमा प्रज्वल बहादुर थापा कप्तान मोहन खत्रीको बलमा दीपेन्द्र रावतको हातबाट १ रन बनाउँदै आउट हुनुभयो । त्यसपछि आउनुभएका देउखुरीका कप्तान विशाल विक्रम केसी र आशिष वलीले साझेदारी गर्दै रन जोड्ने कोशिस गर्नुभयो ।

१३ बल खेल्नुभएका कप्तान केसीले १ छक्का र १ चौकाको मद्दतमा १६ रन बनाउँदै दीपेन्द्रको बलमा राजबीर सिंहको हातबाट क्याच आउट भएपछि पहिलो पावर प्लेमा देउखुरीको स्कारेर ३ विकेटको क्षतिमा २४ रन मात्रै थियो । देउखुरीको लागि आशिष वलीले सर्वाधिक ३३ रन, नारायण जोशीले २३ रन, केशव शर्मा ६ रन, आवाज गौतम ५ रन, आयुष वली २ तथा सुभम खनाल १ रनमा आउट हुँदा अरु खेलाडीले रन नै बनाउन सकेनन् ।

पुरन्धारा च्यालेन्जर्सका स्पिनर दिपेन्द्र रावतले ४ ओभर कसिलो बलिङ गर्दै ७ रन दिएर महत्वपूर्ण ४ विकेट लिएसँगै देउखुरीको टीम कम रनमा समेटियो । यसैगरी, कृष्ण कार्की, मोहन खत्री र राजवीर सिंहले समान १–१ विकेट लिनुभयो ।

जम्मा ९५ रनको विजयी लक्ष्य पछ्याएको पुरन्धाराका लागि ओपनर रीत गौतमले पहिलो ओभरमा ३ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाएर गतिलो शुरुवात दिलाउनुभएको थियो । दोश्रो ओभरको पहिलो बलमा टीमको ३० रन बनेको बेला दीपक बोहराले रीत गौतमलाई बोल्ड आउट गराउनुभयो ।

पुरन्धाराका लागि प्रनित थापाले सर्वाधिक २६, राजु रिजालले २०, कृष्ण कार्कीले अविजित ११ रनको योगदान दिनुभयो । यसैगरी, राजबीर सिंहले ७ रन, दीपेन्द्र रावतले ७ रन बनाउनुभयो । देउखुरीका लागि कप्तान विशाल विक्रम केसीले ३ विकेट तथा शुभम खनाल र दीपक बोहराले समान १–१ विकेट लिनुभयो । प्रतियोगिताको प्लेयर अफ द म्याच दीपेन्द्र रावत हुनुभयो ।

प्रतियोगिता अन्तर्गत अब दोश्रो दिन मंगलबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान दंगाली लायन्स र तुलसीपुर रोयल्स तथा दोश्रो खेलमा दिउँसो पुरन्धारा च्यालेन्जर्स र घोराही टाइगर्स बीच हुने प्रतियोगिता व्यवस्थापक सन्जु केसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् । जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् । प्रतियोगिता फागुन १९ गते सम्म संचालन हुनेछ ।

मुख्य प्रायोजकमा नेपाल टेलिकम, गोल्ड प्रायोजकमा गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, क्रिजल आयल सप्लायर्स, इन्स्योरेन्स पार्टनरमा शिखर इन्स्योरेन्स कम्पनी, प्लेयर अफ द म्याच प्रायोजकमा किसान ट्रेडिङ कन्सर्न सोनालिका, स्कुल पार्टनरमा गुरुकुल एकेडेमी घोराहीले सम्झौता गरेका छन् । यसैगरी, प्रतियोगिताका लागि हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हिस्पटल, घोराही र लाईफ फुड एण्ड बेभरेज प्रालि अन्तर्गतको किबु इनर्जी ड्रिंक पार्टनरको रुपमा रहेका छन् ।

पाँच वटै फ्रेन्चाईज क्लबले प्रत्येक टीममा १४ जना खेलाडी खरीद गरिसकेका छन् । प्रत्येक टीम मालिकले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाएका छन् ।

प्रतियोगिता सफलताका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायले सहयोग गर्नुभएको छ । जसअनुसार, क्रिकेट संघ नेपालका केन्द्रीय सदस्य तथा धनगढीमा रहेको माया मेट्रो अस्पतालका संचालक धीरेन्द्र सावद, नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव, रुपन्देही जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्त मल्ल, नवलपरासी जिल्ला क्रिकेट संघमा लामो समयदेखि नेतृत्व गर्दै क्रिकेटको गतिविधि सक्रिय बनाउँदै आउनुभएका अग्रज कृष्ण श्रेष्ठ, रोल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष ओम केसी, नेपाली सेनाको सहसेनानी पदमा कार्यरत शरद मरासिनीले प्रतियोगिता सफलताको कामनासहित नगद सहयोग गर्नुभएको छ ।

लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार प्रदान गरिनेछ भने हरेक दिन प्लेयर अफ द म्याचलाई पाँच हजार प्रदान हुँदै आएको छ ।

Blog Post Ad Blog Post Ad