Ad Area

दाङ क्रिकेट लिगमा तुलसीपुर रोयल्स र घोराही टाईगर्स विजयी, लिग रोमान्चक बन्दै


घोराही, १५ फागुन । घोराहीमा जारी दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगमा मंगलबार भएको खेलमा तुलसीपुर रोयल्स र घोराही टाईगर्स विजयी भएका छन् ।

दाङ क्रिकेट संघको आयोजनामा सोमबारबाट घोराही १७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भईरहेको खेल अन्तरगत बिहान भएको खेलमा तुलसीपुर रोयल्सले दंगाली लायन्सलाई २७ रन तथा दिउँसो भएको खेलमा घोराही टाईगर्सले पुरन्धारा च्यालेन्जर्सलाई २ विकेटले पराजित गरेको छ । पाँच फ्रेन्चाईज टोली रहेको खेलमा तुलसीपुर रोयल्सको विजयी शुरुवात हो भने घोराहीले पहिलो खेलमा हार व्यहोर्दा दोश्रो खेलमा जीत दर्ता गरेको छ ।

जारी लिगमा दोश्रो दिनको पहिलो खेलमा विराटसिंह भण्डारी र विपिन रावलले कीर्तिमानी ९५ रनको ओपनिङ साझेदारी गर्दै टीमका लागि राम्रो स्कोर गरेपछि तुलसीपुर रोयल्सले विजयी शुरुवात गरेको हो । प्रतियोगिताको सबै ठूलो साझेदारी गर्दै १६ दशमलव २ ओभरमा ३ चौका र १ छक्कासहित ४२ रन बनाएर खेली रहेका कप्तान विपिन रावल बसिर अहमदको बललाई हिट गर्ने क्रममा विकेट किपर अंकित बुढा मगरले स्टम्पिङ आउट हुनुभयो । तुलसीपुरका लागि विपिनले बनाएको ४२ रन सर्वाधिक रह्यो ।

यसैगरी विराटसिंह भण्डारी १ चौका र १ छक्कासहित ३८ रन बनाउँदै प्रकाश जैशीको बलमा एलबीडब्लू आउट हुनुभयो । रुपेश सिंह १ चौकासहित ८ रन बनाएर विपिन खत्रीको बलमा एलबीडब्लूको सिकार हुनुभयो । अर्का मार्की खेलाडी अमरसिंह रौटेला २ चौकासहित १० रन बनाउँदै रनआउट हुनुभयो । भुवन कार्कीले अविजित ७ रन बनाउनुभयो ।

दंगाली लायन्सका लागि विपिन खत्री, बसिर अहमद र प्रकाश जैसीले समान १–१ विकेट लिनुभयो । १ सय २६ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको दंगाली लायन्सका खेलाडीले ओभरमा १० विकेट गुमाउँदै ९८ रन मात्रै बनाउन सके । दंगाली लायन्सका लागि ओपनरद्वय सन्तोष कार्की र अंकित बुढा मगरले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरे पनि त्यसपछिका ब्याटरहरु क्रिजमा टिक्न सकेनन् ।

व्यक्तिगत १६ रन बनाएर क्रिजमा खेली रहेका अंकित बुढा मगर तुलसीपुरका कप्तान दिवान पुनको बलमा बोल्ड आउट भएपछि दंगाली लायन्सको विकेट पतनको सिलसिला शुरु भएको थियो । सन्तोष कार्कीले टीमलाई जीत तर्फ लैजाने प्रयास गरेपनि सफल हुन सक्नु भएन । उहाँले सर्वाधिक ३१ रनको योगदान दिनुभयो ।

Blog Post Ad

त्यसअघि अमरसिंह रौटेलाको बलमा दंगाली लायन्सका महत्वपूर्ण खेलाडी बसिर अहमद फाईन लेगमा सट हान्ने क्रममा बल ग्लोबमा लागेर विकेट किपरबाट क्याच हूँदै आउट भएपछि खेल थप धर्मराएको थियो ।

बसिरले १ छक्काको मद्दतमा ८ रन बनाउनुभयो । त्यसलगत्तै क्रिजमा आउनुभएका शंकर रानालाई रौटेलाले बोल्ड गर्नुभयो । यसैगरी, बिपिन खत्री पनि रौटेलाको बलमा १२ रन बनाउँदै आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

शिशिर डाँगी २ रन, प्रकाश जैसी ३ रन, सनम श्रेष्ठ ७ रन, वीरबहादुर घर्ती ५ रन, किशन भारती ७ रन तथा हेमराज रानाले ३ रन बनाउँदै ९ड रनमा सिमित भएपछि खेल तुलसीपुरले जितेको हो ।

तुलसीपुर रोयल्सका लागि प्लेयर अफ द म्याच घोषित हुनुभएका अमर सिंह रौटेलाले ४ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिनुभयो । स्माईल अन्सारीले ३ विकेट लिँदा दिवान पुनले २ तथा रुपेश सिंहले १ विकेट लिनुभयो ।

यस्तै, मंगलबार भएको खेलमा घोराहीले २ विकेटको पहिलो जित दर्ता गरेको छ । टस हारेर व्याटिङको निम्तो पाएको पुरन्धाराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ बनाएको थियो । पुरन्धाराका लागि राजु रिजालले अर्धशतकीय योगदान रहेपनि जित भने हुन सकेन । जारी प्रतियोगितामा यो पहिलो अर्धशतक पनि हो ।

रिजालले ४४ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाउँदै दिपेश कँडेलको बलमा वृषभ सेन्चुरीको हातबाट क्याच हुँदै पेभेलियन फर्किनुभयो । टीमका लागि ओपनर रित गौतमले १६, दिपेन्द्र रावतले १५ रन, कप्तान मोहन खत्रीले ११ रन, प्रनित थापाले १० रन बनाउँदा राजवीर सिंहले ३ रन बनाउनुभयो ।

प्लेयर अफ द म्याच हुनुभएका दिपेश कँडेलले घोराही टाइगर्सका लागि कसिलो बलिङ गर्दै ४ ओभरमा जम्मा १२ रन खर्चेर सर्वाधिक ३ विकेट लिनुभयो । मिलन बुढाथोकीले २ तथा युनिश विक्रम सिंह र अर्जुन घर्तीले समान १–१ विकेट लिनुभयो ।

१ सय १८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको घोराहीको शुरुवात राम्रो नभएपनि मध्यक्रमका ब्याटरले बलियो साझेदारी गरेपछि जित निकालेको हो । घोराहीले १९ दशमलव ४ ओभरमा ८ विकेट गुमाउँदै जित निकाल्ने क्रममा अर्जुन घर्तीले सर्वाधिक ४१ रनको योगदान दिनुभयो । ३ चौका र २ छक्काको मद्दतमा अर्जुनले उक्त रन बनाउनुभयो ।

उहाँलाई दिपेश कँडेलले साथ दिनुभएको थियो । टीमले दशौँ ओभरमा ५२ रन बनाउँदै ४ विकेट गुमाईसकेको अवस्थामा दिपेश कँडेल र अर्जुन घर्तीले ४२ रनको महत्वपूर्ण साझेदारी गरेपछि खेल घोराहीको पक्षमा आएको हो । दिपेशले २ चौकाको मद्दतमा १९ बनाउँदै कृष्ण कार्कीको बलमा बोल्ड आउट हुँदा दिल्साद अलीले १५ रन, दिलिप नाथले १० रन, युनिश विक्रम सिंहले ९ रन, वृषभ सेन्चुरीले ७ रन, अनुप न्यौपानेले २ रन तथा रविन थापाले १ रनको योगदान दिनुभयो ।

पुरन्धाराका लागि कृष्ण कार्की, दिपेन्द्र रावत र सुजल वलीले समान २–२ विकेट लिनुभयो । यसैगरी रीत गौतम र राजबीर सिंहले समान १–१ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन । योसँगै पाँच वटै टीमको समान २–२ अंक भएको छ । मंगलबारसम्मको अंक तालिका अनुसार शीर्ष स्थानमा तुलसीपुर रोयल्स रहेको छ । यसैगरी, क्रमशः पुरन्धारा च्यालेन्जर्स, दंगाली लायन्स, घोराही टाईगर्स र देउखुरी वारियर्स रहेका छन् ।

प्रतियोगिता राउण्ड रोबिन फर्म्याटमा भइरहेको छ । हरेक क्लबले ४–४ खेल खेल्नेछन् । उत्कृष्ट दुई टिमले फाईनल खेल्नेछ । प्रतियोगिताको फाईनल फागुन १९ गते हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल टेलिकम, गोल्ड प्रायोजकमा गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, क्रिजल आयल सप्लायर्स, सगरमाथा सिमेन्ट, इन्स्योरेन्स पार्टनरमा शिखर इन्स्योरेन्स कम्पनी, प्लेयर अफ द म्याच प्रायोजकमा किसान ट्रेडिङ कन्सर्न सोनालिका, स्कुल पार्टनरमा गुरुकुल एकेडेमी घोराहीले सम्झौता गरेका छन् । यसैगरी, प्रतियोगिताका लागि हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हस्पिटल, घोराही र लाईफ फुड एण्ड बेभरेज प्रालि अन्तर्गतको किबु इनर्जी ड्रिंक पार्टनरको रुपमा रहेका छन् ।

प्रतियोगिता सफलताका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायले पनि सहयोग गर्नुभएको छ । लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार प्रदान गरिनेछ भने हरेक दिन प्लेयर अफ द म्याचलाई पाँच हजार प्रदान हुँदै आएको छ ।

प्रतियोगिता अन्तर्गत अब तेश्रो दिन बुधबार पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान तुलसीपुर रोयल्स र पुरन्धारा च्यालेन्जर्सको तथा दोश्रो खेल दिउँसो घोराही टाइगर्स र देउखुरी वारियर्सबीच हुने संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad