Ad Area

दाङ क्रिकेट लिग–२ को शीर्ष स्थानमा तुलसीपुर राेयल्स रहँदा घोराही टाइगर्सको पुनरागमन


घोराही, १६ फागुन । दाङको घोराहीमा जारी दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिग अन्तर्गत बुधबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् ।

दाङ क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा भएका खेलहरुमा तुलसीपुरले पुरन्धारा च्यालेन्जर्सलाई ३२ रनले तथा घोराही टाइगर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गरेको हो ।

साविक विजेता घोराही टाईगर्सले खेलमा पुनरागमन गर्दै लगातार दुई खेलमा जीत हासिल गरेसँगै दाङको घोराहीमा जारी दाङ क्रिकेट लिग २ को लिग समीकरण रोचक बन्दै गएको छ ।

उदघाटन खेलमा दंगाली लायन्ससँगको ९ विकेटको बिर्सनलायक हार व्यहोरेको घोराहीले त्यसपछिको खेलमा व्यापक सुधार गर्दै आफु डिफेन्डिङ च्याम्पियन रहेको प्रमाण देखाएको छ ।

मंगलबार पुरन्धारा च्यालेन्जर्सलाई २ विकेटले हराएको घोराहीले बुधबार देउखुरी वारियर्सलाई पाँच विकेटले पराजित गरेको छ । यी दुवै खेलको जीतको नायक हालसालै १९ वर्ष मुनिको विश्वकप क्रिकेट खेल्नुभएका दिपेश कँडेल हुनुभयो ।

Blog Post Ad

बुधबार प्रतियोगिता अन्तरगतको छैठौँ खेलमा खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको देउखुरी वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २ रन बनायो । देउखुरीको लागि प्रज्वल बहादुर थापाले सर्वाधिक २३ रन बनाउनुभयो । आशिष वलीले १७ रन, शुुभम खनालले १३ रन, आवाज गौतमले १२ रन दीपक बोहराले ११ रन बनाउँदा थमन वलीले ७ रन, नारायण जोशीले ३ रन, केशव शर्मा र आयुष वलीले समान २–२ रनको योगदान दिनुभयो ।

बलिङतर्फ घोराही टाइगर्सका रविन थापा र मिलन बुढाथोकीले २–२ विकेट तथा दिपेश कँडेल, युनिश विक्रम सिंह र अर्जुन घर्र्तीले समान १–१ विकेट लिनुभयो ।

१ सय ३ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको घोराही टाइगर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्यो । घोराहीले सो लक्ष्य १८ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर भेटाएको हो ।

प्लेयर अफ द म्याच हुनुभएका यु–१९ राष्ट्रिय क्रिकेटर कँडेलले अविजित २६ रन बनाउँदा अर्जुन घर्तीले २५ रन, मनोज पुनले अविजित १२ रन, दीलिप नाथले १० रन, कप्तान सुशान्तसिंह थापाले ९ रन, वृषभ सेन्चुरीले ४ रनको योगदान दिनुभयो । देउखुरीका लागि बलिङतर्फ आशिष वलीले २ तथा नारायण जोशी, विशाल विक्रम केसी र सुभम खनालले १–१ विकेट लिनुभयो ।

यसैगरी, बुधबार बिहान भएको खेलमा तुलसीपुर रोयल्सले आफुलाई अपराजित टीमका रुपमा प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको तुलसीपुर रोयल्सले २० ओभरमा ८ विकेट क्षतिमा १ सय ८ रन बनाएको थियो ।

तुलसीपुरका लागि प्लेयर अफ द म्याच हुनुभएका टीम कप्तान दिवान पुनले सर्वाधिक ३७ रन बनाउँदै कृष्ण कार्कीको बलमा एलबीडब्लु आउट हुँदा विराटसिंह भण्डारीले १७ रन रुपेश सिंहले १० रन, विपिन रावलले ९ रन, अमरसिंह रौटेला, शंकर राना र गोपाल केसीले समान ८–८ रन, नविन बिकले अविजित ३ रन तथा भुवन कार्कीले १ रनको योगदान दिनुभयो ।

पुरन्धाराका लागि सुजल वलीले २ विकेट, कृष्ण कार्की, हरिश केसी, मोहन खत्री र दिपेन्द्र रावतले समान १–१ विकेट लिनुभयो । तुलसीपुर रोयल्सले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको पुरन्धारा पुरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा जम्मा ७६ रन मात्र बनाउन सक्यो ।
पुरन्धाराका लागि कृष्ण कार्कीले अविजित रहँदै सर्वाधिक १७ रन योगदान दिनुभयो । यसैगरी, राजविर सिंहले १४, कप्तान मोहन खत्रीले १३ रन, राजु रिजालले १२ रन, सचिन खत्रीले ३ रन तथा प्रनित थापाले १ रनको योगदान दिनुभयो । बलिङतर्फ तुलसीपुर रोयल्सका रुपेश सिंहले ३ विकेट, भुवन कार्की, दिवान पुन र बिनोद कुमार बिकले समान १–१ विकेट लिनुभयो ।

बुधबारको जीतपछि तुलसीपुर रोयल्स २ खेलमा सतप्रतिशत जीतका साथ ४ अंकसहित लिगमा अंक तालिकाको शीर्ष स्थानमा यथावत छ । तेश्रो खेल खेलीसकेको दोश्रो जीतका साथ घोराही टाइगर्स ४ अंकसहित दोश्रो स्थानमा छ । पुरन्धारा च्यालेन्जर्स ३ खेलमा २ अंक सहित तेश्रो, २ खेलमा १ जीत र १ हारपछि समान २ अंक भएको दंगाली लायन्स चौथो स्थानमा रहँदा देउखुरी वारियर्स दुवै खेलमा हारपछि अंक तालिकाको पुछारमा छ । प्रतियोगिता अन्तरगत बिहीबार पनि दुई खेल हुनेछन् ।

आयोजित प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् । जसमा सुशान्तसिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् । हरेक क्लबले ४–४ खेल खेल्नेछन् । उत्कृष्ट दुई टिमले फाईनल खेल्नेछ । प्रतियोगिताको फाईनल फागुन १९ गते हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल टेलिकम, डाइमण्ड पार्टनरमा घोराही सिमेन्ट, क्रिजल आयल सप्लायर्स घोराही, गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, किसान ट्रेडिङ कन्सर्न सोनालिका, बिवाईडी ईभी, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, इन्स्योरेन्स पार्टनरमा शिखर इन्स्योरेन्स कम्पनी, स्कुल पार्टनरमा गुरुकुल एकेडेमी घोराहीले सम्झौता गरेका छन् । यसैगरी, प्रतियोगिताका लागि हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हस्पिटल, घोराही र लाईफ फुड एण्ड बेभरेज प्रालि अन्तर्गतको किबु इनर्जी ड्रिंक पार्टनरको रुपमा रहेका छन् ।

प्रतियोगिता सफलताका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायले पनि सहयोग गर्नुभएको छ । लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार प्रदान गरिनेछ भने हरेक दिन प्लेयर अफ द म्याचलाई पाँच हजार प्रदान हुँदै आएको छ ।

Blog Post Ad Blog Post Ad