Ad Area

खुमबहादुर खड्का भलिबलको उपाधिका लागि शान्तिनगर र राप्ती भिड्ने


घोराही, २५ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि शान्तिनगर गाउँपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् ।

नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा जारी पालिकास्तरीय भलिबल प्रतियोगिताको दोश्रो सेमिफाइनलमा राप्तीले साविक विजेता टीम घोराही उपमहानगरपालिकालाई हराएर फाईनल प्रवेश गरेसँगै राप्तीले शान्तिनगरसँगको फाईनल भेट पक्का गरेको हो ।
घोराही १५ जिल्ला समन्वय समितिको परिसरमा रहेको सहिद मञ्चमा आज बिहान भएको दोश्रो सेमिफाइनलमा राप्तीले घोराहीलाई २५-२२, २५-२० र २६-२४
को सोझो सेटमा पराजित गर्यो ।

टीमलाई फाईनलको यात्रा तय गर्न महत्त्वपूर्ण भुमिका खेल्नुभएका राप्तीका चिरन खड्का प्लेयर अफ द म्याच हुनुभयो । उहाँलाई आयोजकले ट्रफी र प्रमाण पत्रले सम्मान गरेको छ ।

प्रतियोगितामा पहिलो संस्करणमा उपविजेता बनेको राप्ती यस पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ भने बलियो टीम मानिएको शान्तिनगरले पनि पहिलो पटक उपाधि भित्र्याउने दाउसहित फाईनल खेल्न लागेको छ ।

बिहीबार भएको दोश्रो सेमिफाइनल खेल जारी रहँदा साँझ परेपछि कमजोर प्रकाशका कारण रेफ्रीले खेल रोक्नुभएको थियो । जसअनुसार, राप्ती र घोराहीको खेल शुक्रबार पुनस् शुरुबाट खेलाईएको थियो ।

यसअघि, बिहीबार फाईनल प्रवेशका लागि भएको पहिलो सेमिफाईनलमा शान्तिनगरले बंगलाचुलीलाई पनि २५–१४, २५–१५ र २५–१४ को सोझो सेटमा हराउँदै फाईनल पुगेको छ। फाईनल खेल शुक्रबार दिउँसो २ बजेदेखि हुनेछ भने त्यसअघि तेश्रो स्थानका लागि खेल हुने भएको नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले जनाएको छ ।

Blog Post Ad

तेश्रो स्थानका लागि सेमिफाईनलमा शान्तिगरसँग पराजित भएको बंगलाचुली र राप्तीसँग पराजित भएको घोराही खेल्नेछन् । यी दुई टीमको खेल ११ बजे हुने भएको छ ।
स्थानीय स्तरमा भलिबल खेल प्रवर्द्धन गर्न युवालाई खेलमा लाग्न प्रेरित गर्ने लक्ष्यका साथ स्वर्गीय नेता खड्काको सम्झनामा हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ ।
२० गतेदेखि जारी प्रतियोगिता लिगकम नकआउटका आधारमा भएको हो । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले १ लाख २५ हजार, तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले जनाएको छ ।

Blog Post Ad Blog Post Ad