Ad Area

खुमबहादुर खड्का भलिबलको उपाधि शान्तिनगरलाई, राप्ती उपबिजेता


घोराही, २५ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जितेको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेलमा राप्ती गाउँपालिकालाई ३(१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

घोराही उपमहानगरपालिका १५ जिल्ला समन्वय समितिको परिसरमा रहेको सहिद मञ्चमा हजारौँ दर्शकहरुको उपस्थितिमा भएको उपाधि भिडन्तमा शान्तिनगरले २५-२०, २२-२५, २६-२४, २५-१८ को सेटमा राप्तीलाई पराजित गरेको हो । शान्तिनगरले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी द्वितीय हुने टिम राप्तीले पनि नगद १ लाख २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

फाईनल खेल हुनुअघि तेश्रो स्थानका लागि भएको प्रतियोगितामा घोराहीले बंगलाचुलीलाई ३-२ को सेटमा हरायो । कडा प्रतिष्पर्धा भएको खेलमा घोराहीले २५-४,२२-२५,२५-१८, १७-२५ र १५-९ को सेटमा हराउँदै नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको टिमले पनि २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैबीच प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रुपमा शान्तिनगरका कमल सुनार भएका छन् । लुम्बिनी प्रदेश भलिबल टिमको खेलाडीसमेत रहेका सुनारले टिमलाई फाईनलसम्म पुर्याउन र उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेलेका थिए । फाईनल खेलको प्लेयर अफ द म्याच पनि कमल सुनार भए । यसैगरी, उत्कृष्ट स्पाईकर घोराहीका सुरेन्द्र केसी, उत्कृष्ट डिफेन्डर शान्तिनगरका मिलन पुन, उत्कृष्ट सर्भर राप्तीका विकास गिरी, उत्कृष्ट ब्लकर राप्तीका चिरन खड्का, उत्कृष्ट सेटर शान्तिनगरका मिलन घर्ती मगर हुँदा उत्कृष्ट कोच शान्तिनगरका मिनबहादुर घिमिरे भएको नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।

फागुन २० गतेदेखि भएको प्रतियोगितामा कुल २० खेल भए । लिगकम नकआउटका आधारमा भएको प्रतियोगिता लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको रहेको आयोजकले जनाएको छ । दाङका गढवा बाहेक अरु सबै पालिकाको सहभागितामा भएको प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगिताका माध्यमबाट भलिबल खेलको विकाससँगै स्थानीय स्तरमा खेल प्रवर्द्धन गर्ने उद्देश्य सहित स्वर्गीय नेता खड्काको सम्झनामा हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपालको राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रुपमा छवि बनाएका स्वर्गीय नेता खड्काको २०७५ चैत १६ गते उपचारकम क्रममा ६७ वर्षको उमेरमा निधन भएको थियो । यसअघि पहिलो संस्करण तुलसीपुर, दोश्रो संस्करण घोराहीले जितेको थियो ।

Blog Post Ad

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभाअध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालको प्रमुख आतिथ्य एवम् प्रदेश सभा सदस्य अनुराग खड्काको विशिष्ट आथिएतामा पुरस्कार वितरण गरिएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, जिल्ला कार्यसमिति, शुभेच्छुकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस जिल्ला सचिव बालिका लम्सालले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad