Ad Area

नाकाबासीका दुःख,तिर्खा मेट्न जरुवाको भर


दाङ, २६ फागुन ।सुख्खा समयमा खोलामा पानी सुक्ने भएपछि राजपुर गाउँपालिका–१ सिरियानाका निवासी मनकुमारी पुनलाई खानेपानीको समस्याले सताउन थालेको छ । घर नजिकै रहेको सिरिया खोलामा जरुवा बनाएर खानेपानीको जहो गर्दै आएकी पुनलाई सुख्खा समयमा खोलासँगै जरुवाको पानी पनि सुक्ने भएकाले पानीकै लागि कति खोला चहार्नु पर्ने हो भन्ने चिन्ताले सताउने गरेको उनी बताउँछिन् ।

खोलामा पानी सुक्न थालेपछि गर्मी समयमा खानेपानीकै लागि बिहानै ३÷४ बजे उठेर खोलामा पानी खोज्दै हिड्नु पर्ने बाध्यता हुने गरेको उनी बताउँछिन । वर्षाैदेखि खानेपानीका लागि गाउँपालिकासँगै नेतालाई भने पनि समस्या समाधान हुन नसकेको भन्दै पुनले भनिन्, ‘गाउँमा खानेपानी नहुँदा पानीकै लागि खोलामा घण्टौसम्म खोज्दै हिड्नु पर्ने बाध्यता रहेको छ ।’ खानेपानीका लागि खोलामा खोज्दै हिड्नु पर्ने र पानी जमेको ठाउँ भेटिए छेउमा जरुवा बनाएर गर्मी समयमा पानीको व्यवस्था गर्ने गरेको उनको भनाइ छ ।

पानीकै समस्याका कारण व्यक्तिगत सरसफाई, शौचालय प्रयोगसँगै कृृषि र पशुपालनमा समेत समस्या हुने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘खोलामा पानी बग्दासम्म त समस्या हुँदैन । खोलाको छेउछाउँमा जरुवा बनाए पानी आइहाल्छ तर पानी बग्न छोड्यो भने जरुवा पनि सक्न थाल्छन् अनि मानिसलाई मात्र नभई पशुचौपायालाई पनि पानीको समस्या हुने गर्दछ ।’ गाउँमा दीर्घकालीन खानेपानी समस्या समाधानका लागि व्यवस्थित खानेपानी योजना आवश्यक रहे पनि नेताले ध्यान नदिएको उनको गुनासो छ ।

खानेपानीका लागि मनकुमारीजस्तै सिरियानाका निवासी इन्दिरा घर्तीको पनि गुनासो छ । खानेपानीको समस्या पटक–पटक नेतालाई सुनाए पनि समाधानका लागि पहल नगरिदिँदा सुक्खा यामसँगै पानी पर्दा समेत स्थानीयलाई खानेपानीको समस्या पर्ने गरेको छ । निर्वाचनका क्रममा नेताले स्वच्छ र सफा खानेपानीको नारा ल्याउने र जितेपछि खानेपानीको व्यवस्था गर्ने आश्वासन दिने गरे पनि निर्वाचन जितेपछि जनतालाई बिर्सिँदा जनतालाई खोलाको पानी खानु पर्ने बाध्यता रहेको उनी बताउँछिन् । उनले भनिन्, ‘निर्वाचनका क्रममा जनतालाई आश्वासन दिनुहुन्छ तर जितेपछि बिर्सने बानीले जनताले दुःख पाउने अवस्था छ ।’

उनका अनुसार खानेपानीका लागि व्यवस्था भइदिए खोलाको पानी खानु पर्ने बाध्यता स्थानीयलाई हट्ने छ । खोलाबाट पानी ल्याउँदै गरेकी घर्तीले भनिन्, ‘गाउँमा खानेपानीका लागि धारा, कुवाँ छैन । पानीका लागि जरुवाकै भर हो तर गर्मी समयमा जरुवामा पानी सुक्ने हुदाँ समस्या हुन्छ । वर्षातमा खोलाले जरुवा पुरिएर समस्या हुने गर्छ ।’ पानीको अभावका कारण घरायासी कामसँगै शौचालयमा समेत प्रयोग गर्ने पानीको समस्या हुने गरेको उनी बताउँछिन् ।

मनकुमारी र इन्दिराको मात्र खानेपानीको समस्या होइन, सुख्खा समयमा खोलामा पानीको स्रोत सुक्दा जरुवा सुक्ने भएका कारण सिरिया नाकाका बस्तीमा बसोवास गर्ने ४२ घरपरिवारलाई पानीको समस्या हुने गरेको छ । जरुवामा पानी आउँदासम्म नजिकै हुने गरे पनि जरुवामा पानी सुक्न थालेपछि खोलामा कहाँ जरुवा खन्दा पानी आउँछ भनेर खोज्दै स्थानीयलाई हिड्नु पर्ने बाध्यता हुने गरेको स्थानीय टेकबहादुर पुन बताउँछन् ।

Blog Post Ad

राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवले भने नाका क्षेत्रमा खानेपानी समस्या समाधानका लागि गाउँपालिकाले पानीको मुहान संरक्षणदेखि पाइपका माध्यमबाट गाउँसम्म पानी लग्ने व्यवस्था गरिरहेको बताउँछिन् । नाकाबासीलाई खानेपानीको सुविधा पु¥याउन पालिकाले बजेट बिनियोजन गरेर काम गरे पनि केही ठाउँमा अहिले खानेपानीको समस्या रहेको उनी बताउँछिन् ।

छरिएर रहेका बस्तीसँगै खानेपानीको मुहान सुक्ने समस्याका कारण नाका क्षेत्रका बस्तीमा खानेपानीको समस्या बढ्न थालेपछि गाउँपालिकाले स्थानीय समुदायलाई नै अग्रसर बनाएर मुहान संरक्षणसँगै खानेपानीका लागि पाइप विस्तार गरेर बस्तीसम्म पु¥याउने काम गरेकाले पहिलेको तुलनामा अहिले धेरै नाकाबासीलाई सहज भएको उपाध्यक्ष यादव बताउँछिन् । उपाध्यक्ष यादवले भनिन्, ‘नाका क्षेत्रका बस्तीमा खानेपानीको सुविधा पु¥याउन काम गरिरहेका छौँ तर नाका क्षेत्रमा छरिएर रहेका बस्तीका कारण अहिले पनि केही ठाउँमा खानेपानीको समस्या छ ।’

Blog Post Ad Blog Post Ad