Ad Area

नेपाल–भारत धार्मिक सिद्वरत्ननाथ–देवीपाटन महायात्राको तयारी तीव्र,चार सय सहभागी हुने


घोराही, ८ चैत । धार्मिक एवं ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारीलाई तीव्र बनाइएको छ । प्रत्येक बर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिर पुग्नेगरी हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रालाई भव्य बनाउँदै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने गरि महायात्राको तयारी थालिएको हो ।

लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक एवं धार्मिक गौरवको महायात्राका रुपमा सञ्चालन गर्ने निर्णय गरेपछि लामो समयदेखि प्रचलनमा आएको धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रालाई यो बर्षदेखि महायात्राका रुपमा अघि बढाउने तयारी भइरहेको मुल समितिका सदस्य सचिव संस्कृतिविद् डा. गोविन्द आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार योगी नरहरीनाथले लेख्नुभएका पुस्तकहरु अध्ययन गर्दा यो यात्रा विसं ८०९ मा सिद्धरत्ननाथले सिद्धि प्राप्त गरेपछि हुँदै आएको करिव १३ सय वर्ष पुरानो ऐतिहासिक यात्रा भएको बताउँनुभयो ।

सदस्य सचिव एवं संस्कृतिविद् डा. आचार्यले भन्नुभयो,‘यो लामो धार्मिक तथा सांस्कृतिक इतिहास बोकेको यात्रा हो । विभिन्न कारणले विचमा ओझेलमा परेको थियो । यो बर्षदेखि विशेष बनाउने गरि तयारी भइरहेको छ ।’ यहि चैतको २३ गतेदेखि बैशाखको ७ गतेसम्म हुने धार्मिक एवं सांस्कृतिक महायात्रामा गोरक्षपात्रदेवता सिद्धरत्ननाथ चौघेराका पिर,पुजारी,भण्डारी,सिरानेलगायत साधुसन्त, सामाजिक एवं धार्मिक व्यक्तित्वहरु, विभिन्न क्षेत्रका प्रतिनिधिलगायत करिव चार सय बढीको सहभागीता हुने भएको छ । महायात्रालाई विशेष बनाउनकालागि यो बर्षदेखि थारु, मगर, अवधी, भुमे, सोरठी नाच पनि समावेश गराउने तयारी गरिएको छ ।

नेपाल र भारतको धार्मिक सांस्कृतिक सम्बन्धलाई हरेक वर्ष नवीकरण गर्ने एउटा यात्रा भएको भन्दै संस्कृतिविद् डा. आचार्यले भन्नुभयो,‘यो नेपाल–भारतको सांस्कृतिक सेतु हो तर प्रचारप्रसारको कमिका कारण ओझेलमा रहने गरेको छ ।’ उहाँका अनुसार यात्रालाई भव्य बनाउनका लागि विभिन्न उपसमिति बनाएर तयारी थालिएको समेत बताउनुभयो ।

घोराही उपमहानगरपालिका–१७ चौघेरा मठबाट प्रारम्भ हुने महायात्रा घोराही उपमहानगरपालिका–३ चौपट्टा, लमही नगरपालिका–६ देउपुरमा गोरक्षपात्रदेवता मठ, गढवा गाउँपालिकाअन्तर्गत जमुनीबास, कोइलावास र भारतको जनकपुरलगायतका धार्मिकस्थलहरुमा विश्राम र पुजापाठ गर्दै तुलसीपुर देवीपाटन मन्दिर पुग्ने मठका मठाधिश योगी ब्रह्मनाथले जानकारी दिनुभएको छ । उहाँका अनुसार पाटन पुगेपछि पाँच दिन बस्ने र त्यो अवधिमा उक्त मन्दिरमा नेपाली पुजारीले पुजापाठ परम्परा रहेको छ । उहाँले भन्नुभयो,‘भारतमा गोरक्ष देवताको ठुलो महत्व छ ।

नेपालबाट पुजारी पुगेपछि न फर्किदासम्म पुजापाठको जिम्मा नेपालीले गर्ने परम्परा रहेको छ । गोरक्ष पात्र देवतालाई जत्तिकै यताको टोलीलाई सत्कार गर्छन् ।’ उहाँका अनुसार पुजाका सामाग्रीसँगै पाटेश्वरी माताको दर्शन र पुजा गरेर टोली फर्किने परम्परा रहेको छ । रातीको समयमा मात्र हुने यात्रा भएकाले यो यात्रा ओझेलमा परेको उहाँले बताउँनुभयो । महायात्राका क्रममा ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आर्थिक उपसमितिका संयोजक बलदेव योगीले जानकारी दिनुभएको छ । उहाँका अनुसार महायात्राका लागि लुम्बिनी प्रदेश सरकारले ३० लाख रुपैयाँ दिने भनेको र बाँकी खर्च मठले गर्ने बताउनुभयो । भेष बाह्रपन्थी नाथ संस्कृतिको केन्द्रका रुपमा रहेको चौघेराबाट करिव एक महिनाको यात्रापछि पाटेश्वरी मन्दिर पुग्ने परम्परा रहेपनि पछिल्लो समय यसलाई घटाएर १३ दिनमा झारिएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad