Ad Area

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त


दाङ,२३ चैत । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओबादी केन्द्र प्रदेश संसदीय दल लुम्बिनीका नेता जोखबहादुर महरालाई शुक्रवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले माओबादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता महरालाई प्रदेश सभाको तत्काल कायम रहेको प्रदेश सभा सदस्यमध्ये ४८ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेस गर्नुभएको थियो । महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सोअघि माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले शुक्रवार दिउँसो लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्नुभएको थियो । माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जना सांसदले पक्षमा हस्ताक्षर गर्नुभयो ।

नागरिक उन्मुक्ति पार्टीका चार जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीमा महरालाई समर्थन गरेको पत्र प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरिएको थियो । यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको लागि बाटो खुला भएको थियो ।

Blog Post Ad Blog Post Ad