परियोजनाको कार्यक्रम क्षेत्र बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च
घोराही, १२ बैशाख । मुक्त कमलरी विकास मञ्चले संचालन गर्दै आएको परियोजना र थप भएको परियोजना शुरुवात बारे जानकारीसहित पालिका स्तरीय परियोजना सल्लाहकार समिति बैठक एवम् सरोकारवाला बीच छलफल तथा अन्तरक्रिया गरिएको छ ।
मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा बुधबार घोराहीमा कार्यक्रम गरिएको हो । मुक्त कमलरी विकास मञ्चसँगको सहकार्यका लागि पालिका स्तरमा लक्षित कामका लागि आइएम स्वीडिस डेभलपमेन्टसँगै प्राविधिक तथा अन्य सहयोग र सहकार्यका लागि ४ वटा साझेदार संस्थाहरु जोडिएको जानकारी गराइएको छ ।
जसअनुसार, मुक्त कमलरी सशक्तीकरण परियोजना संचालन हुँदै आएका घोराहीको वडा नम्बर २, ४ र ८ सँगै अब वडा नम्बर १२ पनि थपिएको छ । यसैगरी, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिका पनि यो परियोजना लागू हुने भएको छ । जसअनुसार, लमही नगरपालिकाको वडा नम्बर ३, ४ र ८ मा तथा तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १५, १६ र १८ मा पनि परियोजना लागू हुने भएको छ । यसका लागि आवश्यक बजेटसहितको कार्यक्रम पनि तय भईसकेको जानकारी गराइएको छ ।
पहिलो चरणको कार्यक्रम सकिएपछि मुक्त कमलरी सशक्तीकरण परियोजनाको दोश्रो चरण आगामी सन् २०२८ सम्म संचालन हुने भएको छ । जसका लागि पहिलो एक वर्ष हुने कार्यक्रम र लक्षित क्षेत्र र विषय बारे जानकारी गराईएको हो ।
परियोजना सचालनका लागि सोसेक नेपाल, क्लीन अप नेपाल, युवालय नेपाल संस्थागत रुपमा आवद्ध भएका छन् । यी साझेदार संस्थाहरुले परियोजना लागू हुने वडाहरुमा शिक्षा, स्वास्थ्य, वातावरण, कानूनी सचेतना, लैंगिक समानता, उद्यमशीलतासँगै सीप क्षमता र नेतृत्व विकासको काम गर्ने बताईएको छ ।
कार्यक्रममा नगरप्रमुख खड्काले मुक्त कमलरी विकास मञ्चले तुलसीपुरमा परियोजनामार्फत लक्षित समुदायको उत्थानका लागि सहकार्य गर्ने वातावरण बनाएको भन्दै यसबाट अधिकतम लाभ उठाउन सक्ने गरी पालिकाले सहयोग गर्ने बताउनुभयो । यसैगरी, पालिकाले परियोजनासँग सहकार्य गरेर अपेक्षित लक्ष्य, उद्देश्य पूरा गर्न र नागरिकको जीवन माथि उठाउन सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले मुक्त कमलरी, बालबालिका, सिमान्तकृत वर्गको पक्षमा परियोजनाले काम गर्ने हुँदा यो विषय पालिकाको लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो । अपेक्षित लक्ष्य र उद्देश्य पूरा गर्न परियोजनाको कामलाई पालिकाले सघाउने उहाँको भनाई थियो ।
घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेले मुक्त कमलरी विकास मञ्चले थालेको काम समाजको हीतका पक्षमा भएकाले यो काममा स्थानीय सरकारको पनि साथ रहेको बताउनुभयो । सोसेक नेपालका संस्थापक एवम् कार्यकारी निर्देशक हिरासिंह थापाले परियोजनाको काम, कर्तव्य र कार्यविधिका बारेमा जानकारी गराउँदै परियोजनामार्फत हुने कामले राज्यका हरेक निकायलाई सहयोगीका रुपमा सघाउने बताउनुभयो ।
कार्यक्रममा मुक्त कमलरी विकास मञ्चको कार्यक्रम र बजेटका बारेमा मञ्चकी कार्यक्रम संयोजक सुलोचना चौधरी, सोसेक नेपालको कार्यक्रम र बजेट बारे द्रोर्ण जिसी, क्लीन अप नेपालको कार्यक्रम र बजेट बारे श्रवणकुमार बस्नेत र युवालयको कार्यक्रम र बजेट बारे सर्मिला थापाले जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्लास्थित संघ तथा प्रदेश मातहतका कार्यालय प्रमुख एवम् प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण परियोजना संयोजक सुलोचना चौधरीले गर्नुभएको थियो ।