Ad Area

अग्नी पीडितको त्रिपालमुनि बास, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा


घोराही,१९ वैशाख । राजपुर गाउँपालिका–७ हाडबास निवासी ७० बर्षीय तिला योगीको दुई दिनदेखि त्रिपालमुनि बास छ । जंगलमा लागेको आगो राप्ती नदीको बगर हुँदै राजपुर गाउँपालिका–७ हाडबासमा पसेर २४ घर खरानी बनेपछि घर नजिकै बारीमा त्रिपाल टागेर योगी परिवार बस्दै आएको छ ।

घरमा भएको कपडासहित अन्नपात जलेपछि त्रिपालमुनि बस्दै आउनुभएकी योगीलाई साझ–विहान दुई छाक टार्न समस्या भएको बताउँनुहुन्छ । गाउँपालिकाले उपलव्ध गराएको प्लाष्टिकको त्रिपालमा बस्ने गरेपनि दुःख गरेर उत्पादन गरेको अन्नपातसँगै कपडा जल्दा साँझविहान दुई छाक खानसँगै फेर्नलाई कपडा समेत नभएको बताउँनुहुन्छ ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलगायतका संघसस्थाले उपलव्ध गराएको राहत लिनका लागि आउनुभएकी योगीले भन्नुभयो,‘घरमा कमाउने कोही छैन,आगलागीका कारण घर जलेर खरानी भएको छ । राहत स्वरुप चाउचाउ, विस्कुटलगायतका सामग्री ल्याइदिनुभएको छ तर घरमा लगाएको कपडा फेर्नलाई अर्काे कपडा छैन ।’ घरमा कोही नभएको समयमा आगलागी हुँदा लगाएको कपडा बाहेक केही बचाउन नसकेको उहाँ बताउनुहुन्छ ।

आगलागीका कारण घरमा भएको सवै धनसम्पती जलेपछि पानी खानका लागि गिलास समेत नबचेको हाडवास निवासी सीता भण्डारी बताउँनुहुन्छ । जंगलमा लागेको आगो राप्ती नदीको बगर हुँदै सुरुमा भण्डारीको घरमा सल्किएको थियो । भण्डारीको घरदेखि सल्किएको आगोले गाउँमा २४ घरगोठ जल्दा ज्यान बचाउनका लागि भाग्नुपर्ने अवस्था भएको भण्डारी बताउँनुहुन्छ । उहाँले भन्नुभयो,‘जंगलबाट नदी बगरमा आएको आगोलाई भर्खरै स्थानीयले निभाएकाले आगो आउँला भन्ने सोचेका थिएनौ । करिव तीन घण्टासम्म आगो निभाएर घरमा खाना खान आएको समयमा एक्कासी हाम्रो घरमा आगलागी भयो ।

त्यसपछि मानिसहरु जम्मा हुँदाहुदै एउटा घरबाट अर्काे घर हुँदै खरको छाना भएका सवै घर सकिए ।’ आगोसँगै मडारिएर आएको हावाहुरीका स्थानीयले प्रयास गरेपनि रोक्न नसकेको उहाँ बताउँनुहुन्छ ।
भएको एक तले तीन कोठाको घर जलेपछि हाडवास निवासी भीमीकुमारीको परिवार पनि आँपको बुटामनि रात काट्दै आएको छ । पाँच जनाको परिवार एउटा त्रिपालमुनि नअट्ने भएपछि सवै परिवारका सवै सदस्य आँपको रुखलाई सहराका रुपमा लिएर बसेको भीमीकुमारी बताउनुहुन्छ । आगलागीको समयमा घरमै भएपनि हावाहुरीसहित फैलिएको आगोबाट जोगिनलाई भाग्नुपर्दा केही बचाउन नपाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘एकदुई वटा घरमा मात्रै आगलागी भएको भए बचाउन सकिन्थ्यो होला, यहाँ गाँउ नै सखाप भएको छ ।

हरिया रुखहरु पनि बल्न थालेपछि ज्यान बचाउनै धौधै भएको थियो, अन्नपात र कपडा कसरी बचाउने ।’ उहाँका अनुसार गर्मी र हावाहुरी चल्ने समयमा आगलागी हुँदा खुल्ला आकासमुनि बस्नुपर्ने भएकाले गर्मीमा बालबालिका र वृद्धवद्धालाई समस्या भएको समेत बताउँनुहुन्छ । दिउँसोमा चर्काे गर्मीसँगै हावा चल्ने गरेका कारण त्रिपाल उडाउने भएकाले गतिलो बस्ने ठाउँ समेत बन्न नसकेको बताउनुहुन्छ ।
उहाँहरु मात्रै होइन, आइतवार दिउँसो लागेको आगलागीका कारण राजपुर गाउँपालिका–७ हाडबासमा पस्दा २४ घर खरानी बनेपछि दुई दिनदेखि अग्नी पीडितको बास त्रिपालमुनी रहेको राजपुर गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष पुष्कर वली बताउँनुहुन्छ । राप्ती नदीको नजिकै हाडवास बस्ती रहेपनि बस्तीसम्म पुग्नका लागि बाटो नहुँदा धेरै घरगोठ जलेको उहाँले बताउनुभयो । वडा अध्यक्ष वलीले भन्नुभयो,‘आगलागी नियन्त्रणका लागि लमही नगरपालिका र गढवा गाउँपालिकाबाट दमकल आएपनि बाटोका कारण आगलागी भएको बस्तीसम्म आउन सकिनन्, जस्ले गर्दा पनि ठुलो धनसम्पतीको क्षति हुन पुगेको हो ।’ आगलागीका कारण खानेपानीको पाइप जल्नका साथै विद्युतका पोलहरु ढलेपछि खानेपानी र विद्युतको समेत समस्या भएको बताउनुयो ।

Blog Post Ad

आगलागीपछि बिस्थापित पीडित परिवारलाई समयमै राहत पु¥याउनेदेखि पुनस्थापनाको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी बताउँनुहुन्छ । अग्नी पीडितलाई पहिलो चरणमा जिल्ला दैविक प्रकोप कोषलगायतका विभिन्न संघसस्थाबाट खाद्यान्नसँगै अस्थायी आवासको व्यवस्थापनका त्रिपाललगायतका सामाग्री वितरण गरिएको बताउनुभएको छ । आगलागीका कारण हाडवासमा २४ घरगोठसँगै ६ वटा पशुचौपायाहरु जल्दा ८७ लाख ७५ हजार बराबरको क्षति हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad