Ad Area

रियल म्याड्रिड लगातार २५ औं पटक च्याम्पियन्स लिगको नकआउट चरणमा


काठमाडौ, ९ मंसिर । स्पेनिस क्लब रियल म्याड्रिड लगातार २५ औं वर्ष युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणको एक खेल बाँकी छँदै घरेलु टोली सेरिफलाई ३–० ले पराजित गर्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो।

मोल्दोभाको एफसी सेरिफमाथि सहज जित निकाल्ने क्रममा रियलका लागि डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले गोल गरे। बोल्साया एरिना टिरासपोल मोल्दोभामा बुधबार राति पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गर्दै म्याड्रिड लगातार २५ औं पटक च्याम्पियन लिगको नकआउट चरणमा प्रवेश गर्‍यो।

कीर्तिमानी १३ पटक युरोपियन च्याम्पियन बनेको म्याड्रिड सन् १९९७÷९८ सिजनदेखि हरेक पटक नकआउट चरणमा पुगेको छ। अन्तिम पटक सन् १९८६(९७ को सिजनमा नकआउट चरणमा पुग्न सकेको थिएन। सन् २००३(०४ मा नकआउट राउण्ड सुरू भएदेखि म्याड्रिडले अन्तिम १६ मा स्थान बनाएको यो लगातार १९ औं पटक हो।

खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको रियलले ३०औं मिनेटमा डेभिड अलाबाको गोलमा अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा टोनी क्रुसले गोल गर्दै रियललाई पहिलो हाफमा २–० को अग्रता बनाए।

दोस्रो हाफमा पनि लयलाई निरन्तरता दिएको रियललले ५५औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता तेब्बर पार्‍यो।यो जितसँगै रियलले पहिलो राउन्डमा भोगेको हारको बदला लिएको छ । गत सेप्टेम्वरमा रियल घरेलु मैदानमा २–१ ले स्तब्ध बनेको थियो ।

जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा कायमै छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको १० अंक छ। पराजित सेरिफ ६ अंक जोडेर तेस्रो तथा साख्तर डोनेस्क १ अंक जोडेर पुछारमा छ।

Blog Post Ad

एजेन्सीको सहयोगमा

Blog Post Ad Blog Post Ad