Ad Area

सामी कार्यक्रमकाे भुमिका प्रभावकारी बन्दै, ६० हजारलाई परामर्श


घोराही, १५ जेठ । वैदेशिक रोजगार र यससँग सम्बन्धित विषयमा काम गर्दै आएको सुरक्षित आप्रवासन सामी कार्यक्रम दाङले कार्यक्रम लागूभएयता अहिलेसम्म गरेका कामको प्रगति बारे सोमबार घोराहीमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरि जानकारी गराएको हो ।जिल्लाको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकामा लागु भएको सामी कार्यक्रमले वैदेशिक रोजगारसम्बन्धी सूचना, न्यायमा पहुँच, सीपयुक्त तालिम प्रदान, वित्तिय साक्षरता र मनोसामाजिक परामर्शको क्षेत्रमा काम गरेका कामको बारेमा जानकारी गराएको हो ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको सामी कार्यक्रमको तेश्रो चरणको अन्तिम अवस्थामा पुगेको कार्यक्रममा सामी कार्यक्रममार्फत दाङमा भएका कामको अवस्था, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित कसरी बनाउन सकिन्छ भन्ने बारे सामी कार्यक्रम संयोजक बसन्ता पुनले जानकारी गराउनुभएको थियो । उहाँले २०७६–०७७ देखि २०८०–०८१ सम्म ६० हजार २८ जनालाई आप्रवासी श्रोत केन्द्रको सहायता कक्षबाट सूचना तथा परामर्श दिईएको जानकारी दिनुभयो ।

सोही अवधिमा आप्रवासी श्रोत केन्द्रमा समस्याका रुपमा दर्ता भएको १ हजार २ सय २० जना मध्ये ७ सय ३१ जनालाई परामर्श दिई समस्या समाधान गरेको बताउनुभयो । अझै पनि ४ सय ३७ वटा समस्या प्रकृयामा रहेको तथा ५२ वटा समाधान हुन नसकेका रहेको उहाँको भनाई थियो ।

यही अवधिमा सामीले प्रदान गर्ने सेवा अन्तरगत पाँच वर्षको अवधिमा १५ करोड १५ लाख ९९ हजार ६ सय ५७ रुपैयाँ आर्थिक सहायता प्रदान गर्न सहजीकरण गरेको पनि उहाँले बताउनुभयो ।

यही अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेकाहरु ठगी सम्बन्धीका ४० प्रतिशत, मृत्यु सम्बन्धी ११ प्रतिशत, जेल सम्बन्धी ३ प्रतिशत, स्वास्थ्य सम्बन्धी ५ प्रतिशत, हराएका सम्बन्धी ७ प्रतिशत, अलपत्र परेकाको उद्धार सम्बन्धी १४ प्रतिशत तथा अन्य प्रकतिका २० प्रतिशतको कानूनी सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

सामीले यही अवधिमा सीप तालिमका लागि १ हजार २६ जनालाई सिफारिस गरेको जनाएको छ । तालिममा १ सय ५७ जना सहभागी भएकोमा ३३ जनाले सीप तथा तालिम लिएर वैदेशिक रोजगारीमा गएका बताउनुभयो ।

Blog Post Ad

वैदेशिक रोजगारीबाट आएको रकमको सही उपयोग गर्न र उनीहरुको परिवारलाई वित्तीय साक्षरतामार्फत सचेतना प्रदान गरिएको छ । वित्तीय साक्षरता कक्षा लिएकाहरुले अहिले वित्तीय व्यवस्थापन गर्दै आम्दानी खर्चको सही रुपमा लेखाजोखा गर्न सक्ने भएका छन् । जिल्लाको चार वटै पालिकामा संचालित २१ हप्ते वित्तीय साक्षरता कक्षामा १ हजार ६ सय १५ जना सहभागी भई व्यवहारमा उतारेका छन् । सामी कार्यक्रम संयोजक पुनका अनुसार, १ हजार ५ सय ९२ जना महिला र २३ जना पुरुषलाई दिईएको साक्षरता कक्षाले उनीहरुको व्यवहार परिवर्तन सम्भव भएको छ ।

जसमा ८९ प्रतिशतले आम्दानी तथा खर्चको हिसावकिताव राख्न थालेको, १२ प्रतिशतले नयाँ व्यवसाय थालनी गरेको, १६ प्रतिशतले प्रवद्र्धन गरेको, ८६ प्रतिशतले वचत वृद्धि गरेको तथा ३४ प्रतिशतले बैंक तथा वित्तीय संस्थामा पहुँच स्थापित गरेका छन् ।

यसैगरी, वैदेशिक रोजगारीका क्रममा मानसिक समस्यामा परेका व्यक्ति र उनीहरुका परिवारलाई पनि घरमै पुगेर मनोसामाजिक परामर्श दिने काम भएको उहाँले बताउनुभयो । उहाँका अनुसार, पाँच वर्षको अवधिमा ४ सय २० जनालाई मनोसामाजिक परामर्श आवश्यक पहिचान गरी परामर्श प्रदान गरिएको छ । जसबाट ३ सय ३९ जनाको समस्या समाधान भएको, ५९ जनाको प्रकृयामा रहेको र २२ जनाको सेवा पूरा नभएको बताईएको छ ।

मनोसामाजिक परामर्श अन्तरगत ६१ प्रतिशत पीरचिन्ताका, २१ प्रतिशत निराशापनका, ११ प्रतिशत आघातका, ४ प्रतिशत आत्महत्या प्रयासका र ३ प्रतिशत विभिन्न समस्याका रहेका छन् । अझै पनि वैदेशिक रोजगारीलाई प्रयाप्त प्रमाण तथा कागजात नभएका कारण कानुनी सहजीकणमा समस्या हुने गरेको उहाँले बताउनुभयो । पीडक सम्बन्धीत जिल्लाको नभएको कारण कानुनी सहजीकण गर्न समस्या हुनु, वैदेशिक रोजगारीमा जान हतार गर्दा सीप तालिम लिनेको संख्या सिमित हुनु, स्थानीय चिनजानका व्यक्तिमार्फत वैदेशिक रोजगारीको प्रकृया गर्दा ठगिने संख्यामा वृद्धि हुनु तथा व्यक्तिगत भिषामा वैदेशिक रोजगारीमा जानेहरुको संख्या अत्यधिक भएकोले वैधानिक प्रकृया कठिनाई हुनु जस्ता समस्याहरु विद्यमान रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सामी कार्यक्रम प्रदेश व्यवस्थापक पञ्चराम थारुले नेपालबाट वैदेशिक रोजगारीका लागि हालसम्म ७७ लाखले श्रम स्वीकृति लिएको जानकारी गराउँदै दाङमा पनि हालसम्म १ लाख २२ हजारले श्रम स्वीकृति लिएको बताउनुभयो । सामी कार्यक्रमले देशका ३८ जिल्लाका १ सय ५६ स्थानीय पालिकामा संचालनमा रही वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने काम गर्दै आएको बताउनुभयो ।

तर, अहिले पनि वैदेशिक रोजगारीमा दक्ष कारदार २४ प्रतिशत मात्रै जाने गरेको हुँदा विदेशमा गएर उनीहरुले समस्या भोग्नबाट जोगाउन सबैको सार्थक पहल जरुरी रहेको बताउनुभयो । कार्यक्रममा नगरप्रमुख चौधरीले वैदेशिक रोजगार आवश्यकता भन्दा फेसन जस्तै बन्न थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो । विदेशमा रोजगारको अवस्था र माग नबुझेर लहैलहैमा जाने अनि समस्यामा पर्ने क्रम बढेको भन्दै फेसन र बहकाउमा लागेर विदेश जाँदा कोही कसैको जीवन स्तर माथि उठ्न नसक्ने बताउनुभयो ।

यसैगरी, वैदेशिक रोजगारको क्षेत्र तरवारको धारमा जस्तै रहेको भन्दै एकाध कोही कसैको परिवार उकासिए पनि अधिकांशको घरबार बिग्नि पुगेको बताउनुभयो । विदेशमा बस्ने पनि तनावमा यता घरपरिवार पनि तनावमा हुने स्थितीले विद्यमान समस्या समाधानका लागि सबै पक्ष गम्भीर हुनु जरुरी रहेको बताउनुभयो । सामी कार्यक्रम लागू भएपछि वैदेशिक रोजगारसँग जोडिएको धेरै समस्या सहजै समाधान भईरहेको भन्दै यसको अझ प्रभावकारीता बढाउन पालिकाले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले स्वीस सरकारको अनुदानको मात्रै फेज आउट हुने भएकाले सामी कार्यक्रम जारी रहने बताउँदै अब सरकारको कार्यक्रमका रुपमा अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख हुमा डिसीले सामी कार्यक्रमलाई स्थानीय पालिकाले कसरी थप व्यवस्थित गर्ने भन्नेमा अघि बढेको बताउनुभयो । समुदाय स्तरमा देखा पर्ने विभिन्न खालका समस्यालाई सही रुपमा सम्बोधन गर्न सामी कार्यक्रमले भूमिका खेल्दै आएकाले यसको प्रभावकारीता बढाउन पालिकाले प्रयास गर्ने बताउनुभयो । विदेशमा अलपत्र परेकाहरुको उद्धार, ठगीमा परेका, मृत्यु भएकाहरुको परिवारलाई राहत उपलब्ध, शव ल्याउन पहल, विदेश गएका व्यक्तिका परिवारहरुलाई वित्तीय साक्षरता कक्षा, सीपमूलक तालिम, मनोसामाजिक परामर्श, सूचनामा पहुँच अभिवृद्धि जस्ता कामले समुदायमा धेरै सकारात्मक प्रभाव परेको बताउनुभयो ।

सो अवसरमा, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले आन्तरिक रोजगारको क्षेत्र पहिचान गर्दै उत्पादनमा युवालाई जोड्ने विषयमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले पत्रकारहरुका लागि वैदेशिक रोजगारका विषयमा प्रशिक्षणलगायतका कार्यक्रम गर्न सके अझ प्रभावकारी हुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले वैदेशिक रोजगारसँग जोडिएका विषय र यसको आयाम बारे मिडियाले खेल्नुपर्ने भुमिका सदैव रहने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा अलपत्र परेपछि भर्खरै उद्धार भई आउनुभएका घोराही १९ राम्चेका रेशम घर्तीले आफ्नो अनुभव सुनाउनुभएको थियो ।

यसैगरी, घोराही १० डाबर की दिपा कुमारी घर्ती र सोही ठाउँकी सुमित्रा नेपाली, घोराही ३ रनघराकी हुमा पुनले श्रीमान वैदेशिक रोजगारीमा गएपछि आफुहरुले सामी कार्यक्रम मार्फत वित्तीय साक्षरता कक्षा लिएर गरिरहेको कामका बारेमा जानकारी गराउनुभएको थियो । वित्तीय व्यवस्थापन बारे जानकारी लिएपछि आफुमा आत्म विश्वास जागेको र घरमा आयआर्जनमा जोडिएको बताउनुभयो । वित्तीय साक्षरता, मनोसामाजिक परामर्शले अरु थुप्रै महिला दिदीबहिनीमा उर्जा थपिएको पनि बताउनुभयो । कार्यक्रमको सहजीकरण सामी फोकल पर्सन बासुदेव आचार्यले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad