Ad Area

घोराही–१३ बाट मानसिक समस्याग्रस्त महिलाको उद्धार


घोराही, १८ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ बडहरास्थित शान्तिनगर बस्दै आउनुभएकी लक्ष्मी बिकको उद्धार गरिएको छ । वैदेशिक रोजगारीका क्रममा मानसिक समस्या भएपछि घर फर्किनुभएकी करीव ३५ वर्षीया लक्ष्मीको समस्या थप बल्झिँदै गएपछि शुक्रबार घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखा र वडा नम्बर १३ को पहलमा उद्धार गरी घोराही १० नारायणपुरमा रहेको मानव कल्याण समाज सेवा घरमा लगिएको छ ।

घरको आर्थिक अवस्था निकै कमजोर रहेको तथा मानसिक सन्तुलनसमेत दिनप्रतिदिन बिग्रँदै जान थालेपछि उहाँको उद्धार गरी सेवा घरमा लगिएको हो । केही महिनायता एक्लै कोठामा बस्ने, खान, लगाउनेको ठेगानसमेत नहुने, श्रीमानलाई अनाहकमा कुटपीट गर्ने जस्ता क्रियाकलाप गर्न थालेपछि उहाँको उद्धार गरिएको वडा नम्बर १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेलले जानकारी दिनुभयो ।

श्रीमान सोनु बिकले ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको अवस्थामा लक्ष्मीको उपचार लगायत स्याहार सुसारमा समस्या हुँदै आएको थियो । उद्धार गरी एम्बुलेन्समार्फत सेवा घरमा लगिएको स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभयो । अब उहाँको मानसिक उपचारसँगै अरु स्याहार सुसारको व्यवस्थापनमा पालिकाको तर्फबाट पनि पहल हुने उहाँको भनाई छ ।

कसरी भयो उद्धार ?

जेठ १६ गते साँझ घोराहीमा रहेको हेल्थ फाउण्डेशनकी मनोविमर्शकर्ता भुमिका जिएमले स्वास्थ्य शाखा प्रमुख राधा पौडेललाई लक्ष्मी बिकको अवस्थाका बारेमा जानकारी गराउनुभयो । अवस्था नाजुक रहेको र तत्काल उद्धार आवश्यक रहेको भनेपछि पौडेल साँझै लक्ष्मीको घरमा पुग्नुभयो । अवस्था हेदा निकै कहाली लाग्दो देख्नुभयो । ‘महिनौँदेखि बन्द कोठामा फोहर शरीर, दिसापिसाब एकै ठाउँमा, ओढ्ने ओछ्याउने सबै धुलोमैलोले लतपतिएको, मानसिक सन्तुलन ठीक अवस्थामा नभएको देखेँ,’ स्वास्थ्य शाखा प्रमुख पौडेलले भन्नुभयो ‘अवस्था निकै नाजुक लाग्यो । घरमा सहयोग गरिदिने पनि रहेनछन् । श्रीमान ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्न ठिक्क रहेछ । बालबच्चा साना अनि कसरी हेरचाह होला भन्ने लाग्यो ।’

Blog Post Ad

स्थानीयका अनुसार केही दिनसम्म लक्ष्मीको मानसिक स्वास्थ्य अवस्था ठिकै थियो । श्रीमानले आफु सक्दो उपचारपनि गर्नुभएको थियो । तर, पर्याप्त हेरचाह, स्याहार सुसार अभावमा उहाँको मानसिक, शारीरिक अवस्था बिग्रँदै गयो । अन्ततः शरीरमा लगाएको कपडासमेत फालेर हिड्ने अवस्था भएपछि पालिकालाई यो बारेमा जानकारी पुगेपछि उहाँको उद्धार भएको हो । लक्ष्मीले आफ्ना श्रीमान सोनुलाई भौतिक आक्रमण गरेर घाईते बनाउनुभएको छ ।

यसअघि पनि पटक-पटक भौतिक आक्रमण गर्ने, घरमा भएका जिन्सी सामान तोडफोड गर्ने काम लक्ष्मीबाट हुने गरेको थियो । केही दिनअघि मात्रै घरमा सुति रहेको बेला एक्कासी आएर श्रीमानलाई इँटाले प्रहार गर्दा श्रीमानको टाउकोमा गम्भीर चोट लागेको छ । आँखाको तल्लो भागमा निल डाम परेको छ । ‘लक्ष्मीको अवस्थाका बारेमा उपप्रमुख हुमा डिसीलाई भनेँ । १३ नम्बर वडाको अध्यक्ष ज्यूलाई पनि जानकारी गराईयो, कहाँ लैजाने भन्ने कुरा चल्यो, अनि नारायणपुरमा रहेको मानव कल्याण समाज सेवा घरमा लग्योँ’ उहाँले भन्नुभयो ।

मानसिक समस्या कहिलेदेखि भयो ?

श्रीमान सोनुका अनुसार लक्ष्मी केही वर्ष अघि रोजगारीको सिलसिलामा वैदेशिक रोजगारीमा जानुभएको थियो । विदेश जाने अनि घर आउने क्रम चलेको थियो । शुरुवाती कालमा लक्ष्मीमा मानसिक समस्या देखिएको थिएन । पछिल्लो पटक खाडी मुलुकमा फेरी रोजगारीका लागि गएको बेला उहाँको स्वास्थ्यमा समस्या देखियो ।

विदेशमा उपचार गराउँदा सञ्चो नभएपछि घर फर्किनुभयो । डेढ वर्ष अघि घर फर्किँदा उहाँ डिप्रेसनको सिकार भईसक्नु भएको थियो । श्रीमानले उपचारको कोशिस गर्नुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर मानसिक रोग विशेषज्ञसँगको परामर्शमा औषधी सेवनपछि केही सुधार देखिएको श्रीमानको भनाई छ । तर, औषधी खान छाडेपछि मानसिक समस्या बल्झिँदै गयो र अहिले उद्धार गरेर मानव कल्याण समाज सेवा घरमा लैजानु पर्ने अवस्था आयो ।

सडक मानवमुक्त बनाउने अभियानका साथ अघि बढेको घोराही उपमहानगरपालिकाले अहिले यस प्रकारका व्यक्तिको उद्धार गरेर सम्बन्धित ठाउँमा व्यवस्थापन गर्ने काम गरेको छ । सहयोगापेक्षी र सडक मानवको उद्धार गरी पालिकाले केही वर्षयता मानव सेवा आश्रम तथा सेवा घरमा लगेर सहजीकरण गर्ने कामले धेरैले अहिले सहज जीवनयापन गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad