Ad Area

विश्व वातावरण दिवस अन्तरगत लक्ष्मीपुरमा सरसफाई तथा अन्तरक्रिया


घोराही, १९ जेठ । विश्व वातावरण दिवसको सप्ताह व्यापी कार्यक्रम अन्तरगत घोराही ४ को लक्ष्मीपुरमा वातावरण संरक्षणका लागि समुदायमा सरसफाई तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

मुक्त कमलरी विकास मञ्च, स्वच्छ सफा नेपाल, सोसेक नेपालको संयुक्त आयोजना आईएम नेपालको सहयोग तथा घोराही ४ को समन्वयमा शनिबार टोलको सरसफाईदेखि वातावरण जोगाउन व्यक्ति, परिवार, समुदायले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।

वातावरण स्वच्छ, सफा राख्न घरबाटै फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने सचेतनासँगै बराह क्षेत्र टोल, शिवशक्ति टोल, वडा कार्यालय परिसरको सरसफाई गरिएको छ । सरसफाई गर्दा १ सय ५३ किलो फोहोर संकलन भएको स्वच्छ सफा नेपालका श्रवणकुमार बस्नेतले जानकारी दिनुभयो ।

फोहोरको व्यवस्थापन बारे सचेतनासँगै सरसफाई कार्यक्रम गर्दा फोहोरको वर्गीकरण गरेर राख्न सिकाएको उहाँले बताउनुभयो । श्रोतबाट फोहोर व्यवस्थापन गर्न सकेमा ७० प्रतिशत फोहोर घरमै विभिन्न प्रयोजनमा ल्याउन सकिने र बाँकी ३० प्रतिशत फोहोरलाई डम्पिङ गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।

संकलित फोहोरलाई अलग अलगत ठाउँमा छुट्याएर उचित व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मेवारी प्रदान गरिएको सोसेक नेपालका कार्यक्रम संयोजक द्रोर्ण जिसीले बताउनुभयो । सरसफाई कार्यक्रम अभियानका रुपमा रहेको बताउँदै पर्यावरण जोगाउने सवालमा सबैको हातेमालो हुनु जरुरी रहेको घोराही ४ का वडा अध्यक्ष मधुसुदन शर्माले बताउनुभयो । बढ्दो प्रदुषणका कारण पृथ्वीमा नकारात्मक असर गरिरहेको हुँदा वातावरण जोगाउँदै पृथ्वी सुरक्षित राख्न हरेक नागरिकको आनीबानी सकारात्मक बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

Blog Post Ad

सरसफाई अभियानमा खटिनुभएकी स्थानीय सुनिता चौधरीले आफुहरुले सरसफाईसँगै यसको व्यवस्थापनका बारेमा सिकेको ज्ञानलाई भोलिका दिनबाट आफुले व्यवहारमा उतार्ने र समुदायमा पनि सबैलाई वातावरण जोगाउन प्रेरित गर्ने प्रतिवद्धता जनाउनुभयो । बराह टोल विकास संस्थाका अध्यक्ष हीतलाल भण्डारीले टोलबासीहरुलाई फोहोर व्यवस्थापनमा ध्यान दिन र वातावरण सुरक्षित बनाउने काममा आगामी दिनमा निरन्तर कार्यक्रम गरिने बताउनुभयो ।

मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय उपाध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थामा आवद्ध सदस्य, स्थानीयबासी, संस्थाका सदस्यलगायतको सहभागीता रहेको थियो । जुन ५ तारिखमा पर्ने विश्व वातावरण दिवसको अवसरमा अरु वडाहरुमा पनि सरसफाईसहित सचेतनामुलक कार्यक्रम गरिने मुक्त कमलरी विकास मञ्चकी कार्यक्रम संयोजक सुलोचना चौधरीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad