Ad Area

सीप सिकाउँदै आत्मनिर्भर बनाउने लक्ष्य


घोराही, २९ जेठ । मुक्त कमलरी तथा विपन्न महिलाहरुका लागि २ महिने आधारभूत सिलाई कटाई तालिम प्रदान गरिएको छ । सीप सिकाउँदै आत्मनिर्भर बनाउने उद्देश्यसहित लक्षित समुदायका महिलाहरुलाई आधारभूत सिलाई कटाई तालिम प्रदान गरिएको हो ।

मुक्त कमलरी विकास मञ्चको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा सो क्षेत्रमा बसोबास गर्दै आएका मुक्त कमलरी तथा विपन्न महिला गरी २० जनालाई दिईएको सिलाई कटाई सम्बन्धी तालिमबाट उनीहरु उत्साहित बनेका छन् । हिजोका दिनमा यत्तिकै समय व्यतित गरिरहेकाहरु दुई महिने आधारभूत सिलाई कटाई तालिम लिएर विभिन्न प्रकारका कपडा सिलाउन सक्ने भएका छन् । सिलाई कटाई सम्बन्धी तालिम लिएर छोटो अवधिमै आफुहरु धेरै प्रकारका कपडा सिलाउन सक्ने भएको प्रशिक्षार्थीहरुको भनाई छ ।

प्रशिक्षार्थी काजल चौधरीले छोटो समयमै हातमा सीप लिन पाउँदा आफु निकै उत्साहित भएको बताउनुभयो । खाली समय यत्तिकै खेर गईरहेको बेला समयको सदुपयोग गरेर सिलाई कटाई तालिम लिएर कपडा सिलाउने अवस्थामा आई पुग्नुभएकी अर्का प्रशिक्षार्थी गोमा सेन थापाले सिकेको सीपलाई भोलिका दिनमा व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनुभयो ।

अर्का शिवा पुरीले सीपको सही सदुपयोग गर्ने गरी भोलिका दिनमा व्यावसायिक रुपमा काम गर्ने योजना बनाएको बताउनुभयो । उहाँले छोटो अवधिको तालिमबाट धेरै कुरा जान्ने अवसर पाए पनि अब एडभान्स तालिम आयोजना गर्न माग गर्नुभयो । सहभागीहरुले अहिले आफुले नै सिलाएको कुर्ता सुरुवाल लगाउन थालेको छन् । उनीहरुले कुर्ता सुरुवाल, भोटो, थारु जातिका विभिन्न पहिरन, मेखलो, अम्रेला, पेटीकोट, डिजाईन अनुसारको ब्लाउज, कुर्ताहरुमा विभिन्न डिजाईन दिएर सिलाउन सक्ने भएका छन् ।

यसैबीच, दुई महिने सिलाई कटाई तालिम लिएकाहरुलाई प्रमाण पत्रसहित तालिम समापन गरिएको छ । मुक्त कमलरी विकास मञ्चकी जिल्ला सचिव अंगिता चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य एवम् वडा नम्बर २ का वडा अध्यक्ष चित्रबहादुर चौधरीको विशिष्ट आतिथ्यमा मंगलबार तालिमको समापन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डिसीले मुक्त कमलरी तथा विपन्न महिलाहरुको उत्थानका लागि स्थानीय सरकारले हातमा सीप दिँदै आम्तनिर्भर बनाउने अभियानले लागेको बताउनुभयो । हातमा सीपसँगै केही गर्नुपर्छ भन्ने आफुसँग जाँगर भए कोही पनि भोको बस्नु पर्ने अवस्था नआउने भन्दै लक्षित समुदायका महिलाहरुको उत्थान पालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले सिकेको सीपलाई भोलिका दिनमा आयआर्जनको माध्यम बनाउने गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

Blog Post Ad

वडा अध्यक्ष चौधरीले गाउँबस्तीका महिलाहरु सीप सिकेर केही गर्न सकुन् भनेर यस प्रकारका तालिम प्रदान गर्ने गरिएको बताउनुभयो । दुई महिने सिलाई कटाई तालिम लिएर हातमा सीप लिन पाएकाहरुले भोलिका दिनमा प्रगति गरेर देखाउन पनि सुझाव दिनुभयो ।

मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हीरामोती चौधरीले मुक्त कमलरीसँगै लक्षित समुदायका महिलाहरुको उत्थानमा संस्थाले निरन्तर पैरवी गर्दै आएको भन्दै यसबाट धेरैले जीवन बदल्दै गएको बताउनुभयो । संस्थाको अभियानमा स्थानीय सरकारको साथ, सहकार्य आगामीमा रहने विश्वास व्यक्त रहेको बताउनुभयो ।

वडा सदस्य टोपबहादुर डाँगीले वडाका महिलाहरुले छोटो अवधिमा सिकेको सीप निकै सराहनीय रहेको बताउनुभयो । तालिमको प्रशिक्षकमा बसन्ता पाण्डे रहनुभएको थियो । उहाँले सहभागीहरुले निकै रुची सिलाई कटाई तालिम लिएको भन्दै सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । समापन समारोहको सहजीकरण सामाजिक परिचालक सरीता चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad