Ad Area

जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : न्यु स्टार फुटबल एकेडेमीको दोश्रो जीत


घोराही, ९ असार । दाङमा जारी जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ मा न्यु स्टार फुटबल एकेडेमी नारायणपुरले दोश्रो जीत निकालेको छ । जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतवार बिहान बेलझुण्डी रंगशालामा भएको खेलमा न्यु स्टारले इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुरलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको दश मिनेटमा न्यु स्टार फुटबल एकेडेमीका खेलाडी जीवन शाहीले गरेको गोल निर्णायक भएपछि न्यु स्टार बिजयी भएको हो । बिजयी बनेसँगै न्यु स्टार फुटबल एकेडेमीले जारी जिल्लास्तरीय लिगमा ६ अंक जोड्न सफल भएको छ । समान तीन खेल खेलिसक्दा एक हार र दुई खेलमा न्यु स्टारले जित निकाल्न सफल भएको छ भने इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुर जीत विहिन रहेको छ ।

दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा भएको प्रतियोगिता असारको १९ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागी रहेका छन् । लिग कम नकाउटका आधारमा भइरहको प्रतियोगितामा समूह ‘ए’ मा युनाईटेड फुटबल क्लब तुलसीपुर, न्यू स्टार फुटबल एकेडेमी नारायणपुर, सक्सेस फुटबल क्लव तुलसीपुर, बडहरा फुटबल क्लब घोराही, एसएसएफए तुलसीपुर र इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुर रहेका छन् ।

समूह ‘बी’ मा नवलपुर फुटबल एकेडेमी घोराही, टाईगर युवा क्लब तुलसीपुर, युएनबिसी घोराही, किसान जागृत युवा क्लब घोराही, राप्ती फुटबल क्लब घोराही र लक्ष्य युबा क्लब तुलसीपुर रहेका छन् । लिगको बिजेता टिमले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ भने उपबिजेता टिमले नगद २५ हजार,मेडल, प्रमाणपत्र हात पार्नेछ ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad