Ad Area

सडक बिग्रदा सेवार खोलामा सवारीसाधन सञ्चालनमा समस्या


घोराही, १९ असार । दाङको घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा डाइभर्सन नहुँदा सवारी सञ्चालनमा समस्या हुने गरेको । पुल निर्माणका क्रममा सेवार खोलाको पिच सडक भत्काइएपनि डाइभर्सन नबनाउँदा बर्षादको समयमा सवारी सञ्चालनमा समस्या देखिएको हो ।

पुल निर्माणका क्रममा कालोपत्रे सडक भत्काएपनि बर्षादको समयमा खोलामा हुन सक्ने जोखिमलाई ध्यान नदिदा अहिले सवारी सञ्चालनमा समस्या भएको स्थानीय सुन्दर चौधरी बताउँनुहुन्छ । बर्षाद सुरुसँगै खोलामा आएको भेलले उक्त क्षेत्रमा माटो बगाएर खाडल बनाउँदा साना सवारी साधन चिप्लेर दुर्घटना हुने जोखिम बढाएको बताउँनुभयो । साना सवारी साधन स्कुटर,मोटरसाइकल,अटो, कारलगायतका सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ ।

पुल निर्माणका क्रममा बर्षादको समयमा खोलामा बग्ने पानीको निकासका लागि डाइभर्सन बनाइदिएको भए जोखिम कम हुने भन्दै चौधरीले भन्नुभयो,‘डाइभर्सन नहुँदा अहिले सेवारखोलामा ठुलो खाडल हुन पुगेको छ । खोला बढेको बेला साना सवारी साधन बगेर खाडलमा खस्ने जोखिम बढेको छ ।’ तीन वर्षभित्रमा पुल निर्माणको काम सक्ने गरी काम सुरु भएपनि निर्माण कम्पनीले यो बर्ष एउटा पिलर बनाएको छ । पिलर बनाउँदा खोलामा बाटो बिग्रिएर खाडल बन्दा अहिले सवारीसाधनहरु खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।  २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माणको काम सक्ने गरी २०८० साल वैशाख ३० गते रायमाझी निर्माण सेवा प्रालि काठमाडौँले पुल निर्माणको ठेक्का पाएको छ । चारलेनमा ७० मिटर लम्बाइ र २०.५ मिटर चौडाइको पुल निर्माण हुन थालेको पुल सेक्टर कार्यालय नेपालगंजले जनाएको छ ।

Blog Post Ad Blog Post Ad