Ad Area

लमहीमा पनि मुक्त कमलरी सशक्तीकरण परियोजना संचालन हुने


घोराही, २३ असार । मुक्त कमलरी विकास मञ्चले संचालन गर्दै आएको मुक्त कमलरी सशक्तीकरण परियोजना दाङका पालिकाहरुमा बिस्तार गरिएको छ । यसअघि घोराही उपमहानगरपालिकामा मात्रै संचालनमा रहेको परियोजना अब घोराहीसहित तुलसीपुर र लमहीमा पनि बिस्तार भएको आईतबार लमहीमा एक कार्यक्रम गरी जानकारी गराईएको छ ।

मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हीरामोती चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा मुक्त कमलरी विकास मञ्चले संचालन गर्दै आएको परियोजना र थप भएको परियोजना बारे जानकारीसहित पालिका स्तरीय परियोजना सल्लाहकार समिति समेत गठन गरिएको छ ।

संस्थाका अनुसार, अब लमहीको वडा नम्बर ३, ४ र ८ मा पनि मुक्त कमलरी सशक्तीकरण परियोजना संचालन हुनेछ । ३ वटा वडामा १५ वटा समुह, ३ वटा युवा क्लब गठन गरेर कार्यक्रम संचालन गरिने भएको छ ।

मुक्त कमलरी विकास मञ्चसँगको सहकार्यमा लक्षित समुदायको उत्थानका लागि आइएम स्वीडिस डेभलपमेन्टसँगै प्राविधिक तथा अन्य सहयोग र सहकार्यका लागि ४ वटा साझेदार संस्थाहरु पनि जोडिएको जानकारी गराइएको छ ।

मुक्त कमलरीसहित पिछडिएको समुदायका लागि आर्थिक तथा सामाजिक विकासका लागि ती वडाहरूमा काम हुनेछ । मुक्त कमलरीहरूको आयआर्जन सुधारका लागि विभिन्न आयमूलक तालिम, नीति निर्माण तहमा सहयोगलगायत कार्यक्रम हुने संस्थाकी कार्यक्रम संयोजक सुलोचना चौधरीले जानकारी दिनुभयो । सन् २०२८ सम्म चल्ने परियोजनाको वार्षिक रुपमा अध्ययन मुल्यांकन पनि हुने उहाँले बताउनुभयो ।
परियोजना लागू हुने वडाहरुमा शिक्षा, स्वास्थ्य, वातावरण, कानूनी सचेतना, लैंगिक समानता, उद्यमशीलतासँगै सीप क्षमता र नेतृत्व विकासको काम गर्ने बताईएको छ ।

नगरप्रमुख चौधरीले लक्षित समुदायलाई प्राथमिकतामा राखेर काम गर्दा उनीहरुको जीवन स्तर सुधारमा टेवा पुग्ने बताउनुभयो । सामाजिक संघसंस्थाको साथ र सहकार्यबाट मात्रै हरेक क्षेत्रमा विकास र समृद्धि सम्भव रहेको बताउँदै उहाँले मुक्त कमलरी विकास मञ्चले लमहीका ३ वटा वडामा कार्यक्रम बिस्तार गर्नु पालिकाका लागि खुशीको कुरा भएको बताउनुभयो ।

Blog Post Ad

कार्यक्रममा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले मुक्त कमलरी, बालबालिका, सिमान्तकृत वर्गको पक्षमा परियोजनाले काम गर्ने हुँदा यो विषय पालिकाको लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो । अपेक्षित लक्ष्य र उद्देश्य पूरा गर्न परियोजनाको कामलाई पालिकाले सघाउने उहाँको भनाई थियो ।

वडा नम्बर ४ का वडा सदस्य उमाकान्त चौधरीले लक्षित समुदायको उत्थानका लागि लागुृ हुन लागेको परियोजनालाई वडाबाट साथ र सहकार्य रहने बताउनुभयो ।

यसैबीच, लमहीमा मुक्त कमलरी सशक्तीकरण परियोजनाको संचालन, अनुगमनका लागि उपप्रमुख लक्ष्मी योगीको संयोजकत्वमा पालिका स्तरीय परियोजना सल्लाहकार समिति गठन गरिएको छ । जसको सदस्यमा पालिकाका कृषि, पशु, सहकारी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा वातावरण, स्वास्थ्य शाखा प्रमुख, वडाका जनप्रतिनिधि, मुक्त कमलरी विकास मञ्च रहेका छन् भने आमन्त्रितमा नगर प्रमुखलाई राखिएको छ ।

यसअघि घोराहीको वडा नम्बर २, ४ र ८ मा मुक्त कमलरी सशक्तीकरण परियोजना संचालन हुँदै आएकोमा अब वडा नम्बर १२ पनि थपिएको छ । यसैगरी, तुलसीपुर उपमहानगरपालिका पनि यो परियोजना लागू गरिएको छ । तुलसीपुरको वडा नम्बर १५, १६ र १८ मा परियोजना लागू भएको छ । कार्यक्रमको सहजीकरण मुक्त कमलरी विकास मञ्चकी परियोजना संयोजक शुलोचना चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad