Ad Area

मुक्त कमलरी छात्राहरुलाई छात्रावासबाट सुरक्षित स्थानान्तरण गर्ने तयारी


घोराही, २३ असार । लमही नगरपालिका १ नर्तीस्थित लावाजुनी छात्रावासमा बसेर अध्ययन गर्दै आएका मुक्त कमलरी छात्राहरुको वैकल्पिक व्यवस्थापनसहित पुुनर्स्थापना गरिने भएको छ । लमही नगरपालिकामा आईतबार भएको छलफल तथा अन्तरक्रियाले हाल लावाजुनी छात्रावासमा बस्दै आएका मुक्त कमलरी छात्राहरुको बसाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र उनीहरुको गास, बास, कपाससहित पुुनर्स्थापनाको ग्यारेन्टी गर्ने निर्णय भएको छ ।

मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हीरामोती चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्य एवम् उपप्रमुख लक्ष्मी योगी, वडाका वडा अध्यक्ष, सूर्य विनायक माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, छात्राबासमा बस्दै आएका मुक्त कमलरी छात्राहरु लगायतको उपस्थितीमा भएको छलफल तथा अन्तरक्रियाले विद्यमान अवस्थालाई ध्यानमा राखेर छात्राहरुलाई अधिकतम लाभ हुने गरी लमही नगरपालिकाको अभिभावकत्व रहने गरी वैकल्पिक व्यवस्थापनसहित पुुनर्स्थापना गरिने भएको हो ।

लमही १ नर्तीस्थित सूर्य विनायक माध्यमिक विद्यालय परिसरमा रहेको लावाजुनी छात्रावासमा लामो समयदेखि बस्दै आएका धेरै जसो मुक्त कमलरी छात्राहरु पढाई सकाएर तथा पेशा, व्यवसायमा आवद्ध भई सकेको अवस्थामा हाल १४ जना मात्रै छात्राबासमा बस्दै आएकाले उनीहरुको बसाई सुरक्षासहित उचित व्यवस्थापन आवश्यक महसुस गरेर सरोकार सबैको सहमतिमा अरु ठाउँमा स्थानान्तरणसहित पुुनर्स्थापनाको काम गर्ने प्रतिवद्धतासहित लिखित निर्णय भएको लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, मुक्त कमलरी छात्राहरुको सवालमा पालिका निकै गम्भीर रहेको हुँदा हाल छात्राबासमा छात्राको संख्या निकै कम रहेको र बसाईका क्रममा पनि विभिन्न खालका समस्या भईरहेको गुनासो आईरहेकाले पायक पर्ने उचित स्थानमा स्थानान्तरण गरी पालिकाको अभिभावकत्व रहने गरी काम गर्न थालिएको छ ।

छात्राबासमा रहेर अध्ययनरत मुक्त कमलरीहरुलाई उचित ठाउँमा व्यवस्थापन गर्न लमही नगरपालिकाको नेतृत्वमा मुक्त कमलरी विकास मञ्च, सम्बन्धित वडा कार्यालय, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, छात्राबासमा बस्दै आएका मुक्त कमलरी छात्राहरुको टोलीले वैकल्पिक ठाउँको खोजी गर्न तत्काल अध्ययन, अनुगमन गर्ने भएको छ ।

Blog Post Ad

यसैगरी, छात्राबासमा बस्दै आएका छात्राहरुको सुरक्षित आवासको सुनिश्चितता भएपश्चात मात्रै छात्राहरुलाई लमही नगरपालिकाको रोहबरमा सम्बन्धित ठाउँमा स्थानमा स्थानान्तरण गरिने भएको छ । छात्राबासमा रहने मुक्त कमलरी छात्राहरुको भरणपोषण, छात्रवृत्ति, सुरक्षित बासको ग्यारेन्टी हुने गरी बजेट तथा कार्यक्रम सुनिश्चितताको सम्झौता गरिने भएको छ ।

यसैगरी, लमही नगरपालिका बाहेकका मुक्त कमलरी छात्राहरुको सवालमा अरु पालिकाहरुसँग आवश्यक समन्वय र सहकार्य गर्ने गरी लमहीले नै अभिभावकत्व ग्रहण गर्ने निर्णय भएको छ ।

यसका साथै मुक्त कमलरीहरुको सवालमा विद्यमान समस्यालाई ध्यानमा राखेर आर्थिक स्तर कमजोर भएकाहरुलाई आर्थिक स्तर सुधारका लागि विभिन्न सीप, तालिम, बिउ पूँजीको व्यवस्था पालिकाले गर्ने, पालिकामा रहेका दक्ष मुक्त कमलरीहरुको योग्यता र क्षमता अनुसारको रोजगारीको सुनिश्चितता गर्ने, भूूमिहीन मुक्त कमलरी परिवारका सदस्यहरुलाई ऐलानी तथा नापजाँच नभएको जग्गा नाँपजाँच गरेर लालपूर्जाको व्यवस्थाका लागि सिफारिस गर्ने लगायत निर्णय भएको उहाँले बताउनुभयो ।

सूर्य विनायक माविमा सिटीईभीटीको कार्यक्रम ल्याउने तयारी भएको हुँदा हाल छात्राबासका अधिकांश कोठा प्रयोग बिहीन जस्तै रहेको र मुक्त कमलरी छात्राहरुको बसाई पनि असहज बन्दै गएको हुँदा सबैलाई सहज हुने गरी प्रकृया अघि बढाउन लागिएको उहाँले बताउनुभयो ।

‘मुक्त कमलरी छात्राहरु विशेष खालका हुन् । उनीहरुको सवालमा हामी निकै गम्भीर छौँ । त्यसैले अब नयाँ विकल्प दिएर उनीहरुको उत्थान पनि हुने अनि विद्यालयमा सिटीईभीटी पनि ल्याउन सकिने गरी अघि बढ्न खोजेको हो । यो हाम्रो दबावले होईन, छात्राहरुको अनुमति लिएर, वडा अध्यक्ष, मुक्त कमलरी विकास मञ्चको सहकार्यका हुन थालेको हो’, उपप्रमुख योगीले भन्नुभयो ‘छात्राहरुले हाम्रो पनि अभिभावक छ, त्यो लमही नगरपालिका हो भन्ने बुझिदिनुहोला, हामी उहाँहरुको सवालमा सक्दो लागि परेका छौँ । यसो गर्दा रोजगारीसहित पढाई र सुरक्षित बसाई पनि हुने छ ।’

छलफल तथा अन्तरक्रियामा नगर प्रमुख चौधरीले मुक्त कमलरी छात्राहरुको समस्याको निकास दिन पालिका सदैव तत्पर रहेको बताउनुभयो । दासताबाट मुक्तिको सास फेर्ने अवसर पाएका छात्राहरुलाई शिक्षादिक्षामा पालिकाले कुनै कसर बाँकी नराख्ने उहाँको भनाई थियो ।

कार्यक्रममा सूर्य विनायक माविका प्रधानाध्यापक रामबहादुर केसीले सानैबाट विद्यालयमा पढेका मुक्त कमलरी छात्राहरुको उज्ववल भविष्य कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने बारे विद्यालय गम्भीर रहेको बताउनुभयो । लामो समय एकै ठाउँमा बसेर बढ्दा भावना जोडिनु एउटा पक्ष भएपनि छात्रावासको वैकल्पिक व्यवस्था गरेर उनीहरुको उचित व्यवस्थापनसहित काम गर्न सके सबैको हीत हुने बताउनुभयो ।

सो अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज चौधरी, वडा नम्बर ४ का वडा सदस्य उमाकान्त चौधरी, मुक्त कमलरी गीता चौधरी, सम्झना चौधरी, गीतारानी चौधरीलगायत बोल्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad