Ad Area

घोराहीमा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप हुने


घोराही, २४ असार । दाङको घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । घोराही नगर हाप्कडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहयोगमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको हो ।

आयोजक घोराही नगर हाप्कडो संघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर आउने साउनको १८ र १९ गते घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप गर्न थालेको जानकारी दिएको हो । जिल्लामा खेल खेलकुदलाई निरन्तर चलाएमानसँगै खेलाडीको क्षमता विकास, अनुभव र अवसर प्रदान गर्नका लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक तथा घोराही नगर हाप्कडो संघकी सचिव रुपाकुमारी बुढामगरले जानकारी दिनुभएको छ ।

सचिव बुढामगरका अनुसार घोराही नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिपमा घोराही नगरभित्र रहेका ३२ वटा स्कुल हाप्किडो डोजाङ टिमका चारदेखि पाँच सय खेलाडीको सहभागीता हुने छ । प्रतियोगितामा फाइटतर्फ महिला र पुरुष दुवैतर्फ १६–१६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा २०, २०–२४, २४–२८, २८–३२,३२–३६, ३६–४०, ४०–४४, ४४–४८,४८–५२, ५२–५६,५६–६०, ६०–६४, ६४–६८,६८–७२, ७२–७६ र ७६–८० तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै सेल्फ डिफेन्स÷डेमोष्ट्रेशन, हाईफल, लङफल र विपन टेक्निकमा फ्रि तौलमा पनि प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

दाङ जिल्ला हाप्किडो संघले जिल्लामा स्थानीयस्तरदेखि नै खेल क्षेत्रको विकास र खेलाडी उत्पादन र प्रतिभा पहिचान र संरक्षण गर्नका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको संघका अध्यक्ष महेश गुरुङले जानकारी दिनुभएको छ ।

घोराही नगर हाप्कडो संघकी सचिव रुपाकुमारी बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण घोराही नगर हाप्कडो संघका सचिव विशाल थापाले गरेका थिए ।

Blog Post Ad

 

 

Blog Post Ad Blog Post Ad