Ad Area

रोल्पामा मिनीट्रक दुर्घटना, चालकको मृत्यु


घोराही, २६  असार । रोल्पामा मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनीट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

तरकारी लिनका लागि गएको रा १ ख २१३१ नम्बर मिनीट्रक मंगलबार राती साढे ११ बजे गाडी फर्काउने क्रममा दुर्घटना हुँदा चालक महेश थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरी रोल्पाले जानकारी दिएको हो ।

मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका ६ निगालपानी निवासी अन्दाजी ३२/३३ वर्षीय महेश थापा रहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले बताए । रातीको समय भएको हुँदा के कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न नआएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राखिएको छ । मिनीट्रक सडकदेखि ५०\६० मिटर तल भिरमा अड्किएको र गाडी पूर्णरुपमा क्षति भएको इञ्चार्ज गैरेले बताए । दुर्घटनामा परी सोही स्याला निवासीका ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।

Blog Post Ad Blog Post Ad