Ad Area

नेपाल निजामती कर्मचारी संगठन दाङको बिस्तारित बैठक सम्पन्न


घोराही, २९ असार । नेपाल निजामती कर्मचारी संगठन दाङको बिस्तारित बैठक सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता तथा संगठनका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज गोकर्ण वलीको प्रमुख आतिथ्यमा शनिबार घोराहीमा बसेको बिस्तारित बैठकले विगत ३ आर्थिक वर्षमा भएका कामको समीक्षासहित आगामी आर्थिक वर्षको कार्य योजना पारित गरेको छ ।

यसैगरी संगठनले साउन १५ गते सहीद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । आगामी साउन, भदौ र असोजमा संगठन सुदृढीकरण अभियान चलाउने पनि आजको बैठकले निर्णय भएको संगठनका अध्यक्ष केसीले बताउनुभयो ।

बैठकमा प्रमुख अतिथि वलीले निजामती सेवालाई अझ विश्वसनीय, सरल र पारदर्शी बनाउन कर्मचारी संगठनमा आवद्ध सबै कर्मचारीहरुलाई आग्रह गर्नुभयो । पेशागत मर्यादालाई आत्मसात गरेर संगठनको गरिमा अझ माथि उठाउने काममा लाग्न उहाँको आग्रह थियो ।

अनिवार्य अवकाश हुनुभएका संगठनमा आवद्ध धनप्रसाद शर्मा र अग्नीकुमार न्यौपानेलाई सम्मानसहित विदाई गरिएको छ भने नयाँ सदस्यका रुपमा उदय वली र रमेश रेग्मीलाई स्वागत गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

कार्यक्रममा संगठनका सल्लाहकार सानुनारायण अधिकारी, पेशागत महासंघ दाङका अध्यक्ष खीमबहादुर डाँगी र सम्मानितहरुका तर्फबाट धनप्रसाद शर्मा बोल्नुभएको थियो । उपाध्यक्ष शिवराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव बाबुराम न्यौपानेले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad