Ad Area

भैँसीपालनबाट आत्मनिर्भर


रुकुमपूर्व, ३० असार । रुकुम (पूर्व) जिल्लाका प्रायः घरमा किसानले भैँसी पाल्दै आएका छन् । पुर्खाको पालादेखि सुरुवात भएको व्यवसाय अहिलेसम्म भैँसीपालन पेसा नै कायम छ । भैँसीपालनबाट घिउ, दुध र राँगा बिक्रीबाट घरपरिवारको आयस्रोत बनेको छ ।

भैँसीपालनबाट घिउ, दुध, र राँगा बिक्रीबाट आयस्रोत मात्र नभई खेतीपातीका लागि भैँसीको गोबरबाट मलको आपूर्ति हुने गरेकोे भूमे गाउँपालिका–३, झुम्लाबाङका लालबहादुर विकले बताउनुभयो । उहाँले सानाठुला गरेर तीन वटा पाडापाडी र दुई वटा माउ भैँसी पाल्नुभएको छ । अहिले दुई वटा भैँसीबाट दैनिक पाँच लिटरभन्दा बढी दुध हुने गरेको छ । विकले भन्नुभयो, “मुख्य पेसा नै भैँसीपालन हो । पाडापाडी करिब तीन वर्ष पालेपछि पाडापाडीबाट ५० हजार रुपियाँ मूल्य जाने गरेको छ, राम्रो आम्दानीको स्रोत बनेको छ ।”

पाडापाडी बेचेर आम्दानी भएको पैसाले लत्ताकपडा र दाल चामल सबै घरखर्च चलाउने गरिएको अर्का स्थानीय विष्णु बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो परिवारको रोजगारी भनेको भैँसीपालन हो ।” अझै पहिले त झन् भैँसीको घिउ विगतमा बजार जाने व्रmममा दाङ, नेपालगन्ज, कोइलाबाससम्म बिक्री गर्न जाने गरिएको बुढाले बताउनुभयो । सहरदेखि घिउ बेचेर नुन र घरपरिवारमा आवश्यक पर्ने सरसामान किनेर ल्याउने गर्ने गरिएको बुढाले बताउनुभयो । यस्तै भुमे–३, सीमाको रनु सुनारले चार वटा माउ भैँसी र दुई वटा पाडापाडी बुकी लग्नुभएको छ ।

चार महिनाको बसाइ पछि दसैँतिहार मान्न गाउँ फर्किने गरिएको उहाँले बताउनुभयो । चार महिनामा लगभग सुनारले १० किलो भन्दा बढी घिउ बुकीबाट जम्मा गरेर ल्याउने गर्नुहुन्छ । पशुपालनका लागि कृषकलाई विभिन्न प्रोत्साहन कार्यक्रममार्फत सहयोग गर्ने गरिएको भुमे गाउँपालिका पशु शाखा केन्द्रका नायब प्राविधिक सहायक नारायण ओलीले जानकारी दिनुभयो । पशुपालक किसानलाई आफ्नै घरआँगनमा गएर तालिम दिने गरिएका ओलीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad