Ad Area

बिपदको असर : खोलापारि विद्यालय, वारि पढाइ


घोराही, ३० असार । वर्षासँगै बढेको शिरखोलाले घोराही उपमहानगरपालिका–१२ मा रहेको श्री प्राथमिक विद्यालय हापुर पेदा जोखिममा परेको छ । हापुर खोलाले धार परिवर्तन गरेर विद्यालय क्षेत्रतिर गएकाले कतिबेला विद्यालय बाढीले बगाउने भन्ने चिन्ता थपिएको छ ।

तटबन्धन नहुँदा खोलाले धार परिवर्तन गरी खोला विद्यालयनजिकै पुगेकाले विद्यालय क्षेत्र कतिबेला बगरमा परिणत हुने हो भन्ने चिन्ता शिक्षक विद्यार्थीमा थपिएको छ । भौगोलिक रूपमा विकट रहेको प्राथमिक विद्यालय पेदामा सिमलखुटी, कालतारा, पेदालगायतका गाउँका बालबालिकाले शिशु कक्षादेखि ५ सम्म अध्ययन गर्ने गरेका छन् ।

वर्षाले विद्यालयको भवन भत्काउनका साथै शिरखोलामा आएको बाढीले जग्गा कटान गरेपछि प्राथमिक विद्यालय हापुर पेदा जोखिममा परेको हो । खोलाका कारण विद्यालय भवन जोखिममा पर्नका साथै तीनकोठे घर भत्किएपछि विद्यार्थीलाई पढाउन समस्यामा भएको विद्यालयका प्रधानाध्यापक हेमराज थापा बताउनुहुन्छ । विद्यालयको भवन भत्किएपछि पढाउनका लागि समस्या भएको भन्दै प्रधानाध्यापक थापाले भन्नुभयो, “विद्यार्थी पढाउनका लागि दुई वटा भवनमा पाँच वटा कोठा थिए, त्यहीमा शिशु कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई राखेर पढाउने गरेका थियाँै तर भवन भत्काएपछि विद्यार्थीलाई राख्ने कोठा अभाव भएको छ ।”

विद्यालयमा भवन अभावसँगै बर्खाको समय खोला बढेर जान नसक्ने भएपछि गाउँमै खाली घर खोजेर पढाउन थालेको प्रधानाध्यापक थापाले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा परीक्षा चलेको समयमा विद्यालयको भवन भत्किनुका साथै खोला बढेर ससाना बालबालिका जान नसक्ने भएपछि गाउँमै खोली घर खोजेर बोरा बिछ्याएर विद्यार्थीलाई परीक्षा गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर गाउँमा पढाइको व्यवस्था मिलाएको भन्दै प्रधानाध्यापक थापाले भन्नुभयो, “विद्यालय आउन सक्नेले विद्यालयमा र जान नसक्नेले गाउँमै विद्यार्थीलाई राखेर विद्यालय सञ्चालन गरेका छौँ ।” एउटै विद्यालयका विद्यार्थीलाई दुई ठाउँमा राखेर पढाउँदा पढाउन समस्या हुने गरेको छ । विद्यालयका प्रअका अनुसार विद्यालयमा शिशु कक्षादेखि ५ कक्षासम्म ४७ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयको भवन भत्किएको र जग्गा कटानको बारेमा वडा कार्यालयसँगै घोराही उपमहानगरपालिकामा जानकारी गराएपनि हेर्दिन समेत कोही नआएको स्थानीयको गुनासो रहेको छ ।

Blog Post Ad

पाँच वर्षमा पनि बनेन भवन

विद्यालयमा कक्षाकोठाको अभाव भएपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७र७८ मा चारकोठे भवनका लागि १८ लाख रुपियाँ विनियोजन भएको थियो । त्यही रुपियाँबाट जग्गा खन्नेदेखि पिल्लर उठाएर ढलानसम्म गर्ने काम भयो ।

तर त्यसपछि उक्त विद्यालयमा बजेट नपर्दा अहिलेसम्म भवन निर्माणको काम पूरा हुन नसकेको प्रधानाध्यापक थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अधुरो भवन पूरा गर्नका लागि पटक पटक स्थानीय सरकारदेखि जनप्रतिनिधिलाई भन्यौँ तर विद्यालयको भवनमा कसैको नजर परेन । जसले गर्दा बनाउन सुरु गरेको पाँच वर्ष बितिसक्दासमेत भवन निर्माणको काम पूरा हुन सकेको छैन ।”

विकटमा रहेको विद्यालय प्राथमिकतामा विद्यार्थी समस्यामा परेको भन्दै उहाँले भन्नुभयो, “लामोसमम्म बजेट नपर्दा एकातिर विद्यालय भवन बन्न सकेको छैन भने अर्कातिर विद्यार्थीलाई पढाउन समस्या छ ।” अहिले  बर्ष दुई लाख रुपियाँ परेको भन्ने सुनेकाले भवन बन्छ कि भन्ने आशा पलाएको बताउनुहुन्छ ।

झोलुङ्गे पुलको आवश्यकता

बर्खाको समयमा विद्यार्थीलाई पढ्न जानसँगै स्थानीयलाई हिँडडुल गर्न समस्या हुने भएकाले शिरखोलामा झोलुङ्गे पुलको माग स्थानीयले गरेका छन् । त्यही आवश्यकता विगत दुई दशकदेखि स्थानीयले नेतादेखि जनप्रतिनिधिसम्मलाई राख्दै आएका छन् ।

राजनीतिक दलका नेताहरूले आफूले निर्वाचन जितेपछि झोलुङ्गे पुलको व्यवस्था गर्नेसम्म प्रतिबद्धता गर्ने गरेका छन् तर निर्वाचन जितेपछि गाउँमा फर्किएर नेता नआउने गरेको विद्यालयकी शिक्षिकासमेत रहनुभएकी स्थानीय सावित्रा घर्ती बताउनुहुन्छ ।

नेता र जनप्रतिनिधिले बेवास्ता गर्दा स्थानीयले बर्र्खाको समयमा दुःख पाउने गरेको भन्दै घर्तीले भन्नुभयो, “खोलामा झोलुङ्गे पुल र तटबन्धन गरेको भए अहिले न विद्यार्थीलाई पढ्ने समस्या हुन्थ्यो न जग्गा कटान हुन्थ्यो ।” खोलामा पुलसँगै तटबन्धन नहुँदा बर्सेनि खोलाले खेती विद्यालयको जग्गासँगै स्थानीयको खेतीयोग्य जमिन कटान गर्दै आएको घर्ती बताउनुहुन्छ तर जनप्रतिनिधिले भने पहल गरे पनि बजेट नआउँदा खोलामा झोलुङ्गे फुल र तटबन्धन हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “खोलाले दुवैतिर काटेको छ, एकातिर विद्यालयको भवन जोखिममा छ । अर्काेतिर जग्गा कटानसँगै एउटा घर भत्काइसक्यो ।”

Blog Post Ad Blog Post Ad