Ad Area

चारलेन सडक बिस्तार ढिलाई प्रति नागरिक समाजको गम्भीर ध्यानाकर्षण


घोराही, ७ साउन । घोराही–तुलसीपुर जोड्ने चारलेन सडक बनाउने नाममा लामो समयदेखि सडक अलपत्र पर्दा मानवीय तथा भौतिक क्षति बढी रहेको प्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका जिल्ला संयोजक नीमबहादुर थापाको अध्यक्षतामा सोमबार घोराहीमा बसेको नियमित बैठकले चारलेन सडक बिस्तार कार्य अहिले अलपत्रको अवस्थामा पुग्दा सवारी दुर्घटना बढ्नुका साथै मानवीय क्षति बढेको प्रति सरोकार निकाय मुकदर्शक भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।

२०७५ भदौमा सडक बिस्तार गर्ने भन्दै शिलान्यास भएको ६ वर्षको अवधिमा सडकको दायाँबायाँ किनारा कटान गरी सडक साँघुरो बन्नुका साथै धरापको अवस्थामा पुग्दा दुर्घटनामा परी ५० जना जति नागरिकले अनाहकमा ज्यान गुमाउनुका साथै भौतिक क्षति प्रति गम्भीर बन्न समाजले सरोकार निकायको ध्यानकर्षण गराएको छ ।

काम सक्ने बेलामा काम नभए पछि सडक ठेक्का रद्द भएको हुँदा अबिलम्ब नयाँ ठेक्का प्रकया अघि बढाउँदै निर्धारित समय भित्र नक्सा डिजाईन गरी लागत अनुसारको काम सम्पन्न गर्न ध्यानाकर्षण समेत गराएको छ ।

यसैगरी, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको रजिष्ट्रार निलम्बन लगायत पटक–पटकको तालाबन्दी जस्ता अशोभनीय कार्य प्रति समाजले ध्यानकर्षण भएको जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ बमोजिम कुलपतिबाट तत्काल उच्च स्तरीय अधिकार सम्पन्न जाँचबुझ समिति गठन गरी स्थायी रुपमा समस्याको समाधान निकाल्न समेत नागरिक समाजले अपिल गरेको छ ।

Blog Post Ad

यसैगरी, विद्यालय बढ्दै गरेका विद्यार्थीहरु लागुपदार्थ दुव्र्यसनमा संलग्न हुने क्रम बढ्दै गएको पाईएकाले यस विषयमा सबै पक्ष गम्भीर बन्नुपर्ने अवस्था आएको समाजले ठहर गरेको छ ।

भोलिको युवा शक्ति तथा देशको कर्णधार भनिएका विद्यार्थीहरुलाई लागुपदार्थको दुव्र्यसनको दलदलबाट मुक्त गर्न स्थानीय सरकार, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिलगायत समाजका सबै पक्ष जिम्मेवार हुन तथा प्रभावकारी अनुगमनमा ध्यान दिन ध्यानाकर्षण गराएको छ ।

हालै प्रकाशित एसईईको नतिजामा सामुदायिक विद्यालयको नतिजा निकै खस्किएको हुँदा नेपालको संविधानले प्रत्याभूत गरेको निशुल्क शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन, शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सरोकार निकायको ध्यानाकर्षण गराएको छ । यसैगरी, शैक्षिक वातावरण निर्माणका लागि सरोकार निकायको सहभागितामा वृहत अन्तरक्रिया गर्ने निर्णयसमेत भएको नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

समाजले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबानमा परी ज्यान गुमाएका तथा असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालस्थित त्रिसुली नदीमा दुई वटा बस दुर्घटनामा परी दिवंगत हुनु भएकाहरु प्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । साथै अहिलेसम्म नभेटिनु भएकाहरुको खोजी कार्य छिटो गरी दिन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

सो अवसरमा समाजका सदस्यहरुले सार्वजनिक सेवा प्रदायक निकायहरुमा देखा परेका विभिन्न समस्याहरुका बारेमा धारणा राख्नुभएको थियो । जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, विपदजन्य विषयमा समेत वृहत छलफल भएको समाजका सचिव श्रेष्ठले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad