Ad Area

घोराहीमा नगर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिप सुरु


घोराही, १८ साउन । दाङको घोराहीमा नगर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ शुक्रवारदेखि सुरु भएको छ । घोराही नगर हाप्कडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहयोगमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप सुरु भएको हो ।

जिल्लामा खेलकुदलाई निरन्तर चलाएमानसँगै खेलाडीको क्षमता विकास गर्ने उद्देश्यले दुई दिने नगर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिप सुरु भएको छ ।

घोराही नगर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिपमा घोराही नगरभित्र रहेका ३२ वटा स्कुल हाप्किडो डोजाङका चार बढी खेलाडीको सहभागीता रहेको दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष महेश गुरुङले जानकारी दिएका छन् । अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ १६–१६ वटा तौल समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

खेलाडीले प्रतियोगितामा प्लस २०, २०–२४, २४–२८, २८–३२,३२–३६, ३६–४०, ४०–४४, ४४–४८,४८–५२, ५२–५६,५६–६०, ६०–६४, ६४–६८,६८–७२, ७२–७६ र ७६–८० तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै सेल्फ डिफेन्स÷डेमोष्ट्रेशन, हाईफल, लङफल र विपन टेक्निकमा फ्रि तौलमा पनि प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

घोराही नगर हाप्कडो संघकी सचिव रुपाकुमारी बुढामगरको अध्यक्षतामा भएको च्याम्पियनसिपको दाङ जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष बिवेक श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले खेलकुद क्षेत्रको विकासका लागि राज्यले खेलकुदका गतिविधिसँगै पूर्वाधार विकासमा लगानी गर्न आवश्यक रहेको बताए ।

राष्ट्रको गहनाका रुपमा रहेको खेलकुद क्षेत्रको विकासले देशको पहिचानसँगै खेलाडीले व्यक्तिगत रुपमा मान सम्मान पाउने भन्दै त्यसका लागि खेलाडीहरुले समेत मेहनत गर्न आवश्यक रहेको बताएका हुन । खेलकुद क्षेत्रमा रहेको अनुशासनलाई व्यक्तिगत जीवनमा लागु गर्न सके सफलता प्राप्त गर्न सकिने भन्दै प्रमुख अतिथि श्रेष्ठले जिल्लामा हाप्किडो खेलको विकासका लागि पहल गर्ने बताएका थिए ।

Blog Post Ad

प्रतियोगिताको उद्घाटन कार्यक्रममा गोरखा पव्लिक सेकेण्डरी स्कुलका प्रधानाध्यापक मानसिंह घर्ती, खेलकुद महासंघ दाङका अध्यक्ष अभिषेक बुढालगायतको मन्तव्य व्यक्त गरेका थिए ।
दाङ जिल्ला हाप्किडो संघले जिल्लामा स्थानीयस्तरदेखि नै खेल क्षेत्रको विकास र खेलाडी उत्पादन र प्रतिभा पहिचान र संरक्षण गर्नका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको संघका अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।

प्रतियोगिता साउनको १८ र १९ गते दुई दिन चल्नेछ । गोरखा डोजाङका प्रमुख प्रशिक्षक बिशाल थापाको स्वागत मन्तव्यवाट सुरु भएको प्रतियोगिताको सहजीकरण नुवकोट जिल्ला हाप्किडो संघका सचिव तथा लमजुङ्ग जिल्ला हाप्किडो संघका प्रमुख प्रशिक्षक समिर गुरुङले गरेका थिए ।

Blog Post Ad Blog Post Ad