Ad Area

वैदेशिक रोजगारी : एक वर्षमा दाङका ४८ जनाको मृत्यु


घोराही, २३ साउन । घोराही उपमहानगरपालिका–१६ सुन्दर टोल निवासी तुलाराम थापा तीन वर्षअघि वैदेशिक रोजगारीका क्रममा मलेसिया जानुभएको थियो । विदेशमा गएर पैसा कमाएर कमजोर घरको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले जानुभएका थापा २०८० माघको २६ गते सडक दुर्घटनामा परेर बित्नुभयो ।

घोराही उपमहानगरपालिका–१२ अवलधारा निवासी दिले वली बैदेशिक रोजगारीका क्रममा दुबई जानुभएको थियो । करिव चार वर्ष बैदेशिक रोजगारमा बसेर २०८० माघको १२ गते घर फर्किनुभएका वलीको केही समयपछि घरमै मृत्युभयो । घरका लागि आर्थिक जोहो गर्ने श्रीमानको मृत्यु भएपछि घर व्यवहार चलाउनसँगै बालबालिकालाई पठनपाठन गराउन समस्या भएको श्रीमती रामकली वली बताउनुहुन्छ ।

घोराही उपमहानगरपालिका–९ तेघरा निवासी शरदलाल चौधरी बैदेशिक रोजगारीका क्रममा दुबई जानुभयो । वैदेशिक रोजगारीका क्रममा दुई वर्षअघि दुई पुग्नुभएका चौधरीको २०८० असार महिनामा दुबईमा मृत्यु भएको सुरक्षित आप्रवासन सामी कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा सञ्चालित सुचना परामर्शकर्ता रीता लामाले जानकारी दिनुभएको छ ।

सूचना परामर्शकर्ता लामाका अनुसार आर्थिक वर्ष २०८०⁄०८१ मा दाङबाट वैदेशिक रोजगारीमा जानुभएका ४८ जनाको मृत्यु भएको छ । जसमा ४७ जना पुरुष र एक जना महिला रहनुभएको छ । परामर्शकर्ता लामाका अनुसार मृत्यु भएकामध्ये घोराही उपमहानगरपालिका निवासी १६ जना, तुलसीपुर उपमहानगरपालिका निवासी १२ जना, लमही नगरपालिका र बबई गाउँपालिका निवासी तीनतीन जना, शान्तिनगर गाउँपालिका निवासी दुई जना, दंगीशरण गाउँपालिका र राजपुर गाउँपालिका निवासी एकएक जना र दाङमा बसोवास गर्ने तर ठेगाना अन्य जिल्ला भएका दश जना छन् ।

मृत्युमा खाडी मुलक दुबई, मलेसिया, कुबेत, ओमनसँगै जापान लगायतका युरोपियन देशहरु रहेका छन् । उहाँका अनुसार बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई एक वर्षको अवधिमा चार करोड २४ लाख आठ सय ३३ रुपियाँ आर्थिक सहायता प्रदान गरिएको छ ।

पीडित परिवारले दिनुभएको निवेदनका आधारमा सामी कार्यक्रमले समन्वय गरेर बैदेशिक रोजगार विभागबाट आर्थिक सहायता प्रदान गरिएको बताउनुभएको छ ।

Blog Post Ad

सूचना परामर्शकर्ता लामाले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयअन्तर्ग रहेको सुरक्षित आप्रवासन सामी कार्यक्रमले बैदेशिक रोजगारीमा जानेलाई परामर्शसँगै विदेशमा पुगेर मृत्यु, अंगभंग, बेपत्ता भएका वा ठगीमा परेका पीडित परिवारका लागि सहायताको काम गर्दै आएको छ ।”

सूचना परामर्शकर्ताका अनुसार एक बर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुग्नुभएका १४ जना बिरामी तथा अंगभंग हुनुभएको छ । काम गरिरहेको समयसँगै कम्पनीबाट घर क्रममा दुर्घटनामा परेर तुलसीपुर उपमहानगरपालिका निवासी सात जना, घोराही उपमहानगरपालिका निवासी ५ जना, राजपुर गाउँपालिका र गढवा गाउँपालिका निवासी एकएक जना छन् । बिरामी तथा अंगभंग हुनेमा दुईजना महिला र १२ जना पुरुष छन् ।

Blog Post Ad Blog Post Ad