Ad Area

आज नागपञ्चमी पर्व मनाइँदै


काठमाडौं,२५ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ । पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मानिन्छ ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसंग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थंकरहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

 

Blog Post Ad
Blog Post Ad Blog Post Ad