Ad Area

सुन्दरताले भरिभराउ कमलदह


जयमान बुढामगर
रुकुमपूर्व, साउन २९ गते । पर्यापर्यटनको आकर्षक केन्द्रको रूपमा परिचित रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोटमा अवस्थित कमल दहमा कमल फुल्न थालेको छ । कमलदहमा रहेको कमल फुल्न थालेपछि यहाँको सुन्दरता भरिभराउ भएको छ ।

कमल फुलेकाले यहाँको दृश्य निकै मनमोहक बनेको छ । जेठको पहिलो सातादेखि कमलको बोट पलाउन सुरु गर्छ । असार महिनासम्म दह छेउछाउको भाग हरियो बन्छ । साउन महिनादेखि कमल फुल्न सुरु गर्छ । फूलसँगै हरियाली भने कात्तिकसम्मै रहन्छ । कमल दहको पानी सफा र निलो छ । मुहान पनि नदेखिने, पानी पनि नबग्ने कमल दहको अनौठो विशेषता छ ।

सधैँ कञ्चन पानीको छाल अनि गृष्ममा फुल्ने कमलको मनमोहक आकर्षणले पर्यटकको मन लोभ्याउँछ । एक हजार सात सय वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको यो दहमा बाह्रै महिना ताल चरीहरू पौडिरहेका हुन्छन् । त्यसैले यो दह सदाबहार आकर्षणका रूपमा छ । कमलका जरा काँचै पनि खान सकिन्छ । यसलाई अचारको रूपमा पनि प्रयोग गरिन्छ ।

कमलको फूलदेखि जरासम्म सबै मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ । कमलका जरा नियमित सेवन गरेमा जन्डिस रोग निको हुने स्थानीयको भनाइ छ । कलमका जरा निकाल्नका लागि हरेक वर्ष चैत्र र वैशाख महिनामा गाउँपालिकाले टेन्डरमार्फत ठेक्का आह्वान गर्दछ । ठेकेदारले जरा निकाल्नका लागि निश्चित मापदण्ड तोकेअनुसार कमलका जरा निकाल्ने गरिन्छ ।

जिल्लाकै मुख्य पर्यटकीय स्थलको रूपमा रहेको कमल दहलाई संरक्षणमा गाउँपालिका, प्रदेश र सङ्घ सरकारले निकै चासो दिएको छ । दहको चारैतर्फ घेरावारका साथै बाटोमा आकर्षक ढुङ्गा बिछ्याउने काम गरिएको छ । ठाउँठाउँमा बस्नका लागि प्रतीक्षालय निर्माण र बेञ्च राखिएको छ । कमलदह हेर्न र अवलोकन गर्नेहरूको दैनिक भीड लाग्ने गरेको छ भने साँझ–बिहान दहका वरिपरि मनोरञ्जन लिनेहरूको जमघट हुने गरेको छ ।

 

Blog Post Ad
Blog Post Ad Blog Post Ad