Ad Area

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने


घोराही,३० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौको ४ गते विश्वासको मत लिने भएका छन् । भदौ ४ गते बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औँ बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन ।

प्रदेशसभाले बुधवार सुचना प्रकाशित गर्दै भदौ ४ गते दिउँसो १ बजे बैठक आह्वान गरेको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य साउन ७ गते नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

साउन ७ गते मुख्यमन्त्री बनेर ९ गते सपथ ग्रहण र पदभार ग्रहण गरेका मुख्यमन्त्री आचार्यले सरकारलाई अझै पूर्णता दिन भने सकेका छैनन् । एमाले र कांग्रेसबाट ४÷४ मन्त्री नियुक्त गरेपनि अझै ३ मन्त्रालय खाली रहेका छन् । सत्ता गठवन्धनका दुई दल एमाले र कांग्रेसबाट थप मन्त्री बनाउनु पर्ने दवाव मुख्यमन्त्री आचार्यलाई रहेको छ भने मुख्यमन्त्री आचार्य साना दलहरुलाई पनि सरकारमा सहभागी बनाएर अघि बढ्ने मनस्थीतिमा रहेका छन् ।

Blog Post Ad Blog Post Ad