Ad Area

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा तिज मिलन


घोराही, १४ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेका ज्येष्ठ नागरिकले आफ्ना अनुभव साटासाट गर्दै यो वर्षको तिज मिलन कार्यक्रम गरेका छन् ।

घोराहीको उत्साह टोलमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा शुक्रबार एक कार्यक्रम गरी ज्येष्ठ नागरिकहरुले मौलिक तिजका भाका गाउँदै नाचगान गरेका हुन् । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका संयोजक नारायणप्रसाद श्रेष्ठको अध्यक्षता तथा प्रमुख जिल्ला रामबन्धु सुवेदीको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी ज्येष्ठ नागरिकहरुले यो वर्षको तिज मिलन कार्यक्रम गरेका हुन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुवेदीले अग्रजहरुको दिनचर्या सहज बनाउन गरिएको प्रयास निकै सराहनीय रहेको बताउनुभयो । घोराही उपमहानगरले थालेको यो प्रयासले समाजमा रहनुभएका ज्येष्ठ नागरिकले दिवाकालीन समय सहज रुपमा व्यतित गर्न पाएको बताउनुभयो ।

ज्येष्ठ नागरिकको उचित हेरचाहमा स्थानीय सरकारसँगै घरपरिवारबाट पनि उचित वातावरण बनाउँदै स्याहार सुसारमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले अनुभव र इतिहासका साक्षी ज्येष्ठ नागरिकको सम्मान र हेरचाहमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाकी महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले राज्यले ज्येष्ठ नागरिकहरुलाई विशेष सम्मान र सहयोगलगायतको काम गदै आएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरुलाई सहजताका लागि प्रत्येक वडामा दिवा सेवा समेत स्थापना गरेको जानकारी गराउँदै यसबाट प्रत्येक ज्येष्ठ नागरिकले सहज रुपमा समय व्यतित गर्न र रेखदेखमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।

Blog Post Ad

यसैगरी, नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्तले प्रत्येक ज्येष्ठ नागरिकको मुहारमा खुशी ल्याउन घरपरिवार, आफन्त र राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा निर्माण व्यवसायी संघ दाङका अध्यक्ष प्रविणकुमार भण्डारीले ज्येष्ठ नागरिकहरु अनुभवका खानी भएको हुँदा उहाँहरुको ज्ञान, सीप र विचारलाई सदुपयोग गर्न निकै आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा केन्द्रले संस्थागत योगदान गरेका भन्दै ४ जनालाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा काठमाडौ निवासी माधव भट्टराई, निर्माण व्यवसायी प्रविणकुमार भण्डारी, केन्द्रका सदस्यहरु केशरादेवी अधिकारी र उत्तरकुमार न्यौपाने रहनुभएको छ । केन्द्रका सदस्य पद्मप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाकी सचिव पार्वती रानाले गर्नुभएको थियो ।

सो केन्द्रमा वडा नम्बर १५ का ५० बढी ज्येष्ठ नागरिक दैनिक रुपमा भेला भई भजनकीर्तन गर्ने काम गर्दै आउनुभएको छ । २०७५ सालमा स्थापित उक्त दिवा सेवा केन्द्र घोराहीको सबैभन्दा पहिले स्थापित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र हो ।

Blog Post Ad Blog Post Ad