Ad Area

पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशालाई ऐतिहासिक कास्य पदक


घाेराही, १५ भदौ । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी छिन्।

के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार भएको प्रतिस्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै पलेशाले कास्य पदक जितेकी हुन् । योसँगै पारा ओलम्पिक्समा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन्।

सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०–८ ले पराजित भएकी थिइन् ।

उनले क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारा ओलम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण जितेकी थिइन् ।

पलेशा छनोट चरण पार गर्दै पेरिस पारा पारालिम्पिक्समा सहभागी भएकी हुन्। कास्य पदक जितेकी पलेशाले अब सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्नेछिन्।

Blog Post Ad

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ।

Blog Post Ad Blog Post Ad