Ad Area

पलेशा गोवर्धनलाई ६५ लाख रूपैयाँ पुरस्कार दिइने


काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकाटी ६५ लाख रूपैयाँ राशीको पुरस्कार दिने घोषणा गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित बधाइ तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा करबिना ६५ लाख रूपैयाँ नै दिने स्पष्ट पारेका हुन्।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन्।

प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए। सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए।

Blog Post Ad Blog Post Ad