Ad Area

आज हरितालिका तिज, पूजाआजा र नाचगान गरी मनाइँदै


दाङ, २१ भदौ । नेपाली हिन्दु महिलाद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तिज शुक्रवार महादेवको पूजाआराधना गरी मनाइँदै छ । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न ब्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गर्ने धार्मिक परम्परा रहेको छ ।

अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वती (आदि शक्ति) ले ‘देवाधिदेव महादेवलाई पतिका रूपमा पाऊँ’ भनी ब्रत गरेको शिवपुराणमा उल्लेख छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी ब्रत बसी पूजाआराधना गरेकी थिइन् । अन्ततः उनले गरेको ब्रत यसै दिन पूर्ण भएको र ब्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तिज पर्व मनाउने गरिएको पाइन्छ ।

यस दिन महिलाहरू आफ्नो शरीरको अवस्था अनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि तिजको ब्रत बस्ने मान्यता छ । तिजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाउन, विवाहितले आफ्ना पतिबाट पार्वतीलेझैँ माया पाउन, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न, विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाउन भन्दै र वैधव्य जीवन बिताउनु नपरोस् भनेर मनोकामनाका साथ ब्रत बस्ने गर्दछन् । ब्रतको अघिल्लो दिन भाद्र शुक्ल द्वितीयाका दिन राति ११ बजे अगावै दर खाने चलन छ । यस दिन चेलीलाई माइतीले वा दिदीले बहिनीलाई वा मावलीले चेली भान्जीहरूलाई बोलाउने र दर खुवाउने गर्दछन् ।

दर भनेको पौष्टिक वा सात्विक (दाल, भात, तरकारी, फलफूल, दुध, दही, घ्यू आदि) आहार हो । भोलिपल्ट ब्रत बस्न शक्ति प्राप्ति होस् भनेर पौष्टिक आहार गर्ने चलन रहेको छ । सो अवसरमा महिलाहरू माइत जाने र आफ्ना मन मिल्दा साथीसङ्गीसँग भेटघाट गर्ने, नाचगान, भजनकीर्तन र जमघट गर्ने अनि आपसमा वर्ष दिनभर आफूलाई परेका दुःख, पिरमर्का पोख्ने गर्दछन् । यो अर्थमा तिज महिलामैत्री पर्वका रूपमा परिचित छ । पछिल्लो समय हिन्दुइतर वा अन्य धर्म र जातजातिका महिलाले पनि हर्षोल्लासका साथ तिज पर्व मनाउन थालेको पाइन्छ । यस दिन दिनभर शिवालय गई शिवजीको दर्शन, पुजन, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad