Ad Area

जिल्ला विपद प्रतिकार्य समूहको पुनर्ताजगी सुरु


तुलसीपुर, १४ मंसिर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ अन्तर्गत इन्कोर परियोजनाको आयोजनामा जिल्ला विपद प्रतिकार्य समूह (डिडिआरटी) को तिन दिने पुनर्ताजगी तालिम दाङको तुलसीपुरमा मंगलबारदेखि सुरु भएको छ ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्यको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन कार्यक्रममा जिल्ला शाखा दाङका कोषाध्यक्ष खुसल तर्ताल, लुम्बिनी प्रदेश आपतकालीन कार्यसंचालन केन्द्रका सुचना अधिकृत खिलानाथ दाहाल, एसिटी मेम्बर सन्तोष ढकाल र परियोजना अधिकृत जगत तामाङ लगायतले जिल्ला विपद प्रतिकार्य टिमले गर्नुपर्ने कामहरुको बारेमा जानकारी गराएका थिए ।

बिगत ५ वर्ष अघिदेखि डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस दाङले समुदाय उत्थानशिलता अभिवृद्धि (इन्कोर) कार्यक्रममार्फत दाङको देउखुरीस्थित राजपुर र गढवा गाउँपालिकाका १५ वडाका ४६ वटा विपद् तथा जलवायु उत्थानशिल समितिमार्फत विभिन्न गतिविधिहरु संचालन गरिरहेको परियोजनाका अधिकृत जगत तामाङले जानकारी दिए ।

विपदको उच्च जोखिम रहेको दाङ जिल्लामा बिपद्को समयमा विपद् प्रतिकार्यका लागि रेडक्रसको जिल्ला विपद् व्यवस्थापन समितिमार्फत डिडिआरटी टिम परिचालन गर्न दक्ष जनशक्ति उत्पादन गरिरहेको र उत्पादीत जनशक्तिलाई पुनर्ताजगी गराउन थालेको रेडक्रस दाङका सभापति नारायण आचार्यले जानकारी दिए । जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने मान्यता अनुरुप विपद्को समयमा मानवीय सेवा तथा विपद् प्रतिकार्यका लागि टिम तयार गरेको उनले बताए ।

रेडक्रस दाङको इन्कोर परियोजनामार्फत दक्षिण देउखुरीका गढवा र राजपुर गरि दुवै गाउँपालिकाका संकटापन्न समुदायमा जिविकोपार्जनका लागि आर्थिक सहयोग, खानेपानी सरसफाई तथा स्वच्छताका गतिविधि, विपद् प्रतिकार्यका लागि जनशक्ति उत्पादन परिचालन लगायतका धेरै कामहरु गरिरहेको परियोजनाका अधिकृत तामाङले जानकारी दिए ।

उत्पादित जनशक्तिले जिल्लाका कुनैपनि स्थानमा आइपर्ने विपद्को समयमा प्रारम्भिक द्रुत लेखाजोखा, अस्थायी आवास निर्माण, राहत वितरण, खानेपानी स्वच्छता र विपद् प्रतिकार्यका गतिविधिमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत परिचालन गरिने बताइएको छ । तालिम तीन दिनसम्म संचालन हुने रेडक्रस दाङले जनाएको छ ।