Ad Area

घोराहीमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुने


दाङ, २४ भदौ । बालबालिकामा सिर्जनात्मक लेखन क्षमता विकास गर्ने उद्देश्यले घोराहीमा २९औँ राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ । नेपाल बालसाहित्य समाजको आयोजना तथा नेपाल बालसाहित्य समाज लुम्बिनी प्रदेश समिति, राप्ती साहित्य परिषद्लगायतका विभिन्न संघसंस्थाको स्थानीय आयोजनामा आगामी मंसिरको ७ र ८ गते घोराहीमा २९औँ राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको हो ।

आयोजकले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी बालसाहित्य सम्मेलनमा कथा, निबन्ध, कविता लेखन, अभिनय, नृत्य, चित्रकला, दैनिकी लेखनसँगै कथा वाचनलगायतका विभिन्न विषयमा बालबालिकालाई प्रशिक्षण दिने कार्यक्रम हुने नेपाल बालसाहित्य समाजका महासचिव एवम् सम्मेलन संयोजक विजयराज आचार्यले जानकारी दिएका छन् । त्यसका लागि बालसाहित्यसँग सम्बन्धित राष्ट्रियस्तरमा चर्चित प्रशिक्षकहरू सम्मेलनमा ल्याइने बताए । उनका अनुसार सम्मेलनमा जिल्लास्तरीय हस्तलेखन तथा कथा लेखन प्रतियोगिता हुने भएको छ । बालबालिकामा सिर्जनात्मक लेखन र कलाको विकास गर्ने उद्देश्यले २०४४ देखि सुरु भएको सम्मेलन २९औँ शृङ्खला दाङमा गर्न थालिएको महासचिव आचार्यले बताए ।

‘बालबालिकालाई मुख्य रूपमा फोकस गरेर विगत लामो समयदेखि बालसम्मेलन हुँदै आएको छ’, महासचिव आचार्यले भने, ‘सम्मेलनको उद्देश्य बालबालिकामा सिर्जनात्मक लेखन र कलाको विकास गर्नु हो । यो अन्य सम्मेलनभन्दा फरक हुने गर्छ ।’ घोराहीमा रहेको गोरखा इन्टरनेशल बोर्डिङ स्कुलमा हुने राष्ट्रिय बालसाहित्य सम्मेलनमा बालसाहित्यसँग सम्बन्धित पुस्तकका विमोचन, विचार विमर्श, पुस्तक प्रदर्शनी, कार्यपत्र प्रस्तुति, रचना वाचन, कला प्रस्तृति, पुरस्कार वितरणलगायतका कार्यक्रम हुने छन् ।

बालबालिकामा भएका अन्तरनिहित सिर्जनात्मक क्षमताको विकास गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक राष्ट्रियस्तरको कार्यक्रम गर्न थालिएको सम्मेलन संयोजक तथा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीले बताए । जिल्लामा पहिलो पटक हुन थालेको सम्मेलनलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहने उदासीले बताएका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताले जिल्लामा पहिलो पटक हुन थालेको राष्ट्रिय बालसाहित्य सम्मेलनलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहने भएकाले सबैबिच सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका थिए ।

नेपाल बालसाहित्य समाजका केन्द्रीय उपाध्यक्ष कपिल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख नारायण पौडेल, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, महासंघका पूर्व अध्यक्ष सुशील गौतम, गोरखा इन्टरनेशनल बोर्डिक स्कुलका प्रिन्सिपल मानसिं घर्तीलगायतले मन्तव्य व्यक्त गरेका थिए । पत्रकार सम्मेलनको सहजीकरण सम्मेलनका सदस्य सचिव एवम् नेपाल बालसाहित्य समाज लुम्बिनी प्रदेशका अध्यक्ष सूर्य बिसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad