जिल्लामा उद्योग व्यवसायको राम्रो सम्भावना छ : अध्यक्ष जोशी [अन्तर्वार्ता]
दाङ जिल्ला उद्योग वाणिज्य संघ जिल्लाका व्यवसायीहरुको साँझा व्यवसायी संस्था हो । २०२७ सालमा स्थापना भएको उद्योग वाणिज्य संघमा आठ हजार बढी साना ठुला व्यवसायी आवद्ध रहेका छन् भने संघ अन्तर्गत दाङ र देउखुरी अन्तर्गत आठवटा शाखा रहेका छन् । जिल्लामा उद्योग तथा व्यवसायीहरुको हकहित, व्यवसायीयक सचेतनामूलक कार्यक्रमहरुसँगै समग्र विकास निर्माणका लागि समेत उद्योग वाणिज्य संघले पहल गर्दै आएको छ । दाङ जिल्ला लुम्बिनी प्रदेशको राजधानी भएको जिल्ला पनि हो राजधानी भएको जिल्लामा उद्योग व्यवसायको अवस्था कस्तो छ, सम्भावना के रहेको छ, उद्योग व्यवसायको प्रवद्र्धनका दाङ जिल्ला उद्योग वाणिज्य संघले के कसरी काम गरिरहेको छ भनेर संघका अध्यक्ष वसन्त जोशीसँग पत्रकार लीलाधर वलीले गरिएको कुराकानीको सारसंक्षेप ।
दाङमा औद्योगिक क्षेत्रको सम्भावना र चुनौती कत्तिको छ ?
दाङमा औद्योगिक क्षेत्रको सम्भावना राम्रो छ । भूगोलले पनि उपयुक्त रहेको छ तर भरपर्दाे हवाई सेवाको व्यवस्था नहुँदा अघि बढ्न सकेको छैन । टरिगाउँ एयरपोर्ट भए पनि नियमित रुपमा हवाई सेवा सञ्चालन हुन सकेको छैन । जसले गर्दा ठुला लगानीकर्ता लगानी गर्न इच्छुक देखिए पनि सुविधा नहुँदा डराउने अवस्था रहेको छ । औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त मानेर सरकारले २०७७ सालमा घोराही उपमहानगरपालिका वडा नं. ३ र ५ को केही भागलाई समेटेर औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो । अहिले त्यसको डिपिआरको काम भइरहेको छ । औद्योगिक क्षेत्र कार्यान्वयनमा आउन सक्यो भने उद्योग बढ्ने अपेक्षा रहेको छ ।
दाङ लुम्बिनी प्रदेशको राजधानी भएको जिल्ला पनि हो । यस क्षेत्रमा रहेका औद्योगिक क्षेत्रले प्रदेशलाई प्रतिनिधित्व गर्न सक्छन् ?
अहिलेको अवस्थालाई हेर्ने हो भने दाङ जिल्लाका उद्योग व्यवसायले लुम्बिनी प्रदेशलाई प्रतिनिधित्व गर्ने अवस्था छैन । अहिले जिल्लामा सिमेन्ट उद्योग, प्लाईउड उद्योग, कृषि तथा खाद्यान्नसँग सम्बन्धीत उद्योग रहेका छन् । प्रदेशको प्रशासनिक राजधानी भए पनि आर्थिक राजधानी बन्न सकेको छैन तर राजधानी कार्यान्वयनमा आइसकेको र औद्योगिक क्षेत्र पनि घोषणा भएका कारण विस्तारै जिल्लामा उद्योग बढ्ने अपेक्षा रहेको छ । त्यसका लागि हवाई सेवा नियमित र राम्रो सडकको व्यवस्था हुन आवश्यक छ । निजी क्षेत्रकातर्फबाट हामी लागिरहेका छाँै सरकारले पनि नियमित हवाई सेवा र फोरलेन सडक बनाउन ध्यान दिनुपर्छ ।
रोजगारी तथा आर्थिक गतिविधिको हिसाबले दाङको अवस्था कस्तो छ ?
अहिले जिल्लामा ठुला उद्योग धेरै छैनन् । खासगरी जिल्लामा ठुला उद्योगका रुपमा सिमेन्ट उद्योग, दाना उद्योग, प्लाई उद्योगलगायत अन्य कृषिसँग सम्बन्धीत उद्योग रहेका छन् । ती उद्योगमा केहीले रोजगारी प्राप्त गरेका छन् । सिमेन्ट उद्योग प्रायः भारतीय कामदारकै भरमा चलेको देखिन्छ । त्यो बाहेका अन्य जिल्लाका देउखुरी तथा दाङ क्षेत्रमा सीमित उद्योग रहेका छन् । ती उद्योगले सीमित व्यक्तिलाई रोजगारी दिएका छन् । घोराहीमा घोषणा भएको औद्योगिक क्षेत्र कार्यान्वयन आउन सक्यो भने उद्योगको संख्या वृद्धि हुने र आर्थिक अवस्था बढ्ने अवस्था छ । अहिले जुन रुपमा आर्थिक गतिविधि चलाएमान हुनु पर्ने र उद्योगको संख्या बढ्नु पर्ने थियो त्यो हुन सकेको छैन ।
पछिल्लो समय जिल्लामा व्यापार व्यवसाय गर्न चुनौती रहेको भन्ने सुनिन्छ, खासमा कस्ता खालका चुनौती रहेका छन् ?
दाङ उद्योग व्यवसायका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो तर विकासका पूर्वाधारको अभावले गर्दा अपेक्षा अनुसार लगानी हुन सकेको छैन । त्यसको मुख्य समस्याको रुपमा जिल्लामा हवाई सेवा नियमित नहुनु, नेपाल–भारत सीमा अन्तर्गत जिल्लाको एक मात्र मुख्य नाकाका रुपमा रहेको कोइलावास नाका पूर्ण रुपमा सञ्चालनमा आउन नसक्नु हो । त्यससँगै पछिल्लो समय व्यापार व्यवसायका क्षेत्रमा देखिएको आर्थिक मन्दी पनि हो । आर्थिक मन्दीका कारण धेरै व्यवसायी पलायन हुनुभएको छ । यसलाई रोक्नका लागि धेरै प्रयास गरेका छौँ तर अहिले पनि बजारमा कतै खाली सटर देख्न सकिन्छ । भुगोलका दृष्टिले ठुलो उपत्यका र हावापानीका दृष्टिले उपयुक्त हुँदा हुँदै पनि आर्थिकमन्दी, नाका सञ्चालन नहुनु, औद्योगिक क्षेत्र घोषणा भए पनि कार्यानवयनमा ढिलाई हुँदा व्यवसायीले समस्या भोग्नु पर्ने अवस्था छ ।
उद्योग वाणिज्य संघले व्यवसायी हकहितका लागि के कस्ता काम गर्ने गरेको छ ?
दाङ जिल्ला उद्योग वाणिज्य संघ व्यवसायीको साँझा सस्था हो । यो संस्थाले व्यवसायीको हकहितका लागि वकालत गर्ने काम गर्दछ । जिल्लाको विकास निर्माणका सवालमा राजनीतिक नेतृत्वलाई ध्यानाकर्षणसँगै जिल्लामा व्यवसायीलाई व्यवसाय गर्ने बातावरण निर्माणका लागि पहल गर्ने, व्यवसाय सञ्चालनका लागि सहज वातावरण निर्माणसँगै समय समयमा व्यवसायीलाई व्यवसायिक सचेतनाका काम गर्ने गर्दछ । त्यसका साथै समग्र जिल्लाको विकासका लागि छलफल चलाउने, विकासका प्रमुख एजेण्डा तय गरेर कार्यान्वयनका लागि मन्त्रालय डेलिकेशनका लागि जाने, राजनीतिक दलका नेतृत्व, जिल्ला जनप्रतिनिधिलाई दबाब दिने काम लगायतका गर्दै आएको छ ।
औद्योगिक क्षेत्रको विकासका लागि आगामी योजना के–के छन् ?
अहिलेको सन्दर्भमा प्रमुख कामका रुपमा २०७७ सालमा घोषणा भएको औद्योगिक क्षेत्र कार्यान्वयनमा ल्याउनु रहेको छ । त्यसका लागि पटक– पटक डेलिकेशन गएर अहिले डिपिआर निर्माणको काम भइरेको छ तर विडम्बना भन्नुपर्छ । देशको अस्थिर सरकारका कारण मन्त्री र सचिव फेरिरहने समस्याका कारण घोषणा भएको लामो समय भइसक्दा पनि कार्यान्वयन आउन सकेको छैन । जसले गर्दा उद्योग व्यवसाय सञ्चालनका लागि समस्या छ ।
औद्योगिक क्षेत्र घोषणा कार्यान्वयनमा आउन सके सहजरुपमा व्यवसाय सञ्चालन हुने अवस्था आउने छ । नयाँ खालका उद्योग जिल्लामा खुल्नेसँगै अहिले छरिएर रहेका व्यवसाय सञ्चालन हुँदा व्यवसाय सञ्चालनमा सहजतासँगै जिल्लामा प्रशस्त मात्रमा रोजगारीका अवसर सिर्जना हुने अवस्था आउने छ । त्यसका लागि औद्योगिक क्षेत्र घोषणालाई कार्यान्वयन, कोइलावास नाका पूर्ण रुपमा सञ्चालन र नियमित हवाइ सेवा सञ्चालनमा ल्याउनु पर्ने छ । त्यसका लागि अहिले तुलसीपुरको टरिगाउँ एयरपोर्टलाई विस्तार गरेर हुन्छन् वा नयाँ ठाउँमा निर्माण गरेर हुन्छ, त्यो काम हुनुपर्छ भन्ने हाम्रो माग हो ।
नियमित हवाई सेवा नहँुदा जिल्ला ठुला कार्यक्रम हुन सक्ने अवस्था छैनन् न व्यवसायमा लगानी बढ्ने अवस्था छ । त्यसैगरी जिल्लामा अहिलेसम्म नाप तौलको कार्यालय पनि छैन, जसले गर्दा व्यवसायीलाई नेपालगञ्ज वा भैरहवाबाट ल्याएर नाप तौलका सामग्री बर्सेनि जाँच गर्ने अवस्था छ । त्यसका लागि पनि जिल्ला कार्यालय स्थापना हुनुपर्छ भनेर लागिरहेका छौँ । विभागमा कुरा राख्दा सकरात्मक भएकाले छिट्टै जिल्लामा स्थापना हुने छ भन्ने आशामा छाँै ।
पटक–पटक पहल भइरहेको सुनिन्छ, कोइलावासनाका पूर्णरुपमा सञ्चालनमा आउन नसक्नुको कारण के हो ?
कोइलावासना कुनै समय देशकै प्रमुख नाकाका रुपमा रहे पनि अहिले सुनसान जस्तै छ । छोटी भन्सार कार्यालयका रुपमा सञ्चालन हुँदा अहिले २५ हजारभन्दा बढीको कुनै सामान ल्याउन पाइँदैन । जसले गर्दा जिल्लामा व्यवसाय गर्ने व्यवसायीलाई भारतबाट केही सामग्री ल्याउनुपर्छ नेपालगञ्ज वा कृष्णनगर जानुपर्ने बाध्यता छ । कोइलावास नाका पूर्ण रुपमा सञ्चालनका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघसँगै जिल्लाका आठवटै उद्योग वाणिज्य संघले पटक–पटक आग्रह गर्दै आएका छाँै तर सञ्चालन हुन सकेको छैन ।
नाका पूर्ण रुपमा सञ्चालनका लागि सरकारी पहल आवश्यक छ । त्यसका लागि परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग तथा वाणिज्य लगायतबाट पहल आवश्यक छ । हामीले काठमाडौं मन्त्रालयमा पुगेर मन्त्री, सचिवलगायतलाई पनि पटक–पटक भनेका छाँै । विडम्बना भन्नुपर्छ हुन्छ भन्ने समयमै काम नगर्ने प्रवृतिका कारण अहिलेसम्म पूर्ण रुपमा नाका सञ्चालन हुन सकेको छैन । ठुलो लगानी गरे सडक निर्माण भए पनि नाका सञ्चालन गर्न नसक्दा घाटा भइरहेको छ तर त्यसतर्फ ध्यान कसैको जाने गरेको छैन । प्रदेश राजधानी भएको जिल्ला भएकाले पनि हामीले प्रदेश सरकार, सङ्घीय सरकार, जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई पटक–पटक भनिरहेका छाँै, भेटमा हुन्छ भन्नुहुन्छ तर काम गर्नुभएको छैन ।
जिल्लामा व्यापार व्यवसायलाई दीर्घकालीन बनाउन के गर्न आवश्यक छ ?
अघि भने जस्तै, जिल्लामा व्यापार व्यवसायलाई दीर्घकालीन बनाउनका लागि सहज वातावरण नै हो । त्यसका लागि उपयुक्त उद्योग व्यवसाय गर्ने ठाउँ, यातायातको भरपर्दाे सुविधा, सहजरुपमा समान बाहिरबाट ल्याउनुका लागि नाका सञ्चालनसँगै समस्या पर्दा ऋण लिन सक्ने अवस्था हुनुपर्छ । व्यवसाय गर्नका लागि बैंकबाट ऋण लिन डराउनु पर्ने अवस्था हुनु हुँदैन । त्यो अवस्था आउने हो भने उद्योग व्यवसाय घट्दै जाने हो । जस्तै कोरोना महामारी, आर्थिक मन्दीका कारण धेरै व्यवसायी पलायन हुँदा अहिले पनि बजारमा सटर खाली छन्, त्यी सटरमा व्यवसाय गर्न वातावरण निर्माणका लागि राज्यले उपयुक्त वातावरण निर्माण गर्नुपर्छ ।
उद्योग व्यवसायीका निम्ति संघले केही गर्दैन, संघ राजनीति गर्नका लागि मात्र भयो भन्ने गुनासो सुनिने गर्छ, के उद्योग व्यवसायीले गुनासो गरे जस्तै होर ?
सहजरुपमा व्यवसाय गर्ने वातावरण नहुँदा व्यवसायीले आरोप लगाउनु हुन्छ, उद्योग वाणिज्य संघको काम छैन भन्नुहुन्छ तर व्यवसायीको पक्षमा काम गर्ने, व्यवसायीका समस्या उठाउने र सम्बोधनका लागि पहल गर्ने उद्योग वाणिज्य संघ नै हो । उद्योग वाणिज्य त्यो खालको भूमिका निर्वाह पनि गर्दै आएको छ । त्यो केही समय अघि बंैकले वृद्धि गरेको व्याजदर घटाउनका लागि गरेको आन्दोलनका क्रममा खेलेको भूमिका होस् वा अन्य विकास निर्माणका सवालमा खेलेको भूमिकाले होस सघले नै व्यवसायीका समस्या उठाउने र समस्या समाधानका लागि पहल गर्ने हो पुष्टि गरेको छ । जिल्लाका विकास निर्माणका सवालमा महाज्ञय लगाएर बाटो खन्ने होस् वा कृषि महोत्सवका माध्यमबाट जिल्लाको स्थानीय उत्पादनको प्रवद्र्धनका लागि खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको छ ।