Ad Area

सुनिल पुन स्मृति फुटबल प्रतियोगिताको तयारी तीव्र,असोज ३ गतेदेखि खेल हुने


नारायणपुर, ३१ भदौ । सुनिल पुन स्मृति प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । प्रतियोगिता सञ्चालन हुने दिन नजिकिएसँगै खेल मैदान मर्मत,निमन्त्रणासँगै प्रतियोगिताका लागि आवश्यक तयारीलाई तीव्र पारिएको आयोजक न्यू स्टार फुटवल एकेडेमीले जानकारी दिएको छ ।

नारायणपुरका युवा सुनिल पुनको स्मृतिमा रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । स्वर्गीय सुनिल पुन स्मृति प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिता यही असोज ३ गतेदेखि हुन थालेको हो ।
न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको होे । असोज ३ गतेदेखि घोराही उपमहानगरपालिका वडा न. १० को बि.पी. बाटिका खेल मैदानमा नकआउट खुल्ला फुटबल प्रतियोगिता सुरु हुने छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ६१ हजार १ सय ११, द्वितीय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने छ । न्यू स्टार फुटबल एकेडेमीका पूर्व खेलाडी एवं प्रकृति लोकसांस्कृतिक क्लबका संरक्षक रहेका सुनिल पुनको स्मृतिमा रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको न्यू स्टार फुटबल एकेडेमीका अध्यक्ष खुमबहादुर वलीले जानकारी दिएका छन् ।

अग्रजहरुको सम्मान र सम्झना सहित खेल क्षेत्रको विकास र विस्तारका लागी प्रतियोगिताको आयोजना गरिएकाले सम्पूर्ण क्लब, एकेडेमी, विद्यालय तथा संघसंस्थाहरुले असोज १ गते मंगलवार बेलुका ४ बजेसम्म टिम दर्ता गर्न क्लबले अनुरोध गरेको छ । दिम दर्ताको आधारमा असोज १ गते मंगलवार बेलुका ५ बजे टाईसिट निकालिनेछ भने असोज ३ गते विहीबार दिउसो २ बजे प्रतियोगिताको उद्घाटन गरिने छ ।

Blog Post Ad Blog Post Ad