Ad Area

प्रथम कुबेर बहादुर शाह स्मृति कप भलिबलको तयारी पूरा


लक्ष्मण बस्नेत
दाङ, २ असोज । दाङको तुलसीपुरमा बिहिवारदेखि सुरु हुने स्वर्गीय कुबेरबहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ ।

नेपाली कांग्रेस तुलसीपुर नगरकार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राबिधिक ब्यबस्थापनमा अरनिको खेल मैदान तुलसीपुरमा संचालन हुन लागेको प्रतियोगिताको नेपाली काग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको नगर सभापती सुरेश हमालले जानकारी दिएका छन् ।

सभापति हमालका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम मध्याह्न १२ बजेका लागि तय गरिएको छ । तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पु¥याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय शाहको स्मृती तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको आतिथ्य सत्कार,आर्थिक ब्यबस्थापन,प्रचारप्रसार, खेल मैदान तथा मञ्च निर्माण लगाएतका सबै तयारी पूरा गरिरेको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा दाङ लगाएत अन्य जिल्लाका १२ टिमको सहभागिता रहने प्राबिधिक ब्यवस्थापनको जिम्मा पाएको फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरीले जानकारी दिएका छन् । प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ ।

जसअनुसार बेष्ट प्लेयर हुने खेलाडीले तीन हजार पाँच सय, नगद ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर,वेष्ट ब्लकर र वेष्ट लिब्रो लाई क्रमशः जनही दुई हजार पाँच सयका दरले नगद तथा ट्रफी,प्रदान गरिने आयोजक नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिका सदस्य गोरख वलीले जानकारी दिएका छन् ।

प्रतियोगिताका खेलहरु नकाउट प्रणालीका आधारमा खेलाईनेछ भने खेल तालिका टाईसिट बिहीवार बिहान ९ बजेका लागि तोकिएको आयोजकले जानकारी दिएको छ । यसैबिच आयोजकले प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि भलिबल प्रेमी खेलाडी,खेलकुद सम्बद्ध संघ÷ संस्था,राजनितिकदल,पत्रकार लगाएत सबैमा हार्दिक अनुरोध गरेको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad