Ad Area

महेन्द्र आधारभूत विद्यालयमा पाक शिक्षाको अभ्यास


दाङ, ५ असोज । घोराही उपमहानगरपालिका वडा नम्बर ५ दलजितपुरमा रहेको श्री महेन्द्र आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले किताबरहित दिनको रूपमा पाक शिक्षामा सहभागी भएका छन् । पालिकाले कक्षा कोठामा दिइने ज्ञानलाई व्यावहारिक रूपमा सिकाउन कार्ययोजना अघि सारेसँगै विद्यालयले शुक्रवारका दिन कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई पाक शिक्षामा सहभागी गराएको हो ।

यस वर्षबाट विद्यालयको शैक्षिक गतिविधिलाई व्यहारमा समेत उतारेर पठनपाठन गर्न थालेको महेन्द्र आधारभूत विद्यालय दलजितपुरले बालबालिकाको शैक्षिक क्रियाकलापलाई शैक्षिक गतिविधि अन्तर्गत समावेश गरेको छ । पालिकाको नमुना विद्यालयका रूपमा समेत छनोट भएको विद्यालयमा अध्ययनरत विद्यार्थीले पाक शिक्षामा कार्यविभाजन गरेर खानेकुरा पकाउन सिकेका छन् ।

कक्षा ४ र ५ का विद्यार्थीले आलुको अचार बनाएका छन् भने ६ कक्षामा अध्ययनरत विद्यार्थीले पकौडा पकाएका थिए । कक्षा ७ का विद्यार्थीले पुरी बनाए भने ८ मा अध्ययनरत विद्यार्थीले सेल रोटी पकाएको विद्यालयका प्रधानाध्यापक प्रदीपकुमार केसीले जानकारी दिएका छन् । प्रधानाध्यापक केसीका अनुसार पाक शिक्षामा सहभागी हुन पाउँदा विद्यार्थीले रुचिपूर्वक भाग लिएको बताए ।

यस अघि असारमा धान रोपाइँ गरेका विद्यार्थीले शैक्षिक कार्यतालिका अनुसार कक्षा कोठाभित्र सिकेको ज्ञानलाई व्यवहारमा उतारेर सिकाउँदा सिकाइ जीवन्त हुने र पढाइमा रुचि बढ्ने हुँदा यो प्रभावकारी देखिएको प्रधानाध्यापक केसी बताउँछन् । आगामी दिनमा पनि व्यावहारिक शिक्षा अन्तर्गका क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराइने बताए । विद्यालयले पाक शिक्षा अन्तर्गत सेल रोटी पकाउन सिक्न पाउँदा धेरै कुरा थाहा पाएको कक्षा ८ मा अध्ययनरत छात्रा सरस्वती वलीले बताइन् ।

घरमा आमाले सेल रोटी पकाएको देखे पनि अहिलेसम्म पकाउन नपाएको भन्दै उनले विद्यालयमा मेडमहरूसँगै रोटी पकाउन सिकेको बताइन् । उनी जस्तै कक्षा ७ मा अध्ययनरत हिमाल केसीले पुरी पकाउन सिकेको बताए । उनका अनुसार पिठो मुछ्ने काम छात्राहरुको गर्दा कराईमा पकाउने काम आपूmलगायतका छात्रले गरेको बताए । अरूले गरेको देख्दा समान्य लाग्ने गरे पनि आफूले गर्दा धेरै कुरामा ख्याल गर्नु परेको भन्दै विद्यार्थी केसीले भने, ‘हेर्दा सामान्य लागे पनि व्यवहारमा गर्दा फरक हुने रहेछ, त्यो व्यावहारिक ज्ञानले महसुस गराएको छ ।’

Blog Post Ad

समुदायको बिचमा रहेको सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन र शैक्षिक गुणस्तर सुधार्न विद्यालयले मिहिनेत गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक चौधरी बताउँछन् । पालिकाको नमुना विद्यालयका रूपमा छनोट भएको भन्दै विद्यालयको शैक्षिक, प्रशासनिकलगायत विषय प्रभावकारी रूपमा अघि बढाइएको बताए ।

पाक शिक्षाको अनुगमन निरीक्षणमा पुगेका घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले पालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि वार्षिक कार्यतालिका बनाएर जीवन जिउने शिक्षा विद्यार्थीलाई प्रदान गर्न विद्यालयलाई आग्रह गरे ।

सिपसहितको शिक्षा अबको आवश्यकता भएको भन्दै महाशाखा प्रमुख केसीले सैद्धान्तिक शिक्षा कितावबाट दिने र व्यहारिक शिक्षा अभ्यासबाट प्रदान गर्न लगाउने कामको थालनी भएको बताए । शुक्रवार पालिकामा रहेका धेरैजसो विद्यालयमा किताबरहित दिनका रूपमा विद्यार्थीलाई व्यावहारिक शिक्षा दिने क्रम बढ्दै गएको भन्दै यसले शिक्षासँगै दैनिक जीवनमा आवश्यक ज्ञान सिकाउने बताए । कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा करिब दुई सय विद्यार्थी अध्ययनरत छन् ।

Blog Post Ad Blog Post Ad