Ad Area

विदेश पठाउने भन्दै पैसा लिएर सम्पर्कविहीन


दाङ, ५ असोज । दाङमा क्रोसिया पठाउने भन्दै युवाहरूसँग पैसा लिएर म्यानपावर व्यवसायी सम्पर्कविहीन भएका छन् । घोराही उपमहानगरपालिका–१५ तुलसीपुरचोक (भानुचोक) नजिकै रहेको दियालो कन्सल्टेन्सी सञ्चालन गर्ने घोराही निवासी शम्शेर सिंहलगायत तीन जना करिब एक करोड रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका छन् ।

म्यानपावर व्यवसायी सिंहसँगै तुलसीपुर निवासी कृष्ण पुन र भैरहवा निवासी पिताम्बर यादव दुई महिनादेखि सम्पर्कविहीन भएको पीडितले बताएका छन् । पीडितले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर क्रोसिया पठाउने भन्दै एक लाखदेखि १० लाख ५० हजार रुपैयाँसम्म उठाएका सिंहलगायत तीन जना सम्पर्कविहीन भएको पीडित रोल्पा निवासी धनबहादुर विकले बताएका छन् ।

क्रोसिया पठाउने भनेर आपूmसँग दुई पटक गरेर १० लाख ५० हजार रुपैयाँ लिएर अहिले सम्पर्कविहीन भएको उनले बताए । ‘क्रोसिया पठाउने भनेपछि मैले दुई पटक गरेर शम्शेर सिंहलाई १० लाख ५० हजार रुपैयाँ दिएको हुँ’, पत्रकार सम्मेलनमा धनबहादुरले भने, ‘तर पैसा लिएका म्यानपावर व्यवसायी सिंह अहिले सम्पर्कमा छैनन् ।’

धनबहादुरलाई क्रोसिया पठाउन नसकेपछि म्यानपावर व्यवसायी सिंहले २०८० चैतमा अजरबैजान र त्यसपछि कम्बोडिया भिजिट भिसामा पठाएका थिए तर त्यहाँ काम नपाइने भएपछि फर्किएर आउँदा म्यानपावर व्यवसायी सम्पर्कमा नभएको बताए । ‘ऋण काढेर जुटाएको पैसाको व्याज बढेर १२÷१३ लाख पुग्न लागेको भनेपछि म्यानपावर व्यवसायी सिंहले राम्रो काम पाइने र त्यहाँबाट युरोप, अमेरिका जान सकिने भने ।

उनको विश्वासमा गत चैतमा अजरबैजान र त्यसको एक महिनापछि नेपाल फर्किएर कम्बोडिया गएको थिएँ’, पत्रकार सम्मेलनमा धनबहादुरले भने, ‘तर त्यहाँ केको कमाइ हुनु, काम नै नपाइँदो रहेछ ।’ त्यहीँबाट म्यानपावर व्यवसायीलाई सम्पर्क गर्दा सम्पर्कमा नआएपछि घरबाट पैसा पठाउन लगाएर नेपाल फर्किएको बताए । असारमा नेपाल फर्किएका धनबहादुरलगायत तीन जनाले साउन ४ गते वैदेशिक रोजगार विभागमा ठगिएको भन्दै सिंहसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको बताए ।

धनबहादुर जस्तै ठगिनेमा रोल्पाकै अमर विक पनि रहेका छन् । क्रोसिया जानका लागि म्यानपावर व्यवसायी सिंहको सम्पर्कमा पुगेका अमरलाई सिंहले कम्बोडियामा आकर्षक काम र पैसा कमाउन सकिने र पछि त्यहीँबाटै युरोप, अमेरिका जान सकिने भन्दै चैतमा कम्बोडिया पठाएका थिए । आकर्षक काम र पैसाको लोभमा कम्बोडिया पुगेका विकले पैसा कमाउने त परैको कुरा काम नपाएर दुःख पाएपछि तीन महिनापश्चात फर्किएको बताए ।

Blog Post Ad

‘कम्बोडियाबाट पटक–पटक सम्पर्क गरेका थियौँ, सम्पर्क हुन सकिन, यहाँ आएर पनि खोज्ने प्रयास ग¥यौँ तर भेट्नै नसकेपछि ठगिएको महसुस गरेर वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेका हौँ’, उनले भने, ‘हामी जस्तै अन्य कोही नठगिनु होला भन्न चाहन्छौँ ।’ अमरले कृष्ण पुन र पिताम्बरको खातामा पैसा हालिदिएका थिए । पैसा लगेपछि अहिले घोराहीमा रहेको म्यानपावरको कार्यालय समेत बन्द गरेर सम्पर्कविहीन भएको अमरले बताए ।

धनबहादुर र अमरजस्तै २२ जना बढीको करिब एक करोड बढी रकम कुम्ल्याएर म्यानपावर व्यवसायी सिंहसँगै कृष्ण र पिताम्बर भागेको पीडितले पत्रकार सम्मेलनमा बताएका छन् । ठगिएका व्यक्तिबाट एक लाखदेखि १० लाखसम्म रकम उठाएर तीन जना सम्पर्कविहीन भएको भएको देवीकला महराले बताइन् । ‘सुरुमा फोन गर्दा पठाउन नसके पैसा फिर्ता दिन्छौँ भन्थे’, उनले भनिन्, ‘तर अहिले न मान्छे सम्पर्कमा छन् न पैसा दिन्छन् ।’ महराले छोरालाई विदेश पठाउनका लागि एक लाख रुपैयाँ म्यानपावर व्यवसायी सिंहलाई दिएकी थिइन् । उनीले जसरी भए पनि पक्राउ गरेर ठगिएका नागरिकलाई न्याय दिन प्रशासनसँग माग समेत गरेकी छन् ।

Blog Post Ad Blog Post Ad