Ad Area

प्रथम सुनिल पुन स्मृति फुटबलको सेमिफाईनल समिकरण पूरा


घोराही, ७ असोज । प्रथम सुनिल पुन स्मृति रनिङ शिल्ड फुटबलमा साेमबारकाे खेलमा आयोजक न्यू स्टार फुटबल एकेडेमी सेतो र मेगा स्पोर्टस् क्लब सेमिफाईनल प्रवेश गरेसँगै प्रतियोगिताकाे सेमिफाइनल समिकरण पूरा भएकाे छ।

न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत सोमबार भएका तेस्रो क्वाटरफाईनल खेलमा मेगा स्पोट्र्स क्लव घोराहीले युनाईटेड लालमटिया फुटबल क्लवलाई टाईबे्रकरमा ४–३ गोलले हराउँदै सेमिफाईनल यात्रा तय गर्दा चौथो क्वाटरफाईनल खेलमा आयोजक न्यु स्टार फुटबल एकेडेमी डर्बीले कालो समुहलाई ४–० गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

विपि वाटिका खेल मैदानमा सोमबार दिउँसो युनाईटेड लालमटिया र मेगा बीचको खेल निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेलको नतिजा टाईब्रेकरबाट निकालिएको थियो । निर्धारित समयको खेलमा युनाईटेड लालमटियाले गोलको अवसर पाए पनि गोलकिपरले विफल गरेका थिए । जसमा मेगाका खेलाडीले आफुलाई प्रमाणित गर्दै सेमिफाईनल प्रवेश गर्न सफल भए ।

युनाइटेड लालमटियाका निर्दाेश भुसालले गोल गर्दै अग्रता दिलाए पनि चौथो र पाँचौँ नम्बरमा पेनाल्टी प्रहार गर्न आएका खेलाडीले नतिजा दिन नसक्दा राम्रो खेलका बावजुद युनाईटेड लालमटिया क्वाटरफाईनलबाट बाहिरिएको हो ।

युनाइटेड लालमटियाका निर्दाेश भुसालसँगै भुपेश बिएम, आयुष राना मगरले गोल गरेपनि डिमोस भुसालको प्रहारलाई मेगाका गोलकिपर अविरल बुढाथोकीले विफल बनाएका थिए । यस्तै पूर्ण बरालले प्रहार गरेको बल बायाँ बारको पोलमा लागेर बाहिरिएको थियो ।

यसैगरी, मेगा स्पोर्ट्स क्लबका अभियान थापाले प्रहार गरेको पहिलो बल पोष्टभन्दा माथिबाट बाहिरिएको थियो । पहिलो बलमा नतिजा पाउन नसकेको मेगाका लागि यसपछिका सबै खेलाडीले सतप्रतिशत नतिजा निकालेपछि मेगाले ४–३ गोलले जीत हासिल गर्यो । टाईबे्रकरमा मेगाका लागि संगम चौधरी, राम घर्ती, सुदिप वली र अविनाश थापाले गोल गरे । निर्धारित समयको खेलमा तथा टाईबे्रकरमा पनि गोल हुनबाट उत्कृष्ट बचाउ गरेको मेगाका गोलकिपर अविरल बुढाथोकी प्लेयर अफ द म्याच भए ।

Blog Post Ad

यसैगरी, प्रतियोगिताको अन्तिम क्वाटरफाईनलमा न्यु स्टार एकेडेमी डर्बी बीचको खेलमा सेतोले सहज जीत निकाल्दै सेमिफाईनलमा प्रवेश गरेको छ । न्यु स्टार फुटबल एकेडेमी सेतोका लागि दिपेश पुन, सुदीप केसी, डेबिड चौधरी र एलिस रसाईलीले समान एक–एक गोल गरे । उक्त खेलमा न्यु स्टार फुटबल एकेडेमी सेतोका भीमसेन थापा प्लेयर अफ द म्याच भए ।

यसअघि आईतबार भएको पहिलो क्वाटर फाईनलमा घोराही १७ र दोस्रोक्वाटर फाईनलमा हापुर युथ क्लब सेमीफाईनल प्रवेश गरेका छन् । योसँगै जारी प्रतियोगिताको सेमिफाईनल समिकरण पनि पूरा भएको छ ।

अब मंगलबार पहिलो सेमिफाईनलमा दिउँसो २ बजेपछि हापुर युथ क्लव र घोराही १७ फाईनल प्रवेशका लागि भिड्नेछन् । अपरान्ह ४ बजेपछि दोस्रो सेमिफाईनलमा न्यु स्टार फुटबल एकेडेमी सेतो र मेगा स्पोट्र्स क्लब बीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल असोज ९ गते बुधबार हुनेछ ।

विभिन्न १४ टीमको सहभागीता रहेको प्रतियोगितामा प्रथम हुने टीमले नगद ६१ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेता हुने टीमले ३१ हजार १ सय ११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी, प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Blog Post Ad Blog Post Ad