Ad Area

स्वर्गद्वारीमा प्यागोडा शैलीको मन्दिर निर्माण गरिने


प्युठान, ९ असोज । प्युठान जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा प्यागोडा शैलीको मन्दिर निर्माण गर्न थालिएको छ । स्वर्गद्वारी आश्रमले भक्तजनको दान र सहयोगबाट मन्दिर निर्माण गर्न लागेको हो ।

दसैँपछि निर्माण सुरु गर्ने गरी मन्दिर निर्माणको लागि भक्तजनबाट निःस्वार्थ सहयोगका लागि अपिल गरिएको स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले जानकारी दिएका छन् । ‘पशुपतिनाथको जस्तै शैलीमा मन्दिर बनाउन लागिएको हो’, आश्रमका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘नयाँ मन्दिर काठैकाठको प्यागोडा शैलीको मन्दिर बन्नेछ ।’ प्यागोडाशैलीको उक्त मन्दिर दुईतले छानो हुने छ । चारैतर्फ मुख्य कलात्मक काष्ठद्वार, प्रत्येक टुँडाल र लकासीहरूमा भगवानका विभिन्न अवतार चित्राङ्कित काष्ठकलाको प्रयोग गरिने आश्रमले जनाएको छ ।

अहिलेको पुरानो मन्दिरलाई थप आकर्षक बनाउने गरी जनस्तरबाटै सहयोग सङ्कलन गरेर मन्दिर निर्माणको लागि आर्थिक सङ्कलनको काम सुरु भएको आश्रमका प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिएका छन् । स्वर्गद्वारी महाप्रभु नारायण गौतम रोल्पाको रुन्टीगढीमा विक्रम संवत् १९१६ श्रावण शुक्लपक्ष पुत्रदा एकादशीमा जन्म भएको थियो ।

महाप्रभुले विसं १९५२ वैशाख पूर्णिमाका दिन स्वर्गद्वारीमा वेदको मन्त्रद्वारा अग्नि प्रज्वलित गरी अखण्ड महायज्ञ स्थापना गरेका थिए । स्वर्गद्वारीमा विशेष गरेर वैशाखे पूर्णिमा, गाईतिहारे औँसी, माघे सङ्क्रान्तिमा विशेष मेला लाग्ने गर्दछ । स्वर्गद्वारीमा बाह्रैमहिना पूजाआजा हुने गर्दछ । स्वर्गद्वारीमा भारतबाट धेरै भक्तजन आउने गर्दछन् । स्वर्गद्वारीमा वेद पाठशालासमेत छ । दुई हजार एक सय मिटर उचाइमा रहेको स्वर्गद्वारी पुग्न पक्की सडक निर्माण भएको छ ।

Blog Post Ad Blog Post Ad