Ad Area

प्रलेसले चार जना साहित्यकारलाई पुरस्कृत गर्ने


दाङ, १५ मंसिर । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले चार जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा(शरद) का अनुसार प्रलेसमा गठित प्रतिभा छनौट समितिले पुरस्कृत प्रतिभाको छनौट गरेको हो ।

जस अनुसार यसबर्ष प्रगतिशील साहित्यिक पुरस्कार प्रलेस दाङका पूर्व उपाध्यक्ष डिल्ली मल्ललाई प्रदान गरिने भएको छ । यस्तै चिन्तामणि जमुना साहित्य पुरस्कार साहित्यकार नविन विभाषललाई प्रदान गरिनेछ । यसैगरी अनन्त टिका प्रतिभा पुरस्कार साहित्यकार तथा पत्रकार केबी मसाललाई प्रदान गरिनेछ भने गोविन्द चिस सर्जक पुरस्कार साहित्यकार रेशम विसीलाई प्रदान गरिनेछ ।

प्रगतिशील लेखक संघको २९ औं स्थापना दिवसका अवसरमा आगामी पुस ३ गतेका दिन पुरस्कार वितरण गरिने भएको छ । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा (शरद) केन्द्रिय सदस्य शरद अधिकारी र जिल्ला सल्लाहकार पुरुषोत्तम खनाल सदस्य रहेको छनौट समितिले पुरस्कृत प्रतिभाको छनौट गरेको हो । प्रलेसले वितरण गर्ने चारवटा पुरस्कार मध्य गोविन्द चिस सर्जक पुरस्कार पाँच हजार रुपैया राशीको रहेको छ भने अन्य सवै १० हजार रुपैयाको रहेका छन् ।

प्रलेसले हरेक बर्ष पुस ३ गतेका दिन स्थापना दिवसमा साहित्यकारहरुलाई पुरस्कृत गर्दै आइरहेको छ । शाखा स्थापना दिवसका अवसरमा साहित्यको श्रीबृद्धिका लागि भूमिका खेल्नुभएका ऋषिराज जंगली (पौडेल)लाई सम्मान गरिने भएको छ । प्रलेस दाङका अध्यक्ष देवकोटाले हरेक बर्ष एकजना साहित्यकार तथा साहित्यानुरागीलाई पुरस्कृत गर्दै आएकोमा यस बर्ष जंगलीलाई पुरस्कृत गर्न थालिएको जानकारी दिए ।

Blog Post Ad Blog Post Ad