मावि सौँडियारमा श्रीमद्भागवत् महायज्ञ हुने
दाङ, ५ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौँडियार स्थित श्री माध्यमिक विद्यालय सौँडियारमा सञ्चालन हुन लागेको श्रीमद्भागवत् ज्ञानमहायज्ञ सप्ताह सफल बनाउन महायज्ञ मूलसमारोह समितिले विषयगत उपसमिति गठन गरेको छ । विद्यालयको भौतिक, शैक्षिक सुधार एवम् सभाहल निर्माणका लागि आगामी मङ्सिर २१ गतेदेखि सञ्चालन हुने महायज्ञ सम्पन्न गर्न मङ्गलवार विद्यालयमा आयोजित अन्तरक्रियाले मूलसमारोह समितिसँगै २५ वटा उपसमिति गठन गर्दै संयोजक तोकेर जिम्मेवारी बाँडफाँड गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष निशानदाजु भट्टराई संयोजक रहेको तीन सय सदस्यीय महायज्ञ सञ्चालन मूलसमारोह समिति गठन गरिएको छ । जसको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नन्दराम वली रहेका छन् । सदस्यमा घोराही–७ का वडाध्यक्ष, वडा नं. ७ मा रहेका सबै टोल विकास संस्थाका अध्यक्ष, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सहकारी संस्थाका अध्यक्ष, आमा समूहका अध्यक्षलगायत रहेका छन् । अन्तरक्रियामार्फत् गठित मूलसमारोह समितिले महायज्ञ सम्पन्न गर्न धनधाञ्याञ्चल व्यवस्थापन उपसमिति संयोजकमा वडा सदस्य चित्रबहादुर चौधरीलाई संयोजक, नन्दबहादुर चौधरी सहसंयोजक रहेको पाँचसदस्यीय समिति गठन गरेको छ ।
यसैगरी, कलश व्यवस्थापन तथा शोभायात्रा व्यवस्थापन उपसमिति संयोजकमा ग्रामीण जागृति महिला सहकारी संस्थाकी अध्यक्ष कमला थापा, शिक्षक अभिभावक संघकी सदस्य आशा चौधरीलाई सहसंयोजक तोकिएको छ । मातृशक्ति परिचालन उपसमिति संयोजकमा हिरा योगी, सहसंयोजकमा बुधनी चौधरीलाई जिम्मेवारी दिइएको छ । मण्डप व्यवस्थापन उपसमिति संयोजकमा शालिकराम केसी र सहसंयोजकमा मङ्गलप्रसाद चौधरीलाई जिम्मेवारी दिइएको छ । महायज्ञ सफल बनाउन मञ्च व्यवस्थापन उपसमिति संयोजकमा तिलकराम आचार्यलाई संयोजकको जिम्मेवारी तोकिएको छ भने जिन्सी सामान व्यवस्थापन उपसमिति संयोजकमा प्रकाश केसीलाई जिम्मेवारी दिइएको छ ।
भेलाले संस्कृति व्यवस्थापन उपसमिति संयोजकमा पोषणबहादुर बस्नेतलाई दाता पहिचान उपसमिति संयोजकमा वडा नं. ७ का वडाध्यक्ष खोपीराम चौधरीलाई जिम्मेवारी दिइएको छ । यसैगरी प्रचारप्रसार उपसमिति संयोजकमा लीलाधर वलीलाई संयोजकमा तोकिएको छ भने अतिथि स्वागत तथा सम्मान उपसमिति संयोजकमा प्रधानाध्यापक नन्दबहादुर वलीलाई संयोजक, शिक्षक पद्मा अर्याललाई सहसंयोजकको जिम्मेवारी तोकिएको छ । महायज्ञ सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा बुद्धिप्रकाश चौधरी संयोजक, राजेश चौधरी सहसंयोजक र सर्रा प्रहरी चौकी सदस्यका रूपमा तोकिएको छ ।
प्राज्ञिक उपसमिति संयोजकमा अमरबहादुर डाँगी संयोजक, हरिप्रसाद पाण्डेय, भुपबहादुर शाह सदस्य रहेका छन् । यसैगरी पण्डित व्यवस्थापन उपसमिति संयोजकमा चन्द्रप्रसाद घिमिरेलाई जिम्मेवारी तोकिएको छ । भान्सा व्यवस्थापन उपसमिति संयोजकमा विद्यालयका शिक्षक शेरबहादुर चौधरीलाई संयोजक, सुभद्रा भण्डारीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । फ्रेम तथा दोसल्ला सम्मान व्यवस्थापन उपसमिति संयोजकमा रिेबरबहादुर केसी, सदस्यमा बामदेव पोख्रेल रहेका छन् ।
अनुगमन तथा मूल्याङ्कन उपसमिति संयोजकमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष भीमप्रकाश खड्का, सहसंयोजकमा नन्दराम भण्डारी र सदस्यमा जनक चौधरी, भोजराज रावत रहेका छन् । अर्थ व्यवस्थापन उपसमिति संयोजकमा हिरालाल न्यौपाने, सहसंयोजकमा बसन्त अधिकारीलाई जिम्मेवारी तोकिएको छ । स्वास्थ्य उपचार व्यवस्थापन उपसमिति संयोजकमा सौँडियार स्वास्थ्यचौकीका इञ्चार्ज भरत चौधरी, सहसंयोजकमा भीमकान्त भण्डारी र सदस्यमा कान्तुलाल भण्डारी रहेका छन् ।
यसैगरी स्वयम्सेवक तथा युवा परिचालन उपसमिति संयोजकमा माधव न्यौपाने, सहसंयोजकमा कुलबीर चौधरी र सदस्यमा अर्जुन चौधरी रहेका छन् । तुलादान व्यवस्थान उपसमिति संयोजकमा पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष मंगलराम चौधरी, सहसंयोजकमा तिलकराम चौधरी रहेका छन् । फूलमाला व्यवस्थापन उपसमिति संयोजकमा शिक्षक सीता डिसी, पूर्वशिक्षक अभिभावक संघकी अध्यक्ष पार्वती वलीलाई सहसंयोजकको जिम्मेवारी तोकिएको छ ।
स्थानीय दलहरुको समन्वय उपसमिति संयोजकमा नेपाली कांग्रेस सौँडियार इकाइ सभापति कर्णबहादुर बुढाथोकीको संयोजकत्वमा नेकपा एमाले वडा नं. ७ का कार्यवाहक अध्यक्ष माधव न्यौपाने सहसंयोजक, माओवादी केन्द्रका बुद्धिप्रकाश चौधरी सदस्य, राप्रपाका तिलक आचार्यलगायत रहेका छन् । पूजा व्यवस्थापन उपसमिति संयोजकमा विद्यालयका शिक्षक सावित्रा पाण्डे रहेकी छन् भने सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुँवर र पोशाक व्यवस्थापन उपसमिति संयोजकमा खड्कबहादुर पुन, सहसंयोजकमा नारदप्रसाद भण्डारी रहेका छन् ।
महायज्ञ सञ्चालनका लागि आयोजित वृहत अन्तरक्रिया विद्यालय व्यवस्थापन समिति अध्यक्ष भट्टराईको अध्यक्षता तथा निवर्तमान प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यता एवम् वडा नं. ७ का वडाध्यक्ष खोपीराम चौधरीको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि डाँगीले शिक्षाको जग बलियो बनाउन समुदायको सहयोग चाहिएको बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महायज्ञ सञ्चालन गरेर दातामार्फत् गर्न थालिएको कामले भोलिका दिनमा मावि सौँडियारको शिक्षाको जग अझ बलियो हुने विश्वास व्यक्त गरेका थिए ।
वृहत अन्तरक्रियामा विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमप्रकाश खड्का, अक्षयकोषदाता हरिप्रसाद पाण्डेय, भुपबहादुर शाहलगायतले समुदायको विद्यालय भएकाले यसको हितका लागि समुदायले नै पहल गर्ने बेला आएको बताए । विद्यालयका शिक्षक हिरालाल न्यौपानेको विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक विष्णुराम चौधरीले गरेका थिए ।