लघुकथा संग्रह ‘जेईको सम्झना’ विमोचन

घोराही, १५ मंसिर । साहित्यकार सुरेशकुमार पाण्डेयको चौथो साहित्यिक कृति जेईको सम्झना विमोचन गरिएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको आयोजनामा शनिबार घोराहीमा उक्त कृति विमोचन गरिएको हो ।
परिषदका जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य एवम् परिषदका सल्लाहकार पुरुषोत्तम खनाल र सर्जकका सासुआमा क्वारीदेवी भण्डारीको विशिष्ट आतिथ्यमा एक समारोहबीच कृति विमोचन गरिएको हो ।
कृति बिमोचन गर्दै प्रमुख अतिथि शर्माले पुराना कुरालाई रचनात्मक शैलीमा जीवन्तता दिने काममा सर्जकले न्याय गरेको बताए । उनले नेपाली समाजको अवस्था बारे कृतिका माध्यमबाट उजागर गर्ने काम गरेर पठनीय सामग्री तयार पारेको भन्दै खुशी प्रकट गरे ।
उक्त कृतिको समिक्षा चन्द्रबहादुर थापा र नारायणप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा कृतिका सर्जक सुरेशकुमार पाण्डेयले कृति रचनाका बारेमा अनुभव सुनाएका थिए । उनले कृति बिक्रीबाट संकलित रकम सामाजिक काममा लगाउने बताए ।
१०८ पृष्ठरहेको जेईको सम्झनामा ५४ वटा लघु कथा समावेश गरिएको छ । पारिवारिक, सामाजिक, राजनीतिक, मनोविज्ञान, सांस्कृतिक, रोजगारका पक्षलाई लघु कथाले उजागर गरेको समिक्षकको भनाइ छ । कथा, कथा विधा, यसका आयामलगायत विषयमा समिक्षकले चर्चा गरेका थिए ।
सहसचिव विणा रोका क्षेत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए । लेखकले यस अघि अनुभव लघुकथा, गजल संग्रहरु अन्धकार चिर्ने दियो र देशभक्ति आवाज कृति प्रकाशित गरेका छन् ।