Ad Area

तुलसीपुरमा माटोको भाँडा बनाउने तालिम


निता चौधरी
तुलसीपुर १६ मंसिर । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी कुमाल गाउँमा माटोको भाँडा बनाउने १ महिने (सेरामिक ग्ल्याजिङ ट्रेनिङ) तालिमको मंगलबार उद्घाटन गरिएको छ । तालिम उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गरी आर्थिक उपार्जन सँग जोड्न आग्रह गरेका छन् ।

उनीहरुले कुमाल समुदायको परम्परागत माटोको भाँडा बनाउने सीपलाई बजारीकरण गर्नका लागि स्तरीय भाँडाहरु निर्माण गर्न आवश्यक रहेको बताए । सीपलाई आधुनिकीकरण गरी प्रतिस्पर्धामा ल्याउन र नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न पनि उनीहरुको आग्रह छ । उनीहरुले आफूसँग भएको श्रम र सीप तथा आफ्नो पूर्खाहरुको परम्परागत सीपलाई चिन्न सकेको नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

दाङ हस्तकला संघका संस्थापक अध्यक्ष तथा थारु संस्कृतिविद् अशोक थारुले तालिम आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए । उनले आफुले उत्पादन गरेका सामग्रीहरुको सम्मान हुन नसकेका कारण पनि परम्परागत हस्तनिर्मित वस्तुहरुको लोप भइरहेको बताए । आफ्नो मेहनतको सम्मान नहुदाँ नेपाली नागरिकहरु पलायन हुन बाध्य भइरहेको समेत उनको भनाई थियो ।

नेपाल हस्तकला महासंघ सदस्यता परिषद्का अध्यक्ष दिपेन्द्र शाक्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–७ का वडाअध्यक्ष टोपबहादुर केसीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो । तालिम उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१८ का वडाअध्यक्ष माधव वली, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुशील बस्नेत, नेपाली कांग्रेस प्रदेश प्रतिनिधि देवीप्रसाद हलवाइ, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जोगेन्द्र विश्वकर्मा, नेपाली कांग्रेस तुलसीपुुर–७ का सभापति ओमबहादुर वली, रोटरी क्लव अफ तुलसीपुरका महासचिव बुद्धप्रसाद सिंह, स्थानिय प्रेम बहादुर कुमाललगायतले बोलेका थिए ।

नेपाल हस्तकला महासंघको आयोजना तथा एसिया प्यासिफिक रिजन र तुलसीपुर उपमहानगरपालिका– ७ को आर्थिक सहयोगमा आयोजनामा संचालित तालिममा कुमाल समुदायका २५ जना नागरिकहरुको सहभागिता रहने छ । तालिमको प्रशिक्षमा हरि प्रजापति रहेका छन् । वल्र्ड क्राफ्ट काउन्सिल एसिया प्यासिफिक रिजनका पूर्व उपाध्यक्ष तथा नेपाल हस्तकला महासंघका पूर्व अध्यक्ष पुष्करमान शाक्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण थारु परकार संघ दाङका सचिव निता चौधरीले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad